चितवन । केन्द्रविन्दु डटकमको टोली ग्राउण्ड जिरो रिपोर्टिङका क्रममा देशका विभिन्न जिल्लाहरू पुग्दै केही दिनअघि चितवन पनि पुग्याे । चितवन क्षेत्र नम्बर ३ अहिले प्रतिनिधि सभा निर्वाचनका कारण राष्ट्रिय ध्यानको केन्द्रमा छ । यहाँ भरतपुर महानगरपालिकाकी पूर्व मेयर रेणु दाहाल नेकपाबाट र पूर्व सांसद सोविता गौतम राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनावी मैदानमा छन् । मैदानमा देखिएको माहोलले प्रतिस्पर्धा कडा र रोचक हुने संकेत गर्छ । जनतासँगको भेटघाटमा दुवै उम्मेदवारका समर्थकहरूको उल्लेखनीय उपस्थिति देखियो ।
खैर, यहाँ कांग्रेस र एमालेका उम्मेदवारलाई पनि कम आँक्न भने मिल्दैन । राप्रपाका विक्रम पाण्डेले अघिल्लो निर्वाचनमा यस क्षेत्रबाट विजय हासिल गरेका थिए । यसपटक चितवन– ३ मा गौतम र दाहालसहित राप्रपाले दीपक थापामगर, एमालेले शंकरराज थपलिया र कांग्रेसले टेकप्रसाद गुरुङलाई उम्मेदवार बनाएको छ । यसअघि चितवनका २ वटा क्षेत्र रास्वपाले जित्दा क्षेत्र नं. ३ भने राप्रपाले जितेको थियो । तर त्यसबेला गठबन्धन थियो ।
यस क्षेत्रकाे मुख्य प्रतिष्पर्धा नै एमाले र कांग्रेसबीच हुने एमाले उम्मेदवार थपलियाको दावी छ । उनले रास्वपाकी सोविता गौतम र नेकपाकी रेणु दाहाल दुबैलाई ‘टुरिस्ट’ को संज्ञा दिएका छन् । यद्यपि, ग्राउण्ड जिरो रियालिटी भने अलि फरक छ ।
विकासको ‘टेस्ट केस’ का रूपमा रेणु
भरतपुर महानगरपालिकामा रेणु दाहालले गरेका विकास कार्यबारे खुलेर प्रशंसा गरिरहेका धेरै स्थानीय भेटिए । सडक विस्तार, पूर्वाधार निर्माण, शहरी व्यवस्थापन र आर्थिक गतिविधि चलायमान बनाउन उनले खेलेको भूमिकालाई समर्थकहरूले प्रमुख उपलब्धिका रूपमा प्रस्तुत गरे । भरतपुर महानगरभित्रका सडकहरु चिल्ला छन् । गल्लीगल्लीमा कालोपत्रे भएको छ । विजुलीको पहुँच जताततै पुगेको छ । रेणुका पक्षमा भोट हाल्नेहरुको यसलाई सकारात्मक कामको रुपमा अर्थ्याएका छन् ।
विशेषगरी पटियानी क्षेत्रका स्थानीय तथा व्यवसायीहरूले महानगरभित्र काम गर्ने वातावरण बनेको, स्थानीय स्तरमै रोजगारीका अवसर बढेको र व्यवस्थित शहरीकरणतर्फ भरतपुर अघि बढेको बताए । रेणुका समर्थकहरूको दाबी छ, उनले भ्रष्टाचार नगरेको र बेरुजु शून्यमा झारेको उदाहरण देशकै लागि नमूना हो । “काम देखिने गरी भएको छ, त्यसैले फेरि अवसर दिनुपर्छ,” एक स्थानीयले भने ।
रेणुको कामको मूल्यांकनका आधारमा पनि यसपटक भने उनलाई नै भोट हाल्नु पर्ने मत राम्रै छ । कतिपय मतदाताले त भिडियो अन्तरवार्तामै भनेका छन्, ‘रेणुलाई भोट नदिए पाप लाग्छ ।’ तर सबै टोलहरुमा भने यस्तो अवस्था छैन । सोविताको पक्षमा खुल्नेहरुको जमात अझै ठूलो छ ।
परिवर्तनको लहर र ‘घण्टी’को आकर्षण
यद्यपि, मैदानको अर्को तस्वीर पनि उत्तिकै बलियो देखियो । राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतमका समर्थकहरूको ठूलो समूह भेटियो । धेरै मतदाताले यसपटक मत परिवर्तन गरेर ‘घण्टी’मा मतदान गर्ने मनस्थिति बनाएको सुनाए । कतिपय ज्येष्ठ नागरिकहरूले राज्यबाट न्याय नपाएको गुनासो गरे । निर्मला पन्त हत्या प्रकरण अझै टुंगो नलागेको विषयलाई जोड्दै उनीहरूले “न्यायका लागि पनि मत परिवर्तन आवश्यक” रहेको धारणा व्यक्त गरे । सोविता समर्थकहरूको तर्क छ, “पूर्वाधार विकास गरेर मात्रै पुग्दैन, प्रणालीमा परिवर्तन आवश्यक छ ।”
उनीहरूका अनुसार रेणुलाई जिताउनु भनेको अप्रत्यक्ष रूपमा प्रचण्डलाई जिताउनु हो, त्यसैले विकल्प रोज्नुपर्छ ।
विकासको निरन्तरता र अनुभवको पक्षमा रेणु बलियो देखिए पनि परिवर्तन र वैकल्पिक राजनीतिप्रतिको आकर्षणले सोवितालाई सशक्त प्रतिस्पर्धी बनाएको छ ।
के भन्छ अघिल्लो चुनावको अंकगणित ?
