बागलुङ । आगामी निर्वाचनलाई लक्षित गर्दै गलकोट नगरपालिका वडा नम्बर ६ मा नेकपा र राष्ट्रिय जनमोर्चाको संयुक्त निर्वाचन सम्पर्क कार्यालय स्थापना गरिएको छ । कार्यालय साझा वाम उम्मेदवार ज्ञामनाथ गैरे ‘अनिल’ को चुनावी गतिविधि व्यवस्थित गर्न स्थापना भएको हो।
नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय जनमोर्चाले विभिन्न वडाहरुमा विभिन्न टोललाई समेट्ने गरी संयुक्त रूपमा सम्पर्क कार्यालय खोलेका छन् । कार्यालयबाट मतदाता भेटघाट, प्रचारप्रसार र चुनावी व्यवस्थापनलाई तीव्र बनाइने जनाइएको छ ।
गल्कोट ६ मा निर्वाचन अभियानलाई प्रभावकारी बनाउन थम्मन बुढाथोकीको संयोजकत्वमा १०५ सदस्यीय निर्वाचन कमिटी गठन गरिएको छ । चन्द्रमोहन विक सह–संयोजक रहेका छन् ।
यसैगरी वडा नम्बर ६ का चरौदी, कायस, जामुनडाँडा, नेपाने, भुजुंगे र ठुलाथर टोलमा युवा र महिलाको छुट्टाछुट्टै निर्वाचन परिचालन उपसमिति गठन गरी घरदैलो र प्रचारप्रसार अघि बढाइएको छ ।
कार्यक्रममा सहभागी नेताहरूले चुनावी तालमेल, संयुक्त अभियान र संगठन विस्तारमा जोड दिएका छन् । साझा उम्मेदवारलाई जिताउन वाम दलबीच सहकार्य आवश्यक रहेको उनीहरूको धारणा छ ।
स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा गलकोट–६ मा राजनीतिक गतिविधि बढ्दै गएको छ । सम्पर्क कार्यालय सञ्चालनमा आएसँगै वडामा चुनावी माहोल थप सक्रिय हुने अपेक्षा गरिएको छ । गैरे साझा उम्मेदवारका रुपमा चुनावी मैदानमा रहेका छन्।































प्रतिक्रिया