सर्लाही । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा सर्लाही क्षेत्र नं ३ का उम्मेदवार नारायणकाजी श्रेष्ठले सर्लाहीका जनताको हक–अधिकार, विकास र समग्र देशको समृद्धिका लागि दृढतापूर्वक अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सर्लाहीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफू गोरखामा जन्मिएको भए पनि कुनै एक ठाउँमा स्थायी बसोबास नरहेको र देश तथा जनताको हितका लागि जहाँ बसेर काम गर्नुपर्छ, त्यहीँ बसेर काम गर्ने स्पष्ट पारे “अहिले म यहाँ छु—सर्लाहीको जनताको काखमा आएको छु,” उनले भने। गरिब र सुकुम्वासीको पक्षमा अन्तिम समयसम्म संघर्ष गर्छु श्रेष्ठले प्रतिवद्धता जनाए ।
उनले सुकुम्वासी, अव्यवस्थित बस्ती तथा श्रमजीवी परिवारहरूको स्थायी बसोबास सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याउँदै लालपुर्जा वितरण र अधिकार सुनिश्चित गर्ने विषयमा आफू जनतासँगै उभिने बताए।
श्रेष्ठले केही पार्टी तथा उम्मेदवारहरू सरकारमा हुँदा पनि सुकुम्वासी बस्ती हटाउने परिपत्र जारी गर्ने गरेको आरोप लगाउँदै त्यस्ता प्रवृत्तिप्रति सचेत रहन आग्रह गरे। साथै उनले गरिब, मजदुर, किसान, सुकुम्वासी, दलित, जनजाति, महिला तथा पिछडिएका समुदायलाई अपमान गर्ने र विभाजन गर्ने सोचविरुद्ध जनतालाई सतर्क रहन अपिल गरे।
“हामीले ठुलो संघर्ष गरेर परिवर्तन ल्याएका हौँ। अहिले पनि गरिब तथा उत्पीडित वर्ग, जाति, क्षेत्र र लिंगका जनताको पक्षमा संघर्ष गर्न छाडेका छैनौँ,” उनले भने।
कार्यक्रममा उनले जनतालाई विश्वास दिलाउँदै तीन प्रतिबद्धता व्यक्त गरे–हक–अधिकारका पक्षमा अन्तिम समयसम्म लडिरहने, विकास र समृद्धिका लागि जनतासँगै संघर्ष गर्ने तथा व्यक्तिगत रूपमा पनि समस्या, अन्याय वा दुःख–अप्ठ्यारो पर्दा साथमा उभिने।
उनले चुनावमा मात्रै आउने, भोट माग्ने र पछि हराउने खालको राजनीति अब बदल्नुपर्ने उल्लेख गर्दै जनताको सेवा, न्याय, अधिकार र विकासको राजनीति अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरे।





























प्रतिक्रिया