कूटनीतिक सम्बन्धको ७०औं वार्षिकोत्सव द्विपक्षीय सम्बन्धको कोशेढुङ्गा -राष्ट्रपति पौडेल

कूटनीतिक सम्बन्धको ७०औं वार्षिकोत्सव द्विपक्षीय सम्बन्धको कोशेढुङ्गा -राष्ट्रपति पौडेल

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औं वार्षिकोत्सव हाम्रो द्विपक्षीय सम्बन्धको एक कोशेढुङ्गा भएको बताएका छन् ।

उनले नेपालको सामाजिक तथा आर्थिक विकासमा जापान एक महत्वपूर्ण तथा विश्वासिलो विकास साझेदार रहेको र नेपालको विकास प्रक्रियामा जापानले महत्वपूर्ण भूमिका खेलेको बताएका हुन् ।

जापानको औपचारिक भ्रमणका क्रममा जापानका परराष्ट्र राज्यमन्त्री होरी इवाओले आज गरेकाे शिष्टाचार भेटका अवसरमा राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गरेका हुन् । जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल र जापान बीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठका अवसरमा यहाँको चार दिने भ्रमणमा छन् ।

‘जापानले नेपाललाई द्विपक्षीय अनुदान, द्विपक्षीय ऋण, बहुपक्षीय सहायता र प्राविधिक सहयोग गर्दै आएको छ जस्ले मानव संसाधन विकास, स्वास्थ्य, कृषि विकास, पूर्वाधार विकास, वातावरण संरक्षण, संस्कृति जर्गेनाका क्षेत्रमा उल्लेख्य भूमिका खेलेको छ, यी क्षेत्रहरुमा जापानको अनुभव, ज्ञान, सीप र प्रविधिबाट हामी अझैँ लाभान्वित हुन चाहन्छौं’, भेटमा राष्ट्रपति पौडेलको भनाई उद्यृत गर्दै उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

नेपाल सन् २०२६ मा अति कम विकसित राष्ट्रहरूको श्रेणीबाट स्तरोन्नतिको क्रममा रहेको र यसमा नेपालले सदाझैँ जापानबाट सद्भाव र सहयोग प्राप्त गर्ने उनले विश्वास व्यक्त गरे । ‘नेपालको विकास प्राथमिकताका क्षेत्रमा जापानी लगानी आकर्षित गर्ने ठूलो सम्भावना छ, हामीले नेपालमा व्यापार सहज बनाउन, विदेशी लगानी आकर्षित गर्न र नवप्रवर्तनलाई प्रवद्र्धन गर्न कानुनी, प्रक्रियागत र संस्थागत सुधार गरिसकेका छौं’, राष्ट्रपति पौडेलले भने ।

साँस्कृतिक रुपमा दुई मुलुक गौतम बुद्धको शिक्षाबाट प्रेरित रहेको तथा बुद्धको जन्मस्थल लुम्बिनीले नेपाल र जापानका जनताबीच बलियो पुलको काम गरेको सन्दर्भ उल्लेख गर्दै उनले लुम्बिनीको विकासमा जापानको सहयोगप्रति आभार प्रकट गरे । राष्ट्रपति पौडेलले जापानको सामाजिक–आर्थिक क्षेत्रमा आप्रवासी नेपाली समुदायको योगदानले द्धिपक्षीय सम्बन्धलाई कुनै न कुनै रुपमा बलियो बनाउन मद्धत पुर्याएकाे उनको भनाइ थियो ।

Logo