दोधारा चाँदनी। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा कञ्चनपुर–१ मा चुनावी गतिविधि बढेको छ ।
यस क्षेत्रका पुराना उम्मेदवारसँग यसपटक नयाँ उम्मेदवारले प्रतिस्पर्धा गरिरहेका छन् । उम्मेदवारहरू घरदैलो अभियानमार्फत मतदातासँग भेटघाटमा जुटेका छन् । पुराना उम्मेदवारले अघिल्लो कार्यकालका काम प्रस्तुत गरिरहेका छन् भने नयाँ उम्मेदवारले परिवर्तन र सुशासनलाई एजेन्डा बनाएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट पूर्वमन्त्री तारा लामा तामाङ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट पूर्वमन्त्री बीना मगर उम्मेदवार छन् । नेपाली कांग्रेसले विद्यार्थी राजनीतिबाट आएका गोपीप्रसाद उपाध्यायलाई उम्मेदवार बनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट जनक धामी उम्मेदवार छन् । उपाध्याय र धामी पहिलो पटक प्रतिनिधिसभा निर्वाचनमा सहभागी भएका हुन् ।
कञ्चनपुर–१ मा २०४८ सालमा कांग्रेस, २०५१ मा एमाले, २०५६ मा कांग्रेस, २०६४ मा माओवादी, २०७० मा कांग्रेस, २०७४ मा माओवादी केन्द्र र २०७९ मा एमालेका उम्मेदवार निर्वाचित भएका थिए । अहिलेसम्म कांग्रेस तीन पटक तथा एमाले र माओवादी केन्द्र दुई–दुई पटक विजयी भएका छन् ।
विकास र सुशासन एजेन्डा
उम्मेदवारहरूले विकास र सुशासनलाई मुख्य एजेन्डा बनाएका छन् । यस क्षेत्रमा पुराना उम्मेदवारसँगै नयाँ उम्मेदवारको प्रतिस्पर्धा देखिएको छ ।
नेपाली कांग्रेस क्षेत्र नं १ का कार्यवाहक क्षेत्रीय सभापति चेतन राईका अनुसार पार्टीले युवालाई उम्मेदवार बनाएको छ । एमाले उम्मेदवार तामाङले अघिल्लो कार्यकालमा गरेका कामका आधारमा निर्वाचनमा सहभागी भएको बताएका छन् । नेकपाकी उम्मेदवार मगरले निर्वाचित भए अधुरा योजना पूरा गर्ने बताउनुभएको छ । रास्वपा उम्मेदवार धामीले जनताको पक्षमा काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
कञ्चनपुर निर्वाचन क्षेत्र नं १ मा बेलौरी नगरपालिका, पुनर्वास नगरपालिका, बेलाडाँडी गाउँपालिका र लालझाडी गाउँपालिका पर्छन् । यस क्षेत्रमा एक लाख एक हजार ७२४ मतदाता छन् ।





























प्रतिक्रिया