राँझा। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाँकेबाट चार जना महिला उम्मेदवार प्रतिस्पर्धामा छन् ।
बाँके निर्वाचन क्षेत्र नम्बर १ बाट कृष्णा केसी (नमूना) तथा बाँके क्षेत्र नम्बर ३ बाट विद्या शर्मा, भूमि महत्तरा र भगवती शाह उम्मेदवार बनेका छन् । केसी प्रगतिशील लोकतान्त्रिक पार्टीबाट, शर्मा आमजनता पार्टीबाट, महत्तरा नेपाल मजदुर किसान पार्टीबाट र शाह स्वतन्त्र रूपमा उम्मेदवार बनेका छन् ।
पुरुष मात्रै राजनीतिमा सक्रिय हुन सक्छन् भन्ने पितृसत्तात्मक सोचलाई चुनौती दिँदै उम्मेदवारको लामो सूचीमा यी चार महिलाको नाम केवल सङ्ख्या मात्र नभई परिवर्तनको एउटा बलियो साहस भएको अधिकारकर्मी भोला महतले बताए ।
महिलालाई समानुपातिक सूचीमा सीमित गर्ने राजनीतिक दलहरूको परम्परालाई चिर्दै धेरै पुरुष उम्मेदवारबीच प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ उम्मेदवारी दिँदै चार जना महिलाले निर्वाचन लड्ने साहस देखाएको उनको बुझाइ छ ।
राप्ती सोनारी–९ ढकेरी निवासी कृष्णा केसी यसअघि लुम्बिनी प्रदेशसभा सदस्यका रूपमा कार्यकाल पूरा गरिसकेकी छिन् । विसं २०७४ र विसं २०७९ को निर्वाचनमा माओवादी केन्द्रबाट विजयी भएकी केसीले यसपटक प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रदेशसभाबाट राजीनामा दिएर प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट चुनावी मैदानमा उत्रिएकी हुन् ।
“प्रदेशमा बसेर धेरै काम गरियो, अब सङ्घीय संसद्मा पुगेर जनताका मुद्दालाई अझ प्रभावकारी रूपमा उठाउने मेरो लक्ष्य छ,” केसीले भनिन्, “शिक्षा, स्वास्थ्य र सामाजिक न्याय मेरा मुख्य एजेण्डा हुन्।” केसीले नेकपा (एमाले) का सूर्य ढकाल, नेपाली कांग्रेसका नारायणप्रसाद गौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार चौधरी, नेपाली कम्युनिष्ट पार्टीका नरेन्द्र पाण्डेलगायत पुरुष उम्मेदवारसँग प्रतिस्पर्धा गरिरहेकी छन् ।
नेपालगञ्ज–१६ जैसपुर निवासी विद्या शर्मा स्थानीयस्तरमा सामाजिक कार्यमा सक्रिय नाम हो । आमजनता पार्टीबाट उम्मेदवार बनेकी शर्माले जनताको दैनिक समस्या र स्थानीय मुद्दालाई संसद्सम्म पु¥याउने अठोट लिएकी छिन् । भुइँ तहका समस्या समाधानका लागि राजनीतिलाई माध्यम बनाउन चाहेको उनले बताइन् ।
खजुरा गाउँपालिका–३ सिर्जना टोलकी भूमि महत्तरा नेपाल मजदुर किसान पार्टीको तर्फबाट चुनावी प्रतिस्पर्धामा छिन् । तल्लो तहका मजदुर र उत्पीडित समुदायको उत्थान नै आफ्नो राजनीतिको केन्द्रविन्दु भएको उनले बताइन् । सामाजिक विभेद र उत्पीडनविरुद्धको लडाइँलाई चुनावी मुद्दा बनाएको उनको दाबी छ ।
बैजनाथ गाउँपालिका–४ बानियाभार निवासी भगवती शाहले कुनै दलको ओत नलागी स्वतन्त्र रूपमा उम्मेदवारी दिएकी छिन् । समाजको स्तर उकास्न र वास्तविक जनसरोकारका विषयमा काम गर्न दलभन्दा माथि उठेर आफू मैदानमा आएको उनको दाबी छ ।
बाँके क्षेत्र नम्बर ३ मा महिला उम्मेदवारहरूले नेकपा (एमाले) का सुमन मल्ल, नेपाली कांग्रेसका अमरसिंह पुन, राष्ट्रिय स्वतन्त्र पार्टीका खगेन्द्र सुनार, नेपाली कम्युनिष्ट पार्टीका दीपक जिएमलगायत पुरुष उम्मेदवारसँग प्रतिस्पर्धा गरिरहेका छन् ।
बाँकेको तीनवटै निर्वाचन क्षेत्रमा ६० जनाले उम्मेदवारी दिएकोमा क्षेत्र नम्बर २ का सरस्वतीप्रसाद बर्मा र विजयकुमार गुप्ता तथा क्षेत्र नम्बर ३ का प्रदीप पौडेल र दीपकबहादुर शाहीले उम्मेदवारी फिर्ता लिएका छन् ।
तीनवटै क्षेत्रमा उम्मेदवारी फिर्ता भएसँगै क्षेत्र नम्बर १ मा १४ जना, क्षेत्र नम्बर २ मा २० जना र क्षेत्र नम्बर ३ मा २२ जना उम्मेदवार कायम भएका छन् । यसरी जिल्लाभर ५६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीका अनुसार बाँके निर्वाचन क्षेत्र नम्बर १ मा कोहलपुर नगरपालिका, राप्ती सोनारी गाउँपालिका र नरैनापुर गाउँपालिकाअन्तर्गतका सबै ३० वडा समावेश छन् । यस क्षेत्रमा एक लाख २४ हजार ७२७ मतदाता रहेका छन् । ४८ वटा मतदानस्थलसहित १४१ मतदान केन्द्र निर्धारण गरिएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाका २१ र डुडुवा गाउँपालिकाका सबै छ गरी २७ वडा समेटिएको निर्वाचन क्षेत्र नम्बर २ मा ५७ हजार ११७ पुरुष, ५१ हजार १६७ महिला र छ जना अन्य गरी कुल एक लाख आठ हजार २९० मतदाता रहेका छन् । यहाँ ४३ वटा मतदानस्थलसहित १२४ मतदान केन्द्र तोकिएका छन् ।
यसैगरी नेपालगञ्ज उपमहानगरपालिकाका १६ र १७ वडा, जानकी गाउँपालिकाका सबै छ, खजुरा गाउँपालिकाका सबै आठ र बैजनाथ गाउँपालिकाका सबै आठ गरी २४ वडा समेटिएको निर्वाचन क्षेत्र नम्बर ३ मा ५८ हजार ६६४ पुरुष र ५८ हजार ६८९ महिला गरी कुल एक लाख १७ हजार ३५४ मतदाता रहेका छन् ।































प्रतिक्रिया