काठमाडौँ। आज देशभर ३०औँ जनयुद्ध दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । यस वर्षको जनयुद्ध दिवस विशेष बनेको छ, किनकि शान्ति प्रक्रियापछि पहिलो पटक सरकारले नै औपचारिक रूपमा दिवस मनाउन सार्वजनिक बिदा दिएको छ । तत्कालिन माओवादीले २०५२ फागुन १ गते सुरु गरेको सशस्त्र जनयुद्ध केवल एउटा राजनीतिक आन्दोलन मात्र नभएर यो नेपालको राज्य संरचना, शासन प्रणाली र समाजको आधारभूत चरित्र परिवर्तन गर्ने निर्णायक मोडका रुपमा लिइन्छ ।
दश वर्षसम्म चलेको जनयुद्धले नेपाललाई राजतन्त्रबाट गणतन्त्रमा ल्यायो, एकात्मक शासनलाई सङ्घीयतामा रूपान्तरण ग-यो र राज्यको शक्ति संरचनामा यूगौँदेखी किनारामा पारिएका वर्ग, समुदाय र क्षेत्रलाई केन्द्रमा ल्याउने बाटो खोल्यो। तर यो परिवर्तन सहज थिएन यसका लागि हजारौँ जीवनले मूल्य चुकाए। राष्ट्रियता,धर्मनिरपेक्षता,समावेशिता,संघियता लगायत शोषित उत्पीडित वर्ग,समुदाय र क्षेत्रका लागि परिवर्तनको मुल जनयुद्दलाई मानिन्छ ।
सरकारी तथ्याङ्कअनुसार जनयुद्धका क्रममा राज्य र माओवादी पक्षबाट गरी १७ हजारभन्दा बढीले ज्यान गुमाए, हजारौँ घाइते भए र सयौँ अझै बेपत्ता छन्। प्रत्येक सहिदको नामसँग एउटा अधुरो परिवार, एउटा टुटेको सपना र एउटा मौन पीडा जोडिएको छ ।
जनयुद्धको सुरुवात भएको रुकुमपूर्वमा आज विशेष कार्यक्रम आयोजना गरिएको छ । त्यहाँ पुगेका नेपाली कम्युनिस्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिद परिवारलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । रुकुमपूर्व, जुन पहिले राज्यको दृष्टिबाट टाढा थियो, आज सङ्घीय संरचनामा एउटा अलग जिल्लाका रूपमा स्थापित छ जस्लाई जनयुद्धले ल्याएको परिवर्तनको प्रतीक मानिन्छ ।
जनयुद्धले केवल शासन प्रणाली परिवर्तन नगरेर यसले राज्य र नागरिकबीचको सम्बन्धको परिभाषा पनि बदलेको छ। दलित, महिला, जनजाति र दुर्गम क्षेत्रका नागरिकको प्रतिनिधित्व राज्य संरचनामा बढ्यो। संविधानसभामार्फत नयाँ संविधान निर्माण भयो, जसले नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रका रूपमा स्थापित र परिभाषित गरिदियो।
जनयुद्द पछि देशमा भएको आमुल परिवर्तनसँगै प्रश्नहरू पनि बाँकी छन्। सहिद परिवारको जीवन अझै संघर्षपूर्ण छ, बेपत्ता परिवार न्यायको प्रतीक्षामा छन्, र द्वन्द्वकालीन घटनाको सत्य खोज्ने प्रक्रिया अझै अधुरो छ । जनयुद्धले ल्याएको परिवर्तनको सपना कति पूरा भयो भन्ने बहस अझै जारी छ ।
आजको दिन केवल उत्सवको दिन मात्र नभएर यो आत्ममूल्याङ्कनको दिन पनि रहेको छ । के जनयुद्धले देखाएको समानता, न्याय र समृद्धिको सपना पूरा भयो? वा ती सपना अझै अधुरै छन्?
३० वर्षपछि, जनयुद्ध एउटा गर्विलो इतिहास बनेको छ। नेपालको गणतन्त्र, सङ्घीयता र समावेशी प्रणाली जनयुद्धको परिणाम हुन्। त्यसैले जनयुद्ध दिवस केवल विगतको सम्झना मात्र नभएर नेपालको वर्तमान र भविष्य बुझ्ने एउटा ऐतिहासिक सन्दर्भ रहेको छ ।





























प्रतिक्रिया