काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा रौतहट–४ को चुनावी माहोल अरूभन्दा फरक देखिन थालेको छ । कारण हुन्, तीन दशकभन्दा बढी समय पत्रकारितामा बिताएका, टेलिभिजन बहसका सदाबहार पात्र, सञ्चारकर्मी ऋषि धमला ।
प्रभु साह नेतृत्वको आम जनता पार्टीबाट उम्मेदवारी दर्ता गराएसँगै धमलाले पत्रकारको कुर्सी छोडेर प्रत्यक्ष राजनीतिमा उत्रँदा, उनको शैली पनि उत्तिकै नाटकीय देखिन्छ । धमला आफ्नो चर्चित टेलिभिजन कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ सहकर्मीलाई सुम्पिएर चुनावतिर ढल्किएका छन् । तर कार्यक्रमको मञ्चबाट झरेपछि पनि उनको ‘परफर्मेन्स’ रोकिएको छैन । फरक यति हो अब बहस स्टुडियोमा होइन, रौतहटको गल्ली, खेत र चोकचोकमा भइरहेको छ ।
कहिले करौंतीले काठ काट्दै म पनि तपाईंहरूकै जस्तो काम गर्छु भन्ने सन्देश दिन्छन्, त कहिले ट्र्याक्टर चलाउँदै किसानसँग आत्मीयता देखाउँछन् । कहिले होटलमा गएर आफैं जेरी पकाउँछन्, कहिले घाँटीको माला निकालेर मतदातालाई मतको लागि फकाउँछन् । खेतमा उखुको भारी बोकेको तस्बिरदेखि साइकल चढेर गाउँ डुलेका भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।
पत्रकारिताकै क्रममा पनि उत्तेजक र नाटकीय प्रस्तुतीका कारण सधैं चर्चामा रहने धमला यतिबेला रौतहट–४ का फाँटमा किसानसँग ट्र्याक्टर चलाउँदै, उखुका भारी बोक्दै, जेरी पकाउँदै मतदाता फकाउन व्यस्त देखिन्छन्
धमलाको यो शैली नौलो भने होइन । पत्रकारिताकै क्रममा पनि उनी उट्पट्याङ, उत्तेजक र नाटकीय प्रस्तुतीका कारण सधैं चर्चामा रहन्थे । प्रश्न सोध्ने शैली होस् वा बहसको तापक्रम बढाउने कला धमलाले दर्शक तान्न गरेका थिए । अब त्यही कला चुनावी मैदानमा प्रयोग भइरहेको छ । सामाजिक सञ्जालदेखि चियापसलका बहससम्म, यो राजनीति हो कि नाटक ? भन्ने प्रश्न उठिरहेको छ । कतिपयले यसलाई मतदाता आकर्षित गर्ने सस्तो लोकप्रियता खोज्ने प्रयास भनेका छन् । काम, नीति र योजना भन्दा पनि अभिनय देखाएर भोट माग्नु कत्तिको जायज ? भन्ने आलोचना गर्नेको पनि कम छैन ।
तर धमला आलोचनाबाट पछि हट्ने मनस्थितिमा देखिँदैनन् । बरु उनी यसलाई आफ्नै शक्तिको रूपमा व्याख्या गर्छन् । उनका समर्थकहरू भन्छन् कम्तीमा उनी जनतामाझ त छन् । खेत, पसल र गल्लीमा पुगेर मतदातासँग कुरा गरिरहेका छन् । उनीहरूका अनुसार परम्परागत भाषण र ब्यानर पोस्टरको राजनीतिभन्दा यो शैली जनतासँग नजिकको हो।
ऋषि धमलाको पृष्ठभूमि पनि सामान्य छैन । तीन दशकभन्दा बढी समय पत्रकारितामा बिताएका उनी रिपोर्टर्स क्लब नेपालका अध्यक्ष हुन् र हाल प्राइम टेलिभिजनसँग आबद्ध छन् ।
धमला आलोचनाबाट पछि हट्ने मनस्थितिमा देखिँदैनन् । बरु उनी यसलाई आफ्नै शक्तिको रूपमा व्याख्या गर्छन् ।
धमलालाई खटाइका पर्याय नै भन्दा पनि हुन्छ । पत्रकारितामा छँदा उनी राति ३, ४ घण्टा मात्रै सुत्ने गरेको बताउँथे । बाँकी समय उनको सञ्चारकर्ममै बित्थ्यो । बिहेपछि सुहागरातसमेत राम्ररी नमनाइकन उनी रेडियोमा कार्यक्रम चलाउन पुगेको किस्सा निकै चर्चित छ ।
सत्ता, प्रतिपक्ष र शक्तिकेन्द्रका धेरै रहस्य उनी बहसको टेबलमै खोतल्दै आएका व्यक्ति अब आफैं शक्तिको केन्द्र बन्ने प्रयासमा छन्। यही कारण पनि उनको उम्मेदवारीलाई धेरैले ‘टेस्ट केस’ का रूपमा हेरेका छन् । के मिडियाबाट आएको अनुहारले प्रत्यक्ष चुनाव जित्न सक्छ ?
