बागमती। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा मकवानपुरमा १५ जनाले निजी प्रयोजनका लागि राखिएका इजाजत प्राप्त हतियार बुझाएका छन्।
प्रतिनिधिसभा निर्वाचनलाई दृष्टिगत गरी जिल्ला प्रशासन कार्यालय मकवानपुरले निजी प्रयोजनका लागि राखिएका इजाजत प्राप्त हतियार बुझाउन जारी गरेको सार्वजनिक सूचनाका आधारमा १५ जनाले हतियार बुझाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए। जिल्ला प्रशासन कार्यालयबाट जिल्लाभरिका ६० जनाले हतियार राख्ने इजाजत लिएकोमा हालसम्म जिल्ला प्रहरी कार्यालय तथा मातहतका कार्यालयमा उक्त संख्यामा हतियार बुझाइएको बोगटीले बताए। उनका अनुसार इजाजत प्राप्त हतियार बुझाउने क्रम अझै जारी छ।
स्थानीय प्रशासनले सार्वजनिक सूचना जारी गर्दै निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले हतियारधनीसँग रहेका इजाजत प्राप्त हतियार बुझाउन आग्रह गरेको छ। सूचनाको अवज्ञा गरी हातहतियार नबुझाएमा प्रचलित कानुनबमोजिम कारबाही हुने व्यवस्था रहेको बोगटीले बताए। हतियार बुझाउँदा दिइएको निस्साका आधारमा आगामी चैत २० गतेपछि ती हतियार सम्बन्धित हतियारधनीलाई फिर्ता गरिने जानकारी पनि दिइएको छ।
यस्तै निर्वाचनमा खटिने निर्वाचन प्रहरी भर्नाको प्रक्रिया अन्तिम चरणमा पुगेको छ। बोगटीका अनुसार निर्वाचन प्रहरी भर्नाका लागि छनोट भएकालाई तालिम दिने काम भइरहेको छ। मकवानपुरमा एक हजार ९२३ निर्वाचन प्रहरी परिचालन गरिने योजना रहेको छ।
प्रतिनिधिसभा निर्वाचनमा मकवानपुरका १६७ मतदानस्थलमध्ये १९ मतदानस्थललाई अति संवेदनशील सूचीमा राखिएको छ। जिल्ला सुरक्षा समितिको बैठकले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै जिल्लाका विभिन्न ६ स्थानीय तहमा रहेका १९ मतदानस्थललाई अतिसंवेदनशील सूचीमा राखेको छ। जिल्लाका ६० मतदानस्थल संवेदनशील र ८८ मतदानस्थल सामान्य सूचीमा राखिएका छन्। अतिसंवेदनशील सूचीमा रहेका १९ मतदानस्थलमा २६ मतदान केन्द्र रहेका छन्। तीमध्ये बकैया गाउँपालिकाका पाँच, राक्सिराङ गाउँपालिकाका छ, बागमती गाउँपालिकाका पाँच तथा भीमफेदी, मनहरी र कैलाश गाउँपालिकाका एक–एक मतदानस्थल अतिसंवेदनशील सूचीमा परेका छन्।
मकवानपुरमा मतदाता संख्या बढेपछि यस वर्ष सात मतदान केन्द्र थप गरिएको प्रदेश निर्वाचन कार्यालय हेटौँडाले जनाएको छ। कार्यालयका अनुसार यसपटक मकवानपुरमा १६७ मतदानस्थलमा ३७४ मतदान केन्द्र कायम गरिएको छ। प्रतिनिधिसभाको दुई निर्वाचन क्षेत्र रहेको मकवानपुरको क्षेत्र नम्बर १ मा ६२ मतदानस्थल र १७८ मतदान केन्द्र तथा क्षेत्र नम्बर २ मा १०५ मतदानस्थल र १९६ मतदान केन्द्र तोकिएका छन्।
मकवानपुरको क्षेत्र नम्बर १ मा एक लाख ५८ हजार ४३५ मतदाता छन् भने क्षेत्र नम्बर २ मा एक लाख ५६ हजार ८९९ मतदाता छन्। जिल्लामा एक लाख ६१ हजार ९५३ पुरुष, एक लाख ५३ हजार ३७६ महिला र अन्य पाँच गरी कुल तीन लाख १५ हजार ३३४ मतदाता रहेका छन्।































प्रतिक्रिया