अघिल्लो चुनावमा प्रत्यक्षमा जितका आधारमा हेर्ने हो भने राप्रपा पहिलो शक्ति बनेकाे थियाे। समानुपातिक मतका आधारमा हेर्ने हो भने यस क्षेत्रमा रास्वपा नै पहिलो शक्ति हो । दोस्रोमा भने माओवादी र तेस्रोमा राप्रपा र चौथोमा मात्रै एमाले छ । समानुपातिक मत हेर्दा कांग्रेस त पाँचौ स्थानमा देखिन्छ । फेरि स्थानीय तहमा प्रमुख तथा वडाध्यक्षहरुको मत हेर्ने हो भने नेकपा बलियो देखिन्छ ।
यस निर्वाचन क्षेत्रबाट राप्रपाका नेता विक्रम पाण्डेले तत्कालीन नेकपा (माओवादी केन्द्र)का उम्मेदवार भोजराज अधिकारीलाई झन्डै १० हजार मतान्तर पराजित गरेका थिए । तर, यो क्षेत्रमा समानुपातिकमा रास्वपा पहिलो दल बनेको थियो । पाण्डेले ३५ हजार ६० मत ल्याउँदा तत्कालीन माओवादी केन्द्रका उम्मेदवार भोजराज अधिकारीले २५ हजार ८२४ मत मात्रै ल्याएका थिए । यहाँ रास्वपाका उम्मेदवार जीता बराल तेस्रो भएकी थिइन् । उनले १४ हजार ८ सय ४३ मत प्राप्त गरेकी थिइन् ।
यहाँ गठबन्धन भए पनि नेपाली कांग्रेसका जिल्ला सभापति आफै चुनावी मैदानमा उत्रिए । ‘माछा’ चुनाव चिह्न पाएका उनले १२ हजार २७५ मत ल्याएका थिए । गठबन्धनले काम गरेको भए माओवादी उम्मेदवारले जित्ने देखिए पनि त्यसले काम गरेन ।
रास्वपाले २८ हजार ४०१ मत प्राप्त गर्दा तत्कालीन माओवादीको मत १६ हजार ९० र राप्रपाको १६ हजार ७५५ मत देखिन्छ । त्यस्तै, नेकपा एमालेको १४ हजार ५२२ मत प्राप्त भएको छ भने कांग्रेससको १० हजार ५२४ मत आएको थियो । त्यस्तै, गठबन्धनमा रहेको नेकपा एसले भने १ हजार ८५ मत ल्याएको थियो ।
अब पालिकाको मत विश्लेषण गरौँ । भरतपुर महानगरपालिका प्रमुखमा माओवादी उम्मेदवार रेणुले जितेकी हुन् भने माडी नगरपालिका एमाले उम्मेदवार ताराकुमारी काजी महताले जितेकी हुन् । उनले ९ हजार ९०१ मत प्राप्त गर्दा माआवादी उम्मेदवार ऋषिराम काफ्लेले ७ हजार ७२९ मत ल्याएका थिए ।
भरतपुर महानगरमा उपप्रमुख कांग्रेसले जितेको थियो । त्यस्तै २९ वडामध्ये कांग्रेसको बहुमत छ । कांग्रेसले १६ वडामा अध्यक्ष जितेको थियो । त्यस्तै, एमालेले ६, नेकपा एसले ३, माओवादीले ३ र स्वतन्त्रले एक वडाअध्यक्ष जितेका थिए । माडी नगरपालिकाका ९ वडामध्ये राप्रपाले २, माओवादीले ४, एमाले २ र नेकपा एसले २ वडामा अध्यक्ष जितेको थियो । माओवादी र नेकपा एस जोड्दा ९ वडामा ६ अर्थात बहुमत भन्दा धेरै वडा नेकपाले जितेको छ । यसकारण यही मतका आधारमा यही पार्टीका उम्मेदवारले जित्लान भन्ने निश्कर्ष निकाल्न कठिन छ ।
कडा प्रतिष्पर्धा
रेणु दाहाल कामका आधारमा बलियो देखिए पनि चुनावी समीकरण केवल विकासका तथ्यांकमा सीमित छैन । राष्ट्रिय राजनीति, नेतृत्वप्रतिको धारणा, न्याय र सुशासनको प्रश्न पनि उत्तिकै प्रभावकारी देखिएको छ । सोविता गौतम युवा र स्पष्ट वक्ताका रूपमा मतदातामाझ प्रस्तुत भइरहेकी छन् । परिवर्तनको सन्देश बोकेको पार्टीको प्रभाव र राष्ट्रिय असन्तुष्टिको लहरले उनको पक्षमा ऊर्जा थपेको देखिन्छ ।
चितवन -३ मा देखिएको जनमतले स्पष्ट सन्देश दिन्छ, यो प्रतिस्पर्धा एकतर्फी छैन । विकासको निरन्तरता र अनुभवको पक्षमा रेणु दाहाल बलियो देखिए पनि परिवर्तन र वैकल्पिक राजनीतिप्रतिको आकर्षणले सोविता गौतमलाई सशक्त प्रतिस्पर्धी बनाएको छ । मतदाता मनोविज्ञान अन्तिम क्षणसम्म बदलिन सक्ने भएकाले परिणाम अनुमान गर्न कठिन भए पनि एउटा कुरा स्पष्ट छ—चितवन–३ को यो चुनाव केवल उम्मेदवारबीचको प्रतिस्पर्धा होइन, विकास र परिवर्तनको बहस पनि हो ।































प्रतिक्रिया