काठमाडौं। झापा–५ को निर्वाचनमा अहिले सबैको ध्यान ओली र बालेन शाहमा छ । तर त्यहाँ एक तेस्रो मानिएका उम्मेदवार पनि छन् नेपाली कम्युनिस्ट पार्टीका रञ्जित तामाङ, जसले सत्ता वा व्यक्तिवादमा नभई प्रणाली सुधार र जनता केन्द्रित विकासमा जोड दिएका छन्। चुनावी प्रचारप्रसारमा व्यस्त रहेका तामाङले घरदैलोमा भने,“यो निर्वाचन केवल व्यक्तिको होइन, प्रणाली र संरचनाको परीक्षण हो।”
अहिले आचारसंहिता लागू भएकाले प्रचारप्रसार सीमित भएको भन्दै उनले व्यक्तिगत भेटघाटमार्फत संवादमा रहेको बताए। “ओली र बालेनलाई मिडियाले हेभीवेट बनाइरहेको छ, तर जनताले सबै उम्मेदवारको मूल्याङ्कन गर्छन्। मतदाता नै अन्तिम न्यायधिश हुन्।”उनले भने।
तामाङले आफ्नो मुख्य एजेन्डामा राजनीतिक स्थायित्व कायम गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्था लागू गर्ने,भ्रष्टाचार रोक्न पारदर्शी र उत्तरदायी दल बनाउने,शिक्षा, स्वास्थ्य र रोजगारसम्बन्धी कानुन बनाउने,असमतामूलक विकास सुधार गर्ने र युवालाई उत्पादनसँग जोडेर आत्मनिर्भर बनाउने,भूमिहिन सुकुम्वासी,गरिव,दलित,मुस्लिम,मधेसी,आदीवासी,दबिएका हेपिएका,दिन दुखी बनाइएका निमुखाका मुद्दामा सदैव निर्भिक भएर अग्रसर हुने,न्याय र सुशासनका लागि लडिरहने लगायत भएको बताए ।
रञ्जितका अनुसार झापामा धेरै ठाउँ विकासको पहुँचमा छैन। आदिवासी, भूमिहीन र सुकुमबासी समुदायका समस्या अझै रहन्छन्। कृषक निराश छन् र रोजगारीको अभाव छ । उनी भन्छन्, “नीति, बजेट र कार्यान्वयन सुधार गरी उत्पादन, उद्योग र सार्वजनिक–निजी साझेदारीमार्फत स्वास्थ्य तथा शिक्षा सुधार गर्नुपर्छ।”
उनले वर्तमान व्यवस्थामा सरकार परिवर्तन भैरहेका कारण देशमा विकास हुन नसकेको भन्दै प्रत्यक्ष निर्वाचित कार्यकारी र सशक्त संसद्मा मात्र राजनीतिक स्थायित्व सम्भव भएको जिकिर गरेका छन् ।
अन्तिममा रञ्जितले भने,“जुन दिन जनता जागरुक हुन्छ, त्यस दिन अतिवाद परास्त हुन्छ। अन्तिम फैसला जनता नै गर्छन्। यो चुनाव मेरो लागि मात्र होइन, प्रणाली सुधार र देशको भविष्यको लागि हो,मतदाता आफैले सबै उम्मेदवारको मूल्याङ्कन गर्नेछन्”































प्रतिक्रिया