दोलखामा पुरानो ‘लिगेसी’ भर्सेज नयाँ ‘वेभ’, यस्तो छ चुनावी ‘राप र ताप’

दोलखामा पुरानो ‘लिगेसी’ भर्सेज नयाँ ‘वेभ’, यस्तो छ चुनावी ‘राप र ताप’

यस पटक मेटिएला बुथ कब्जाको दाग ?


काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा दोलखाको राजनीतिक सरगर्मी पनि बढ्दै गएको छ ।

नेकपा एमालेको ‘आधार इलाका’ जस्तै मानिने दोलखामा बेलाबखत चुनावी परिणाम भने भिन्न ढंङ्गले आउने गरेको छ। अघिल्ला निर्वाचनमा निर्णायक भूमिका खेलेका केही अनुहारहरू प्रतिस्पर्धाबाट बाहिरिँदा नयाँ उम्मेदवार, नयाँ राजनीतिक समिकरणले जिल्लाको चुनावी समीकरण जटिल बनेको छ । चार ठुला दलका उम्मेदवारबीच पहिलो पटक एक्लाएक्लै प्रतिस्पर्धा हुँदैछ, जसले नतिजा कसको पक्षमा जान्छ भन्ने अनुमानलाई अझै पेचिलो बनाउँदै लगेको छ ।

२०४८ साल यता एमालेले पाँच पटक, माओवादीले दुईपटक र कांग्रेसले एकपटक दोलखाबाट चुनाव जितेका छन्। माओवादीको दुई पटक चुनाव जित्दा एकपटक भने कांग्रेससँगको गठबनधनबाट चुनाव जितेको हो । २०७० सालसम्म दुईवटा निर्वाचन क्षेत्र रहेको दोलखा संविधान जारी पछि भने एउटा मात्रै संघीय निर्वाचन क्षेत्रमा बनेको छ ।

यसपाली नेकपा एमालेका पार्वत गुरुङ, नेपाली कम्युनिष्ट पार्टीबाट विशाल खड्का, नेपाली कांग्रेसले अजयबाबु सिवाकोटी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अघिल्लो चुनावकै उम्मेदवार जगदीश खरेललाई पुनः दोहोर्याएको छ । चारै पार्टीले जितको दाबी गरिरहेका छन्, तर मत विभाजन, असन्तुष्ट मतदाता र सुरक्षाको चुनौतीले चुनावलाई अनिश्चित बनाइरहेको छ ।

अघिल्लो चुनावको छायाँ, अहिलेको फरक परिस्थिति

२०७९ को निर्वाचनमा दोलखाबाट ७ जना स्वतन्त्रसहित २१ उम्मेदवारहरु चुनावी मैदानमा थिए । त्यतिबेला माओवादीका गंगा कार्की विजयी हुँदा उनलाई कांग्रेस र एकीकृत समाजवादीको साथ थियो । तर यसपटक कांग्रेस अलग्गै उम्मेदवार उठाएको छ भने माओवादी र एकीकृत समाजवादी मिलेर नेकपा बनेका छन् । अघिल्लो चुनावमा निकै साँघुरो मतान्तर देखिएको दोलखामा अहिले त्यो समीकरण पूर्णतः फेरिएको छ । गंगा कार्कीले ३६ हजार ८२० मत पाउँदा एमालेका बालकृष्ण सिवाकोटीले ३६ हजार ५०५ मत ल्याएका थिए । केवल ३१५ मतको अन्तरले नतिजा तय भएको थियो । तर अहिले यी दुवै उम्मेदवार प्रतिस्पर्धाबाट बाहिर छन्, जसले पुरानो मत प्रवृत्ति अनुमान गर्न कठिन बनाएको छ ।

एमालेको इतिहास, माओवादीको चुनौती

एमाले उम्मेदवार पार्वत गुरुङ २०७४ सालमा देशकै सबैभन्दा बढी मतान्तरले विजयी भएका निर्वाचन क्षेत्र हो । माओवादीसँगको गठबन्धनबाट उनले ५५ हजार ४५७ मत पाएका थिए । त्यतिबेला कांग्रेस उम्मेदवारले उनको तुलनामा आधा मतसमेत पाउन सकेका थिएनन् । तर पछिल्ला चुनावी तथ्यांकले एमाले र माओवादी दुवैको मत घट्दो क्रममा रहेको देखाउँछ ।

