काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा राजनीतिक बहसको केन्द्रमा देशभरका १० क्षेत्रहरूले विशेष महत्व राखेका छन् । प्रमुख दलका प्रभावशाली नेताहरू मैदानमा उत्रिएपछि यी क्षेत्रको चुनावलाई विशेष चासोका साथ हेरिएको छ । १६५ वटै निर्वाचन क्षेत्रमा ६८ राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । उम्मेदवारी दर्तामा उत्साहजनक सहभागिता देखिएको निर्वाचन आयोगले जनाएको छ ।
झापा २ र ५
एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन शाह प्रतिस्पर्धा गर्ने भनिएको झापा क्षेत्र नम्बर ५ सहित १० वटा निर्वाचन क्षेत्रले चुनावी सरगर्मी बढाएको छ । यसपटकको चुनावमा सबैभन्दा चर्चामा झापा ५ बनेको छ । जुन एमाले अध्यक्ष ओली निर्वाचित हुँदै आएको क्षेत्र हो । काठमाडौं महानगरपालिकाको मेयरको जिम्मेवारी छोडेर सोही क्षेत्रमा बालेन उम्मेदवार बन्न पुगेका छन्।
यो क्षेत्रमा तीन दशकभन्दा बढिदेखि ओलीले एकछत्र जित्दै आएका छन्। उनले २०४८, २०५१, २०५६, २०७०, २०७४, २०७९ मा जितेका छन्। २०६४ मा ओलीलाई तत्कालीन माओवादीका नेता विश्वदिप लिङ्देनले हराएका थिए। रास्वपाले भने शाहलाई प्रधानमन्त्रीको उम्मेदवारको रूपमा प्रस्तुत गर्दै अघि बढाएको छ ।
गत निर्वाचनमा ओलीले यो क्षेत्रबाट ५२ हजार ३ सय १९ मत प्राप्त गरेका थिए । ओलीलाई राप्रपा नेपालले सहयोग गरेको थियो । उनीसँग प्रतिस्पर्धा गरेका नेपाली कांग्रेसका नेता खगेन्द्र अधिकारीले २३ हजार ७ सय ४३ मत पाएका थिए । यो क्षेत्रमा एमालेको समानुपातिक मत २०७९ मा ३५ हजार ८ सय ७२ थियो भने रास्वपाको १८ हजार २०५ रहेको छ ।
यो क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टीले युवा नेता रञ्जित तामाङलाई टिकट दिएको छ । पछिल्लो समय उदाएका हर्क साम्पाङको श्रम संस्कृति पार्टीबाट समिर तामाङ उठेका छन्।
झापा ५ पछि झापा कै क्षेत्र नम्बर २ पनि सर्वत्र चासोको क्षेत्र बन्न पुगेको छ । २०७९ सालमा भएको प्रतिनिधिसभा निर्वाचनपछि बनेको संसदका सभामुख र उपसभामुख नै यो क्षेत्रमा प्रतिस्पर्धा गर्दै छन्। सो क्षेत्रबाट प्रत्यक्ष निर्वाचित भएका एमाले सांसद देवराज घिमिरे र रास्वपाबाट समानुपातिक सांसद बनेकी इन्दिरा रानामगरसहित अघिल्लो पटक स्वतन्त्र उठेर दोस्रो मत पाएका स्वागत नेपाल यो पटक राप्रपाबाट उम्मेदवार बनेका छन्।
यो पटक कांग्रेसबाट सरिता प्रसाईं र नेकपाबाट धर्मशिला चापागाईं प्रतिस्पर्धामा रहेका छन् भने वरिष्ठ अधिवक्ता युवराज संग्रौला पनि यो क्षेत्रमा उम्मेदवार बनेका छन्। घिमिरेले २६ हजार ७ सय १६ मत पाएका थिए भने स्वागत नेपालले २६ हजार ४ सय ६ मत ल्याएका थिए । रास्वपाका उम्मेदवार रुद्र गिरीले ५ हजार ७ सय ३८ मत पाएका थिए । यो क्षेत्रमा समानुपातिकतर्फ भने रास्वपाले २२ हजार मत पाएको क्षेत्र हो ।
रुकुमपूर्व
नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुमपूर्वमा पुगेका छन् । प्रत्येक निर्वाचनमा निर्वाचन क्षेत्र परिवर्तन गर्दै आएका प्रचण्ड यो पटक रुकुमपूर्व पुगेका हुन् । २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा रोल्पा २ र काठमाडौं १० बाट लडेका उनी २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौं १० र सिराहा ५ बाट लडेका थिए ।
२०७४ सालको आमनिर्वाचनमा चितवन २ पुगेका दाहाल २०७९ सालमा गोरखा–२ पुगे । डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ दुवैले उम्मेदवार नदिएर सहयोग गरेपछि उनले गोरखाबाट जितेका थिए । अहिले गोरखा छोडेर सुरक्षित स्थान खोज्दै रुकुमपूर्व पुगेका छन्।
तीनवटा मात्र गाउँपालिका रहेको र सबै स्थानीय तह माओवादीले जितेको यो क्षेत्रबाट कांग्रेसले कुसुम थापा मगरलाई उम्मेदवार बनाएको छ भने एमालेले लीलामणि गौतमलाई उठाएको छ ।
सर्लाही -४
विशेष महाधिवेशनबाट सभापति चुनिएका कांग्रेसका सभापति गगन थापा चुनावी क्षेत्र फेर्दै सर्लाही–४ मा पुगेका छन्। लामो समयदेखि पार्टीभित्र प्रभाव जमाउँदै आएका थापाले शेरबहादुर देउवालाई विशेष महाधिवेशनमार्फत हटाएर नेतृत्व हात पारेपछि उनको उम्मेदवारीलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
२०७० सालदेखि काठमाडौं–४ बाट लगातार चुनाव जित्दै आएका थापाले यस पटक निर्वाचन क्षेत्र परिवर्तन गरी मधेस प्रदेशको सर्लाही–४ रोज्नुले राजनीतिक वृत्तमा चर्चा बढाएको छ । २०६४ सालको संविधानसभा निर्वाचनबाट समानुपातिक सभासद् बनेर संसदीय यात्रा थालेका थापाका लागि यो निर्वाचन प्रतिष्ठाको विषय बनेको छ।
कांग्रेसले थापालाई भावी प्रधानमन्त्रीको रूपमा प्रस्तुत गरिरहेको सन्दर्भमा यो निर्वाचन जित्नु उनको राजनीतिक यात्राका लागि अनिवार्य जस्तै बनेको छ।
कांग्रेसका पूर्वनेता डा. अमरेश कुमार सिंह मैदानमा छन् भने एमालेबाट अमनिश कुमार यादव र नेकपाबाट राजनीश राय यादव उम्मेदवार छन्। साथै, क्षेत्र नम्बर ४ मा २६ स्वतन्त्रसहित कुल ३९ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
२०७९ सालको निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा डा. सिंहले २० हजार १७ मत ल्याएर जित हासिल गरेका थिए । त्यसबेला कांग्रेसका उम्मेदवार नागेन्द्र कुमारले १८ हजार २५३ मत पाएका थिए भने स्वतन्त्र उम्मेदवार मधुमाला कुमारी यादवले १४ हजार ६२२ मत प्राप्त गरेकी थिइन्। त्यस बेला कांग्रेसले सिंहलाई टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार बनेका थिए। यसपटक सिंह रास्वपाका उम्मेदवार हुन् ।
चितवन २ र ३
चर्चामा रहेको अर्को निर्वाचन क्षेत्र चितवन–२ हो, जहाँ रास्वपा सभापति रवि लामिछाने लड्दैछन्। यसअघिका दुई निर्वाचनमा उनले यो क्षेत्रबाट विजय हासिल गरिसकेका छन्। २०७९ सालको निर्वाचनमा लामिछानेले भारी मतान्तरबीच जित हासिल गरेका थिए। नक्कली नागरिकता प्रकरणमा पदमुक्त भएपछि पुनः भएको उपनिर्वाचनमा पनि उनी नै विजयी भएका थिए । त्यो निर्वाचन क्षेत्रबाट कांग्रेसले सामाजिक अभियन्ता मीना खरेललाई उम्मेदवार बनाएको छ । एमालेले युवा नेता अस्मिन घिमिरेलाई उठाएको छ ।
