खोटाङ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि खोटाङमा १५ जनाको उम्मेदवारी दर्ता भएको छ । प्रतिनिधिसभातर्फ एक मात्र निर्वाचन क्षेत्र रहेको खोटाङमा दुई स्वतन्त्रसहित १५ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।
मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीका अनुसार नेपाली कांग्रेसबाट वीरकाजी राई, नेकपा (एमाले) बाट देवबिक्रम राई, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट डा हरि रोका, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुद्र गिरी, जनता समाजवादी पार्टी (जसपा) बाट राकेश राई र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट दीपक तामाङले उम्मेदवारी दर्ता गरेका छन् ।
त्यस्तै जनता समाजवादी पार्टी नेपालबाट सुनिल चाम्लिङ, श्रम संस्कृति पार्टीबाट आरेन राई, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट चन्द्र बुढाथोकी, नेपाल मजदुर किसान पार्टीबाट ध्यानप्रसाद ढकाल, राष्ट्रिय परिवर्तन पार्टीबाट मिरेश राई, मङ्गोल नेशनल अर्गनाइजेशन पार्टीबाट प्रयाग राई र मितेरी पार्टी नेपालबाट केशरमान चाम्लिङले उम्मेदवारी दर्ता गरेका छन् ।
जिल्लाबाट डा राजकुमार राई र तीलकचन्द्र राईले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । स्वतन्त्र उम्मेदवार डा राई नेपाली कांग्रेस छोडेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरे लगत्तै जिल्ला सभापतिमा पराजित भएका थिए ।
निर्वाचनका लागि जिल्लामा १३६ मतदानस्थल र १९५ मतदान केन्द्र निर्धारण गरिएको छ । खोटाङमा एक लाख ४७ हजार १२० मतदाता कायम छन् ।
विसं २०७९ को निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धनतर्फ तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का रामकुमार राई विजयी भएका थिए । विसं २०७९ मा प्रदेश तथा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा समानुपातिकतर्फ एमालेले २४ हजार २७१, कांग्रेसले १८ हजार ६७२, तत्कालीन नेकपा (माओवादी केन्द्र) ले ११ हजार ८४५, नेकपा (एकीकृत समाजवादी) ले ३ हजार ३६, जनता समाजवादी पार्टीले २ हजार २४८, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १ हजार ४९७ र राष्ट्रिय प्रजातन्त्र पार्टीले १ हजार २५५ मत प्राप्त गरेका थिए ।































प्रतिक्रिया