अछाम । नेकपाका नेता डा. भीम रावलले अहिलेको निर्वाचनलाई सत्ता परिवर्तनभन्दा पनि देशको दिशा तय गर्ने लडाइँका रूपमा चित्रित गरेका छन् ।
साँफेबगरमा आयोजित अन्तरक्रियामा बोल्दै अछाम–१ का उम्मेदवारसमेत रहेका रावलले देशले आफ्नो निर्णय आफैं गर्न सक्ने हैसियत गुमाउँदै गएको भन्दै यस निर्वाचनले त्यो अवस्था बदल्न सक्ने बताए ।
उनका अनुसार प्राकृतिक स्रोतसाधनमाथि बाह्य चासो बढ्नु, युवाको ठूलो संख्यामा विदेश पलायन र संस्कृतिमाथि परेको दबाबले देशलाई कमजोर बनाउँदै लगेको छ । “हामीसँग स्रोत छ, क्षमता छ, तर नीति गलत हुँदा देश उल्टो दिशामा गइरहेको छ,” उनले भने ।
रावलले अन्तर्राष्ट्रिय संस्था र विभिन्न नाममा आउने एजेन्डाले राष्ट्रिय प्राथमिकता ओझेलमा पारिरहेको दाबी गरे । उनले राष्ट्रिय स्वाधीनता, आत्मनिर्भर अर्थतन्त्र र स्रोतसाधनको संरक्षणलाई केन्द्रमा राखेर राजनीति गर्नुपर्ने बताए ।
कार्यक्रममा शिक्षा र युवा पलायनबारे उठेका प्रश्नमा रावलले दीर्घकालीन राष्ट्रिय नीतिबिना समस्या समाधान नहुने प्रतिक्रिया दिएका थिए ।





























प्रतिक्रिया