काठमाडौं । विगतका निर्वाचनभन्दा फरक यसपटकको निर्वाचनमा दलहरू एक्लाएक्लै लड्ने चर्चाका बीच फेरि केही ठाउँमा पुरानै शैलीमा दलहरूले एक–अर्का दलका उम्मेदवारलाई सहयोग गर्ने भएका छन्।
फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा रुकुम पूर्व र पश्चिममा नेकपा एमालेले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)लाई सघाउने भन्दै एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र प्रलोपा अध्यक्ष दुर्गा सोवबीच माघ ११ गते सहमतिपत्रमा हस्ताक्षर भएको थियो। रुकुम पश्चिममा प्रलोपाका तर्फबाट जनार्दन शर्मा उम्मेदवार छन् भने पूर्वमा सन्दीप पुन उम्मेदवार छन्।
प्रलोपाको चुनाव चिह्न आँखा हो। एमालेले आँखामै मतदान गर्ने सहमति भएको विज्ञप्ति जारी गरिएको थियो। यी दुई दलबीच कर्णाली प्रदेशलाई केन्द्रमा राखेर चुनावी गठबन्धन गर्ने सहमति भएको थियो। सहमतिअनुसार रुकुम पश्चिममा प्रलोपाका उम्मेदवार जनार्दन शर्मा र रुकुम पूर्वमा प्रलोपाका सन्दीप पुनलाई एमालेले सहयोग गर्नेछ।
प्रलोपाले कर्णालीका हुम्ला र जुम्लाबाहेकका जिल्लाहरू तथा पुरानो राप्ती अञ्चलका जिल्लाहरूमा एमालेका उम्मेदवारहरूलाई सहयोग गर्ने सहमति छ। रुकुम पश्चिममा प्रलोपाका शर्मा उम्मेदवार हुँदा एमालेका तर्फबाट नन्दराम देवकोटाले उम्मेदवारी दिएका थिए। उनको उम्मेदवारी निष्क्रिय गराएर जनार्दनलाई सघाउने गरी एमालेले प्रलोपासँग सहमति गरेको हो।
रुकुम पश्चिममा प्रलोपाका शर्मालाई एमालेले सघाउने तयारी गरे पनि एमालेका उम्मेदवार अहिले पनि चुनावी प्रचारमै छन्। यसको रहस्य भने अर्कै रहेको छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव नेपाललाई फोनमार्फत चुनावी तालमेलको प्रस्ताव गरेका थिए। जनार्दनसँग भएको सहमतिविपरीत एमाले उम्मेदवार मैदान नछोड्नु र कुरा मिलेको अवस्थामा रुकुम पश्चिममा प्रचण्डलाई सहयोग गर्ने ओलीको रणनीति रहेको बुझिन्छ। तर नेकपाले ओलीको प्रस्ताव अस्वीकार गरेको नेकपाका नेताहरू बताउँदै आएका छन्।
माघ ६ गते गोरखामा उम्मेदवारी दर्ता गराएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिए । उम्मेदवारी फिर्ता लिनुअघि आफूलाई सहयोग गर्ने नेकपाका अध्यक्ष प्रचण्डलाई भेटेका भट्टराईले सहयोग नपाउने आशय बुझेपछि उम्मेदवारी फिर्ता लिएका हुन्।
गोरखा–२ मा प्रलोपाका संरक्षकसमेत रहेका भट्टराई उम्मेदवार बनेका थिए। उनले उम्मेदवारी फिर्ता लिएसँगै त्यहाँ प्रलोपाले कसलाई सहयोग गर्छ भन्ने निर्णय भने गरेको छैन। २१ गते हुने निर्वाचनमा यहाँ पनि चुनावी तालमेल हुने देखिन्छ ।
यता प्रलोपाकै नेता सुदन किरातीले सुनसरी–१ मा धरानका पूर्वमेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई र भोजपुरमा ध्रुवराज राईलाई समर्थन जनाएका छन्। २०७९ को निर्वाचनमा भोजपुरमा किरातीले समर्थन गरेवापत श्रम संस्कृति पार्टीले किरातीको प्रलोपालाई कहाँ सघाउँछ र यो सहमति कहाँका लागि गरिएको हो भन्ने खुलेको छैन।
यसैगरी बागलुङमा राष्ट्रिय जनमोर्चा र नेपाली कम्युनिस्ट पार्टीबीच तालमेल छ। बागलुङ–१ मा जनमोर्चाका कृष्ण अधिकारी उम्मेदवार छन्, उनलाई नेकपाले सघाउने छ भने निर्वाचन क्षेत्र नम्बर २ मा नेकपाका ज्ञाननाथ गैरेलाई जनमोर्चाले सघाउने औपचारिक निर्णय गरिसकेको छ।
एमाले उपाध्यक्ष विष्णु पौडेलको क्षेत्र रूपन्देही–२ मा राप्रपाको उम्मेदवार छैन। यहाँ पनि चुनावी गठबन्धन बन्ने पक्का छ। रूपन्देही–२ सहित झापा–५ र झापा–३ मा पार्टीका शीर्ष नेताहरू उम्मेदवार भएका स्थानमा सहमति गर्ने प्रयासस्वरूप नेताहरू आन्तरिक तयारीमा रहेको बुझिएको छ।
यता मनाङमा भने विचित्रको सहमति भएको छ। दलहरूको केन्द्रीय स्तरमा नभई उम्मेदवारहरूकै बीचबाट एमाले र राप्रपाका उम्मेदवारले मनोनयन फिर्ता लिएपछि कांग्रेसका टेकबहादुर गुरुङ, नेपाली कम्युनिस्ट पार्टीकी यशोदा सुवेदी गुरुङ र मंगोल नेशनल अर्गनाइजेशनका रामबहादुर घले मात्र उम्मेदवार छन्।
मनाङमा एमालेका पोल्देन छोपाङ गुरुङ र राप्रपाका कुविरसिंह गुरुङले उम्मेदवारी फिर्ता लिएपछि कुन दलले कसलाई सहयोग गर्ने औपचारिक निर्णय भने भएको छैन। निर्धारित समयमा नपुगेपछि त्यहाँ रास्वपा पनि उम्मेदवारविहीन भएको छ।





























प्रतिक्रिया