काठमाडौँ। नेपाल–भारत सुरक्षा सहकार्यलाई केन्द्रमा राख्दै नेपाल इन्स्टिच्युट अफ इन्टरनेशनल कोअपरेसन एन्ड एंगेजमेन्ट (NIICE) ले नेपाल–भारत थिङ्क ट्याङ्क फोरम आयोजना गरेको छ। “क्षेत्रीय सहनशीलता : नेपाल–भारत सुरक्षा सहकार्य सुदृढीकरण” विषयमा आयोजित कार्यक्रममा दुवै देशका सुरक्षा र रणनीति क्षेत्रका विज्ञहरूको सहभागिता थियो।
कार्यक्रममा भारतको युनाइटेड सर्भिस इन्स्टिच्युट अफ इन्डियाका महानिर्देशक (सेवानिवृत्त) उप–एडमिरल सञ्जय जसजीत सिंहले नेपाली सैनिकले भारतीय सैन्य शक्ति र राष्ट्रिय सुरक्षामा लामो समयदेखि महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरे। उनले अग्निवीर योजना नेपाली नागरिकका लागि पनि खुला रहेको र यसले अनुशासित तथा सक्षम युवा जनशक्ति उत्पादनमा सहयोग गर्ने बताए।
भारतका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार तथा ल्बतक्तचबत का संयोजक पंकज सरनले नेपाली युवासँगको अन्तरक्रियाले आफू प्रभावित भएको बताए। उनले नेपाल–भारत सम्बन्धको भविष्य निर्माणमा दुवै देशका युवाको सहकार्य आवश्यक रहेको धारणा राखे।
इन्डिया फाउन्डेसनका कार्यकारी उपाध्यक्ष आलोक बन्सलले भारत सीमापार आतंकवादको प्रभाव भोग्दै आएको देश भएको र त्यसको असर नेपालमा पनि पर्ने बताए।
जवाहरलाल नेहरू विश्वविद्यालयकी प्राध्यापक सङ्गीता थप्लियालले नेपाल–भारत सम्बन्ध सुदृढ बनाउन थिङ्क ट्याङ्क र शैक्षिक संस्थाको भूमिका प्रभावकारी रहेको उल्लेख गरिन्। उनले अनुसन्धान र नीति संवादमा दुवै देशका सरकारले सहयोग बढाउनुपर्नेमा जोड दिइन्।
काउन्सिल फर स्ट्राटेजिक एन्ड डिफेन्स रिसर्चका सह–संस्थापक डा. गौरव सैनीले खुला नेपाल–भारत सीमाले व्यापार, संस्कृति र जनस्तरको सम्बन्ध मजबुत बनाएको भए पनि यसले मानव तस्करी, लागुऔषध कारोबार र नक्कली मुद्राजस्ता साझा सुरक्षा चुनौती सिर्जना गरेको बताए। उनले यस्ता समस्याको समाधान नियन्त्रणभन्दा सहकार्यबाट सम्भव हुने धारणा व्यक्त गरे।
राजनीतिक तथा सुरक्षा विश्लेषक (सेवानिवृत्त) मेजर जनरल विनोज बस्न्यातले नेपालमा ’जेन–जेड’ प्रदर्शन अप्रत्याशित नभए पनि यसको विकसित हुने तरिका आश्चर्यजनक रहेको बताए । उनले निर्वाचनको महत्त्व औंल्याउँदै केवल निर्वाचनले रणनीतिक स्थिरता सुनिश्चित गर्छ कि गर्दैन भन्ने प्रश्न उठाए । पुस्तान्तरण र संस्थागत सुधारबिना निर्वाचनले पुरानै चक्र दोहोर्याउन सक्ने चेतावनी दिँदै उनले निर्वाचनपछिको अवस्थालाई “रणनीतिक समाधानभन्दा रणनीतिक विश्राम“ का रूपमा व्याख्या गरे र समावेशी संवादको आवश्यकता औंल्याए ।
(NIICE) का कार्यक्रम संयोजक विवेक धोज थापाले भारतलाई उपनिवेशपछिको शक्ति नभई रणनीतिक साझेदारका रूपमा हेर्दै, नेपाल–भारत सम्बन्धले उदीयमान युवा जनसंख्यासँगको साझेदारीमा केन्द्रित हुनुपर्ने बताए। जलस्रोत व्यवस्थापन, जलवायु परिवर्तन र सुरक्षा जस्ता साझा चुनौतीहरू उल्लेख गर्दै उनले ’भारत– नेपाल युवा जलवायु फेलोशिप’ जस्ता पहल र सौम्य शक्ति (सफ्ट पावर) मार्फत सहकार्य विस्तार गर्न सुझाव दिए ।
(NIICE) की निर्देशक सुमित्रा कार्कीले द्विपक्षीय सम्बन्ध सुदृढ गर्न शैक्षिक तथा नीतिगत तहमा सक्रिय संलग्नताको आवश्यकता औंल्याइन् । उनले भारत सरकारले भारतमा नेपाल अध्ययनलाई र नेपाल सरकारले स्वदेशमा भारत अध्ययनलाई प्रोत्साहन गर्नुपर्नेमा दृढ विश्वास व्यक्त गर्दै ज्ञान आदानप्रदान र संस्थागत सहयोगले मात्र दुई राष्ट्रबीचको पारस्परिक समझदारी अभिवृद्धि गर्न सक्ने बताइन्।
वक्ताहरूले परम्परागत तथा गैर–परम्परागत सुरक्षा चुनौतीहरूको सामना गर्न नेपाल र भारतबीच सुरक्षा हितमा अभिसरण, सहकार्यको निरन्तरता र नीतिगत समन्वयको महत्त्वमा सामूहिक जोड दिएका थिए । कार्यक्रम अन्त्यमा रक्षा सहकार्य, क्षेत्रीय स्थिरता र सहकार्यका सम्भावनाबारे अन्तरक्रियात्मक प्रश्नोत्तर सत्र सम्पन्न भएको थियो ।
कार्यक्रममा डिजिटल सचेतना, साइबर जोखिम न्यूनीकरण र सीमा क्षेत्रमा संयुक्त सुरक्षा संयन्त्र विकास गर्नुपर्ने विषयमा पनि छलफल गरिएको थियो।































प्रतिक्रिया