गत निर्वाचनमा लामिछानेले ५४ हजार मत पाउँदा कांग्रेस उम्मेदवारले ११ हजार मत पाएका थिए । दुईवटै निर्वाचनमा रविले भारी मतसहित संसद प्रवेश गरेका छन्। २०७९ को निर्वाचनमा यो क्षेत्रमा रास्वपाको ३५ हजार ९ सय ४५ मत रहेको थियो भने एमालेको १६ हजार ७ सय ८४ मत पाउँदा कांग्रेसले १२ हजार मत पाएको थियो।
अर्को चर्चामा रहेको निर्वाचन क्षेत्र चितवन–३ हो। यो क्षेत्रबाट भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल लड्दै छन्। उनीसँग रास्वपाकी नेतृ सोविता गौतम भिड्न पुगेकी छन्। २०७९ सालमा काठमाडौं क्षेत्र नम्बर २ बाट निर्वाचित भएकी गौतमलाई रास्वपाले चितवन–३ पठाएको छ। दाहाल पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डकी छोरी हुन्।
२०७४ र २०७९ सालमा गरी दुई कार्यकाल भरतपुरकी मेयर भएकी रेणुले यहाँ आफूलाई सुरक्षित ठानेकी छन्। कानुनको जानकार, स्पष्ट वक्ता गौतम पनि रास्वपाकी चर्चित नेतृ हुन्। यो क्षेत्रमा अघिल्लो निर्वाचनमा राप्रपाका नेता पाण्डे विजयी भएका थिए।
गोरखा -२
गोरखा–२ बाट निर्वाचित भएका पूर्वमाओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्ड यसपटक रुकुमपूर्वबाट चुनाव लड्ने भएपछि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई उम्मेदवार बनेका छन्। प्रचण्ड बाहिरिए पनि गोरखा–२ को चुनावी रौनक घटेको छैन। सन्यास घोषणा गरिसकेका प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई यही क्षेत्रबाट उम्मेदवारी दिने भएपछि यहाँको चुनावी माहोल फेरि गर्माएको हो।
अघिल्लो निर्वाचनमा प्रचण्डलाई ठाउँ छोडेका भट्टराई यसपटक आफैँ मैदानमा उत्रिने भएपछि प्रतिस्पर्धा पेचिलो बन्ने देखिएको छ ।
यसैगरी नेकपा एमालेले ‘गुन्डा नाइके’ को पहिचान बनाएका मिलन गुरुङ (चक्रे मिलन)लाई उम्मेदवार बनाएको छ। नेपाली कम्युनिस्ट पार्टीले युवा नेता तथा लेखक लेखनाथ न्यौपानेलाई उठाएको छ । डा. बाबुराम भट्टराई, चक्रे मिलन र न्यौपानेको उम्मेदवारीका कारण यो क्षेत्र थप चर्चामा छ। रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटी पनि यही क्षेत्रबाट लड्दै छन्।
सुनसरी -१
स्वतन्त्र उम्मेदवारी दिएर धरानको मेयर पद जितेका हर्क साम्पाङका कारण धरान चर्चामा छ । यो सुनसरी क्षेत्र नम्बर १ हो। मेयर पदबाट राजीनामा दिएर हर्क साम्पाङ उम्मेदवार बन्दै छन्। उनले आफ्नै नेतृत्वमा श्रम संस्कृति पार्टीसमेत खोलेका छन्।
रास्वपाले सुनसरी–१ बाट कोशी प्रदेशकी कार्यवाहक अध्यक्ष गोमा तामाङ ‘सरिन’लाई दोस्रोपटक प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनाएको छ । उक्त निर्वाचनमा उनले १६ हजार ६ सय ६ मत प्राप्त गर्दै दोस्रो स्थान हासिल गरेकी थिइन्। उनी एमाले–जसपा नेपाल गठबन्धनका अशोक राईसँग ४ सय ५३ मतले मात्र पराजित भएकी थिइन् ।
