काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विचार, सिद्धान्त र राजनीतिक एजेन्डाका हिसाबले नेकपा नै देशकै सबैभन्दा नयाँ पार्टी भएको दाबी गरेका छन्। उनले सामाजिक सञ्जालमा देखाइने ‘नयाँपन’ लाई भ्रमको राजनीति भन्दै तीव्र आलोचना गरे।
पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रको संवाहक, उत्पीडित वर्ग, जाति, क्षेत्र र समुदायको अधिकार स्थापित गर्ने जिम्मेवारी नेकपाले मात्र बोकिरहेको जिकिर गरे ।
उनले भने, “विचारमा हामीभन्दा नयाँ कोही छैन। तर अहिले नयाँ भन्नुको अर्थ सिद्धान्त होइन, पुरानाको विरोध मात्रै बनाइँदैछ ।”
प्रचण्डले आगामी निर्वाचनलाई निर्णायक मोड भन्दै पार्टी पंक्तिलाई मतदाता सुरक्षित रूपमा मतदान केन्द्रसम्म पु¥याउनेदेखि मतगणना सकिन्जेल सतर्क रहन निर्देशन दिए । उनले ७७ वटै जिल्लामा परिणाम प्रभावित पार्ने हैसियत नेकपाको रहेको दाबी गरे।
उनका अनुसार काठमाडौं उपत्यकासहित पोखरा, विराटनगर, भरतपुर, दाङ, नेपालगन्ज र धनगढीजस्ता ठूला सहरहरूमा श्रमिक र बसाइँसराइ गरेर बसेका मतदाता केन्द्रित अभियान नेकपाले चलाएको जानकारी गराए।
प्रचण्डले स्पष्ट शब्दमा भने, “यो भावनामा आएको दाबी होइन। जनताको मुड, विपक्षीका गतिविधि र राष्ट्रिय–अन्तर्राष्ट्रिय सर्भे हेर्दा नेकपा पहिलो पार्टी बन्दैछ । तर त्यसका लागि अबका बाँकी दिन युद्धस्तरमा खट्नुपर्छ।”
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)माथि प्रहार गर्दै उनले सामाजिक सञ्जालमा देखिएको प्रचार वास्तविक चुनावी मैदानमा नदेखिएको दाबी गरे ।
उनले भने, “सोसियल मिडियावाला, स्टन्टवाला भनेर भनेका छौँ। जहाँ जितेका थिए, त्यहाँ उनीहरूको ओरालो लागेको छ । उपत्यकामा त अहिले छैनन्।”
प्रचण्डका अनुसार रास्वपाको प्रभाव नयाँ ठाउँमा मात्रै देखिएको हो, जहाँ जनताले नेताहरूलाई नजिकबाट बुझ्न पाएका छैनन्। “जहाँ बुझ्न पाए, हल्लाबाज भनेर चिनिसके। जहाँ जनताले बुझेका छैनन् त्यहाँ भ्रम छरिरहेका छन्,” उनले भने।
अन्त्यमा उनले नेता–कार्यकर्तालाई आ–आफ्नो निर्वाचन क्षेत्रमा पुगेर उम्मेदवारसँग मिलेर फिल्डमा होमिन निर्देशन दिए।
“अहिले कार्यविभाजनको बहस होइन। चुनाव जितेपछि सबै हिसाब हुन्छ,” प्रचण्डको भनाई थियो।





























प्रतिक्रिया