जनताको विश्वासलाई विकासमा बदल्नेछु : मनहरी तिमिल्सिना

जनताको विश्वासलाई विकासमा बदल्नेछु : मनहरी तिमिल्सिना

केन्द्रबिन्दु
24
Shares

पर्वत । नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट प्रतिनिधिसभा उम्मेदवार मनहरी तिमिल्सिनाले पर्वतको बिहादी गाउँपालिकामा घरदैलो तथा जनसंवाद अभियानलाई तीव्र बनाएका छन्।

जनतासँग प्रत्यक्ष भेटघाट र खुला संवादमा केन्द्रित अभियानमा तिमिल्सिनाले आफू जनताबाट सिक्ने, सुझाव लिने र आफ्ना धारणा साझा गर्ने यात्रामा रहेको बताएका छन्। “यहाँहरूबाट पाएको माया, सद्भाव र सुझावले मेरो जिम्मेवारीबोध अझ बलियो बनेको छ,” उनले भने।

बिहादीसँग बाल्यकालदेखि नै गहिरो सम्बन्ध रहेको उल्लेख गर्दै तिमिल्सिनाले जनयुद्धमा यही भूगोलमा धेरै समय विताएको र आजको राजनीतिक यात्रासम्म ल्याएको बताए । आज उम्मेदवार बनेर आउँदा यहाँका बाटा, बस्ती र अनुहारहरूले पुराना सम्झना ताजा गराउनुका साथै नयाँ ऊर्जा र प्रेरणा मिलेको उल्लेख गरे ।

यहाँका स्थानीयको विकास, सुशासन र समृद्धि र साझा चाहना पुरा गर्नु आफ्नो मुख्य धेय भएको भन्दै उनले जनतासँगको आत्मीय संवादले आफूलाई अझ जिम्मेवार बनाएको बताए।

तिमिल्सिनाले सहमति, सहकार्य र एकताबाट मात्रै समाज बलियो बन्ने धारणा राख्दै भिन्न विचार र आस्थाको सम्मान गर्दै सबैलाई साथमा लिएर अघि बढ्ने प्रतिबद्धता दोहो-याए। संवाद र पारस्परिक सम्मानमार्फत विश्वासको वातावरण निर्माण गर्दै समावेशी समाज बनाउने आफ्नो लक्ष्य रहेको उनले स्पष्ट पारे।

अन्त्यमा उनले बिहादीवासी आमाबुबा,अग्रज, दाजुभाइ–दिदीबहिनी, युवा र सबै मतदाताप्रति आभार व्यक्त गर्दै बिहादीप्रतिको प्रतिबद्धता सदैव कायम रहने विश्वास दिलाए। तिमिल्सिनाले जनताको विश्वासलाई विकासमा बदल्ने प्रतिवद्धता मतदातासँग गरे ।
विहादीका स्थानियले पुराना नेताहरुले चुनावमा चिल्ला कुरा गरेर झुक्काएको भन्दै यसपाली तिमिल्सिनालाई भोट दिने अठोट गरेका नेकपाका नेता उमाकान्त भूर्तेलले बताए ।

विहादीको चुनावी अभियान सकेर पैयुँ,त्यसपछी महाशिला हुँदै फलेवासमा कार्यक्रम हुने नेकपा पर्वतले जनाएको छ ।

Logo