२०७४ सालमा एमालेले ३८ हजार ७२० र माओवादीले १४ हजार ५८२ मत पाएका थिए । तर पछिल्लो निर्वाचनमा एमाले ३० हजार ९८६ मा झरेको छ भने माओवादी ११ हजार ५८२ मा सीमित भएको छ । यसबीच कांग्रेसको मत भने क्रमशः बढ्दै गएको देखिन्छ । २०७४ मा २० हजार ८३८ मत पाएको कांग्रेसले पछिल्लो चुनावमा २७ हजारभन्दा बढी मत ल्याएको थियो । त्यस्तै, निर्वाचनको लागि उम्मेदवार सिफारिसमा एकलौटी गरेको भन्दै अघिल्लो पटकका उम्मेदवार बालकृष्ण शिवाकोटी पक्षले नेकपा एमाले दोलखाका पार्टी उपसचिवसहित १० जना सामूहिक राजीनामा गरेका छन् । यस सामूहिक राजीनामाले पनि यस पटकको चुनावमा निकै प्रभाव पर्नसक्ने देखिन्छ ।

कांग्रेसको नयाँ दाउ, पुरानो चुनौती

यसपटक कांग्रेसबाट अजयबाबु सिवाकोटी उम्मेदवार बनेका छन् । कांग्रेस केन्द्रीय सदस्य भए पनि उनी पहिलो पटक प्रत्यक्ष निर्वाचनमा उम्मेदवार बनेका हुन् । दोलखामा कांग्रेसले २०५१ सालपछि संघीय चुनाव जित्न सकेको छैन । गएको निर्वाचनमा माओवादीसँगको गठबन्धनमा प्रदेश सांसद जिते पनि संघमा कांग्रेस सधैं खाली हात रहँदै आएको छ ।

गठबन्धनबाट जितेका कुन्दनराज काफ्लेले राजीनामा दिएपछि कांग्रेसभित्र असन्तुष्टि देखिएको थियो । अहिले अजयबाबुलाई कुन्दनको साथ कत्तिको रहन्छ भन्ने विषयले कांग्रेसको नतिजामा निर्णायक प्रभाव पार्न सक्ने देखिन्छ । पार्टी सभापति बर्मा लामाले भने सबै एकढिक्का भएर लागे एमालेको बलियो प्रतिस्पर्धी बन्न सकिने दाबी गरेका छन् ।

रास्वपाको बढ्दो प्रभाव

रास्वपाले अघिल्लो चुनावकै उम्मेदवार जगदीश खरेललाई पुनः चुनावी मैदानमा उतारेको छ । अघिल्लो निर्वाचनमा उनले ३ हजार ८०१ मत मात्रै पाएका थिए । तर अहिलेको राजनीतिक माहोल फरक रहेसँगै रास्वपाको प्रभाव बढ्दो क्रममा छ । पुराना दलप्रति असन्तुष्ट मतदाता नयाँ विकल्पतर्फ आकर्षित हुन सक्ने सम्भावना देखिन्छ । यद्यपि अघिल्लो निर्वाचनमा गठबन्धनका कारण रास्वपातिर गएका मतदाता फेरि पुरानै पार्टीतर्फ फर्किने सम्भावना पनि उत्तिकै रहेको विश्लेषण छ । यही अनिश्चितताले एमालेसहित सबै दललाई सतर्क बनाएको छ ।

सुरक्षामा सबैभन्दा ठूलो चिन्ता

विगतका घटनालाई मध्यनजर गर्दै यसपटक दोलखामा सुरक्षा व्यवस्था कडा बनाइँदै छ । दलहरू हार–जितको गणितमा व्यस्त रहँदा प्रशासनको प्रमुख चिन्ता भने सुरक्षा नै बन्ने गरेको छ । डीएसपीको कमान्ड रहने जिल्लामा यसपाली एसएसपीको नेतृत्वमा छुट्टै सुरक्षा बेस स्थापना गरिने र सुरक्षाकर्मी संख्या बढाइने तयारी गरिएको छ । दोलखामा रहेका ९५ मतदान केन्द्रमध्ये ५२ वटालाई अतिसंवेदनशील, २८ वटालाई संवेदनशील र केवल १५ वटालाई सामान्य मानिएको छ । विगतको जस्तो प्रशासनले कुनै पनि हालतमा बुथ कब्जा हुन नदिने दाबी गरेको छ ।

यसपटक दोलखामा दलका भन्दा बढी स्वतन्त्र उम्मेदवार छन् । निर्वाचन आयोगका अनुसार १४ दल र १९ स्वतन्त्र गरी कुल ३३ उम्मेदवार चुनावी मैदानमा छन् । धेरै उम्मेदवार, विभाजित मत र नयाँ राजनीतिक धारले दोलखाको चुनावलाई पुराना कीर्तिमान, नयाँ प्रतिस्पर्धी, असन्तुष्ट मतदाता र कडा सुरक्षा व्यवस्थाबीच दोलखाको जनमत कसको पक्षमा जान्छ त्यो भने हेर्न बाँकी नै छ ।

Logo