निर्धक्क भएर चुनावको तयारीमा जुट्नुस् : अर्थमन्त्री खनाल

निर्धक्क भएर चुनावको तयारीमा जुट्नुस् : अर्थमन्त्री खनाल

केन्द्रबिन्दु
42
Shares

गलकोट। अर्थमन्त्री रामेश्वर खनालले निर्धक्क भएर निर्वाचनको तयारी गर्न सरोकारवालालाई आग्रह गरेका छन्। निर्वाचन तयारीको स्थलगत अनुगमनका लागि बागलुङ पुगेका खनालले नागरिकले शान्तिपूर्ण र भयरहित वातावरणमा मतदान गर्न पाउने व्यवस्था सरकारले गरिरहेको बताएका छन्।

खनालले चुनावको तयारीमा निर्धक्क भएर जुट्न निर्देशन दिँदै मतदाताले डरविहीन वातावरणमा मताधिकार प्रयोग गर्न पाउनेमा विश्वस्त रहन आग्रह गरे। उनले मुख्य निर्वाचन अधिकृतको कार्यालय बागलुङ, जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयको अनुगमन गरेका थिए।

अनुगमनपछि जिल्लास्थित सुरक्षा समितिको बैठकमा निर्वाचनका बेला अपनाइने सुरक्षा व्यवस्था, प्रहरी परिचालनलगायत विषयमा जानकारी लिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले जानकारी दिए।

अर्थमन्त्री खनालले निर्वाचनमा स्रोत अभाव नहुने स्पष्ट पारे। उनले निर्वाचन सफल बनाउनु सबैको जिम्मेवारी भएको उल्लेख गर्दै सुरक्षा व्यवस्था र आचारसंहिता कार्यान्वयन सरकारको दायित्व भएको बताए। निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न सरकारले कुनै कमी नछोड्ने उनको भनाइ थियो। समस्या आएमा तुरुन्त समाधान गरिने र त्यसका लागि आपसी समन्वय आवश्यक रहेको उनले बताए।

खनालले जिल्लाको समग्र सुरक्षा अवस्था, मतदान केन्द्रको स्थिति र आचारसंहिता कार्यान्वयनको अवस्थाबारे जानकारी लिएका थिए। बागलुङकी मुख्य निर्वाचन अधिकारी सीता शर्मा अधिकारीले जिल्लाको शान्ति सुरक्षा, आचारसंहिता कार्यान्वयन र हालसम्मको निर्वाचन तयारीबारे जानकारी गराएकी थिइन्।

बागलुङ आएका खनालले सुरक्षा निकाय, मुख्य निर्वाचन अधिकृत र निर्वाचन कार्यालयका अधिकारीसँग छलफल गर्दै निर्वाचनको तयारी र जिल्लाको अवस्थाबारे जानकारी लिएपछि निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नम्बर २ बुर्तिबाङको अनुगमनका लागि गएका छन्।

उनले निर्वाचनका क्रममा फैलिन सक्ने गलत तथा भ्रामक सूचनाप्रति सचेत रहन सुरक्षा निकायलाई निर्देशन दिएका छन्। मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी आचार्य र प्रहरी उपरीक्षक तिलक भारतीले चुनावी तयारी र आचारसंहिता उल्लङ्घन नभएको जानकारी दिएका छन्।

दश स्थानीय तह र ८५ वडा रहेको बागलुङमा दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा १०७ मतदानस्थल र २३० मतदान केन्द्र तोकिएका छन्। बागलुङमा एक लाख ९३ हजार ३८१ मतदाता छन्। दुई प्रतिनिधिसभा सदस्यका लागि २३ जना उम्मेदवार प्रतिस्पर्धामा छन्।

Logo