२०४८ सालमा तत्कालीन एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री मनमोहन अधिकारी यो निर्वाचन क्षेत्रबाट चुनाव लडेका थिए । कम्युनिष्ट गढ भनिने गरेको यो निर्वाचन क्षेत्र योपटक हर्क साम्पाङका कारण चर्चामा छ । एमालेले यो क्षेत्रमा सुरुमा सूर्य पन्धाकलाई उम्मेदवारको टिकट दिएको थियो भने पछि टिक लिम्बुलाई टिकट दिएको छ । कांग्रेसले यो क्षेत्रमा सुजेन्द्र तामाङलाई टिकट दिएको छ भने नेकपाले हर्कसँगै वडाध्यक्ष पदबाट राजीनामा दिएर १७ नम्बर वडाका अध्यक्ष मनोज भट्टराईलाई उम्मेदवार बनाएको छ।
काठमाडौं ३ र ५
काठमाडौं ३ निर्वाचन क्षेत्रबाट उज्याला पार्टीका अध्यक्ष पूर्व ऊर्जामन्त्री कुलमान घिसिङ उम्मेदवार हुने बनेका छन्। उज्यालो नेपाललाई अभियानकै रूपमा प्रस्तुत गर्ने घिसिङ यस क्षेत्रबाट चुनाव लड्दै छन्। घिसिङले निर्वाचनमा लड्नकै लागि मन्त्री पद पनि छोडेका छन्। २०७९ सालको निर्वाचनमा यो निर्वाचन क्षेत्रबाट कांग्रेसका सन्तोष चालिसे विजयी भएका थिए।
एमालेले यो निर्वाचन क्षेत्रबाट रामेश्वर फुयाँललाई उम्मेदवार बनाउने भएका छन् भने रास्वपाबाट काठमाडौं महानगरका पूर्व नगरप्रहरी प्रमुख राजु पाण्डे उम्मेदवार बनेका छन्।
रास्वपामा र बालेनसँगको पार्टी एकतामा भागबन्डा नमिलेपछि कुलमान आफ्नै पार्टी निर्माण गरी चुनावी अभियानमा लागेका हुन्। रास्वपासँगको एकता भाँडिएपछि उनी आफ्नै पार्टीबाट देशैभर उम्मेदवार उठाउने तयारीमा छन्।
काठमाडौं ५ मा पनि प्रतिस्पर्धा रोचक हुने देखिन्छ। अघिल्लो पटक नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले जितेको क्षेत्र हो। उनले एमालेका नेता ईश्वर पोखरेललाई करिब ५ हजार मतले पराजित गरेका थिए। एमालेको ११ औँ महाधिवेशनमा ओलीसँग प्रतिस्पर्धा गरेर हारेका ओली र कांग्रेसको विधान अधिवेशनबाट महामन्त्री भएका पौडेलसहित राप्रपा नेपालका अध्यक्ष कमल थापा पनि प्रतिस्पर्धामा रहेका छन्।
२०७९ को निर्वाचनमा यो क्षेत्रमा सर्वाधिक मत रास्वपाले पाएको थियो। रास्वपाले ११ हजार ६ सय ४७ मत पाउँदा कांग्रेसले १० हजार र एमालेले ९ हजार ६ सय मत पाएका थिए ।
गुल्मी -१
गुल्मी क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेबाट प्रदीप ज्ञवाली, नेपाली कांग्रेसबाट डा. चन्द्रकान्त भण्डारी, नेपाली कम्युनिस्ट पार्टीबाट सुदर्शन बराल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट सागर ढकाल उम्मेदवार बनेका छन्।
विगतमा सदाबहार प्रतिस्पर्धीका रूपमा रहेका भण्डारी र ज्ञवाली आलोपालो गर्दै निर्वाचन जित्दै आएको क्षेत्र हो। यस क्षेत्रमा एमालेका ज्ञवाली र कांग्रेसका भण्डारीबीच विशेष प्रतिस्पर्धा हुने देखिन्छ भने नयाँ उम्मेदवार जस्तै रास्वपाका ढकाल र नेपाली कम्युनिस्ट पार्टीका बरालले थप प्रतिस्पर्धा गर्ने देखिन्छ।
ढकाल २०७९ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा डडेल्धुरामा कांग्रेसका सभापति शेरबहादुर देउवासँग पराजित भएका थिए । पुराना र नयाँबीच प्रतिस्पर्धा हुने भएकाले पनि यस क्षेत्रलाई केन्द्रमा विशेष रूपमा हेरिएको छ ।































प्रतिक्रिया