रूपन्देही–३ मा ३६ उम्मेदवारबीच प्रतिस्पर्धा

रूपन्देही–३ मा ३६ उम्मेदवारबीच प्रतिस्पर्धा

केन्द्रबिन्दु
15
Shares

देवदह। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा रूपन्देही क्षेत्र नम्बर ३ बाट ३६ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। यस क्षेत्रमा १७ जना स्वतन्त्रसहित १९ वटा राजनीतिक दलका उम्मेदवार छन्।

मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतका अनुसार अन्तिम नामावलीमा रहेका सबै ३६ जना उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिसकिएको छ।

२०७९ सालको निर्वाचनमा यस क्षेत्रबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दीपक बोहरा निर्वाचित भएका थिए। उनले नेपाली कांग्रेसका उम्मेदवार तथा तत्कालीन गृहमन्त्री बालकृष्ण खाणलाई पराजित गरेका थिए। बोहराको २०८१ चैतमा निधन भएपछि यो क्षेत्र रिक्त भएको हो।

यसअघि २०७४ मा नेकपा (एमाले) का घनश्याम भुसाल, २०७० मा राप्रपाका दीपक बोहरा र २०६४ मा मधेसी जनअधिकार फोरमका ओमप्रकाश यादव (गुल्जारी) निर्वाचित भएका थिए।

हाल नेकपा (एमाले) बाट वासुदेव घिमिरे उम्मेदवार छन्। उनी २०७९ मा रूपन्देही–५ बाट निर्वाचित भएका थिए। घिमिरे तिलोत्तमा नगरपालिकाका संस्थापक नगरप्रमुख पनि हुन्। २०७९ मा भने एमालेले रूपन्देही–३ मा राप्रपाका दीपक बोहरालाई समर्थन गरेको थियो।

नेपाली कांग्रेसबाट क्षेत्रीय सभापति सुशील गुरुङ उम्मेदवार छन्। उनी भैरहवा बहुमुखी क्याम्पसका पूर्व स्ववियु सभापति हुन्। अघिल्ला निर्वाचनमा पार्टीका उम्मेदवारका लागि खटिएका गुरुङ यसपटक आफैँ चुनावी मैदानमा उत्रिएका हुन्।

नेकपाबाट फैजअहमद खाँ उम्मेदवार छन्। उनी २०७४ मा सिद्धार्थनगर नगरपालिकाको नगरप्रमुख पदका उम्मेदवार थिए।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ न्युरोलोजिस्ट डा. लेखजङ्ग थापालाई उम्मेदवार बनाएको छ। दीपक बोहराको निधनपछि हुने भनिएको उपनिर्वाचनका लागि पनि थापालाई नै उम्मेदवार बनाइएको थियो।

राप्रपाबाट क्याप्टेन गौरव बोहरा उम्मेदवार छन्। उनी स्वर्गीय दीपक बोहराका छोरा हुन्। लामो समय बुद्ध एअरमा पाइलटका रूपमा काम गरेका बोहरा यसपटक प्रतिनिधि सभामा प्रवेशको प्रयासमा छन्।

जनता समाजवादी पार्टी (जसपा) बाट श्रीनिवास यादव उम्मेदवार छन्। जनमत पार्टीले २९ वर्षीय विशाल गुप्तालाई उम्मेदवार बनाएको छ।

अन्य दलबाट नेपाल मजदुर किसान पार्टीका सुग्रिमचाई, राष्ट्रिय जनमोर्चाका बद्रे आलम मुसलमान, प्रगतिशील लोकतान्त्रिक पार्टीका गोविन्दप्रसाद काराखेती, मंगोल नेसनल अर्गनाइजेसनका कुलवीर घर्ती मगर, नेकपा (संयुक्त) का राजु गौडेल, नेसनल रिपब्लिक नेपालका मोहन थापा र नेकपा (माओवादी) का शङ्करप्रसाद ज्ञवाली उम्मेदवार छन्।

यसैगरी राष्ट्रिय जनमुक्ति पार्टीका मोजिबअलि मुसलमान, उज्यालो नेपाल पार्टीका सरोजसिंह चौधरी, गान्धीवादी पार्टी नेपालका लालबहादुर राना, नागरिक उन्मुक्ति पार्टीकी नन्दकुमारी थापा र आमजनता पार्टीका राधेश्याम तेलीगुप्ता पनि चुनावी प्रतिस्पर्धामा छन्।

स्वतन्त्र उम्मेदवारमा अन्जना चौधरी थापा, करम हुसेन खान, ख्यामानन्द भुसाल, गोपाल भण्डारी, जीतबहादुर गुप्ता, जुमरातीधुनिया मुसलमान, ठाकुर अधिकारी, तेजिन्द्र मल्ल, दीपकबहादुर दर्जी, दुर्गालाल शर्मा, धनबहादुर बस्नेत, नबाब मुसलमान, महेन्द्र यादव, मोहम्मदमुर्तजा साह, विष्णुबहादुर राना, सचिन राना र ज्ञानप्रसाद भुर्तेल रहेका छन्।

यस क्षेत्रमा ७१ हजार २५८ पुरुष, ६८ हजार ७७५ महिला र दुई जना अन्य गरी कुल १ लाख ४० हजार ३५ मतदाता छन्। यहाँ ४६ मतदानस्थल र १५७ मतदान केन्द्र तोकिएका छन्। रूपन्देही जिल्लामा प्रतिनिधि सभातर्फ पाँच निर्वाचन क्षेत्र रहेका छन्।

Logo