रौतहट–४ मा उनको चुनावी प्रतिस्पर्धा सजिलो भने छैन । स्थानीय राजनीतिक गणित, पार्टी संगठन र मतदाताको स्थायी झुकाव चुनौतीकै रूपमा छन्। तर धमलाको विश्वास फरक छ । नाटक, न्युज र लोकप्रियताको मिश्रणले मतपेटिकामा कति मत खसाल्न सक्छ ? ऋषि धमलाको यो अनौठो चुनावी यात्रा सफल हुन्छ कि असफल, त्यसको फैसला फागुन २१ गते जनताले गर्नेछन् ।
यहाँ २०७४ र ७९ को चुनाव कांग्रेसले जितेको थियो । दुवै निर्वाचनमा कांग्रेसका देवप्रसाद तिमिल्सिना विजयी भएका थिए । अघिल्लो चुनावमा एमालेका उद्धवप्रसाद रेग्मीलाई हराउँदै तिमिल्सिनाले जित निकालेका हुन् ।
नाटक, न्युज र लोकप्रियताको मिश्रणले मतपेटिकामा कति मत खसाल्न सक्छ ? ऋषि धमलाको यो अनौठो चुनावी यात्रा सफल हुन्छ कि असफल ?
२०७९ मा समानुपातिकतर्फ पनि कांग्रेसले नै सबैभन्दा बढी १४ हजार २१८ भोट ल्याएको थियो । एमालेलाई ११ हजार २३१ मत र माओवादी केन्द्रलाई ९ हजार ३१९ मत मात्रै आयो । चौथो स्थानमा रहेको नेकपा एकीकृत समाजवादीलाई ९ हजार १७९ भोट प्राप्त भएको थियो ।
यस्तै, जसपा नेपालले ६ हजार २०८ र रास्वपाले ५ हजार ७०७ मत ल्याएका थिए । त्यसबेला तेस्रो र चौथो स्थानमा रहेका माओवादी केन्द्र र नेकपा एस मिलेर अहिले नेकपा बनेको छ । यदि उनीहरूका मतदाता पनि एक ठाउँमा आए भने सबैभन्दा बढी मत नेकपाको हुने देखिन्छ । यस पटक धमलाको प्रतिस्पर्धीका रूपमा कांग्रेसबाट दुईपटक जितेका उनै तिमल्सिना छन् । एमालेले रामजी साहलाई टिकट दिएको छ भने नेकपाले रामकुमार भट्टराईलाई । उनले २०७० को चुनाव यही क्षेत्रबाट जितेका थिए । यो क्षेत्रमा अहिले पनि कांग्रेस, एमाले र नेकपा नै प्रमुख प्रतिस्पर्धामा देखिन्छन् ।































प्रतिक्रिया