काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता एवं जुम्लाबाट प्रतिनिधि सभा उम्मेदवार ज्ञानेन्द्र शाहीले एकताबद्ध भएर अघि बढ्न जिल्लाका उम्मेदवारहरूलाई आह्वान गरेका छन् ।
फेसबुकमार्फत् भिडियो सन्देश जारी गर्दै उनले आफ्नो उम्मेदवारी कुनै दल र पार्टीविरुद्ध नभएको भन्दै सौहाद्रपूर्ण प्रतिस्पर्धा गर्न आह्वान गरेका हुन् । सबैले आपसमा बाझिएर भन्दा एकजुट भएर जुम्ली जनताको आशीर्वाद लिनुपर्ने उनको भनाइ छ ।
‘मेरो उम्मेदवारी कुनै पार्टी र व्यक्तिका विरुद्ध होइन । मेरो उम्मेदवारी त केन्द्र सत्ताले सधैं जुम्लाका जनप्रतिनिधिलाई सम्झिने र गर्ने दास व्यवहारविरुद्ध हो,’ उनले भनेका छन्, ‘एउटै टेबलमा र एउटै कपमा चिया खाएर जुम्ली जनताको आशीर्वाद ग्रहण गर्नु नै हाम्रो परम कर्तव्य हो । त्यसरी प्रजातान्त्रिक प्रक्रियालाई अभ्यास गर्ने चुनावी माहौलमा होमिनु पर्छ ।’
यसअघि शाहीले मतदातामा भ्रम फैलाएर भोट मागिरहेको भन्दै जुम्लाकी रास्वपा उम्मेदवार विनिता कठायतले आपत्ति जनाएकी थिइन् । हिजो पत्रकार सम्मेलन गर्दै कठायतले बालेन साह र रवि लामिछानेको लठ्ठी समातेर शाहीले चुनाव जित्न खोजेको आरोप लगाएकी थिइन् ।





























प्रतिक्रिया