पर्वतमा चुनाव केन्द्रित साइबर गतिविधि बढ्दो

पर्वतमा चुनाव केन्द्रित साइबर गतिविधि बढ्दो

आखिर निगरानी कसले गर्ने?

केन्द्रबिन्दु
93
Shares

पर्वत । जिल्लाका स्वतन्त्र र निष्पक्ष युवाहरूको समूहले जिल्लामा भइरहेका चुनाव केन्द्रीत साइबर गतिविधि, मतदाता प्रभावित पार्ने प्रयास तथा आचारसंहिता उल्लंघनका घटनाहरूलाई सूक्ष्म रूपमा अध्ययन र विश्लेषण गरिरहेको जनाएको छ। समूहले हालै गरेको अनुगमनका क्रममा ठूलो संख्यामा फेक (नक्कली) सामाजिक सञ्जाल खाता खोलिएको र ती खाताहरू सक्रिय पारिएको तथ्य फेला परेको जनाएको छ।

समूहका अनुसार ती नक्कली खाताहरू प्रायः जनवरी २५ पछि खोलिएका हुन्। ती खाताहरूबाट अपरिचित वालमा गएर फेक प्रतिक्रियाहरू जनाउने, दण्डहीनतालाई प्रशय दिनेजस्ता जनगतिविधि भइरहेको पाइएको छ। विशेषगरी त्यस्ता नक्कली खाता नेकपा एमाले समर्थकहरूका रहेको ‘कालीगण्डकी बचाऔँ अभियान’का अभियन्ता एवम् स्वतन्त्र पत्रकार आरके अदीप्त गिरी बताउँछन्।

उनले यस किसिमका गतिविधिले स्वच्छ, निष्पक्ष र पारदर्शी निर्वाचन प्रक्रियामा असर पार्न सक्ने भन्दै गम्भीर चासो व्यक्त गरे। ‘गालीगलौचको भाष्य उत्पादन गर्ने कारखाना जस्तो देखिएको छ पर्वतको राजनीति। अर्को विडम्बना, लोकतन्त्र रक्षार्थ दह्रो गरी उभिनुपर्ने नागरिक समाज मौन बस्दा पनि समाजले यी र यस्ता दुर्दशा बेहोर्नुपरेको छ,’ उनले भने। गलत र भ्रमपूर्ण सूचना प्रवाहले लोकतान्त्रिक प्रणाली, सामाजिक संस्कार र अभ्यासलाई प्रभावित गर्ने भन्दै दलीय राजनीति गर्नेले आफैँ यो नियन्त्रणमा सक्रिय हुनुपर्ने उनको भनाइ छ।

गालीगलौज र आरोप–प्रत्यारोपको संस्कृतिले राजनीतिप्रतिको विश्वास घटाउने र अराजकता बढाउनेमा उनको चिन्ता छ। समाजमा यस्तै राजनीतिक ‘प्रतिशोध र इगो’ बढ्दै जाने हो भने अराजकताका घटनाहरूले प्रसय पाउने र दण्डहीनता मौलाउनेमा उनको तर्क छ। आफ्नो पार्टीको देश बनाउने प्रतिबद्धता के हो? अन्तर्राष्ट्रिय सम्बन्ध के हो? आर्थिक नीति के हो? सुशासनको मोडालिटी र एजेन्डा के हो? जस्ता विषयमा संवाद र प्रतिकृया दिनुपर्नेमा जोडतोडले नीराधार र तथ्यहीन गालीगलौचमा उत्रिने प्रवृत्ति बढिरहेको छ।

यो व्यक्तिको मानव अधिकारको माथिको हनन, विभेद र अपमान मात्रै नभइ नागरिकको त्याग र बलिदानको उपहास र भद्दा मजाक भएको संरक्षणकर्मी गिरी बताउँछन्।

फरक टिप्पणी र आलोचना गर्ने व्यक्तिलाई दर्जनौँ फेक अकाउन्ट बनाएर आक्रमणमा उत्रिने प्रवृत्ति बढेको युवा संजालका सचिव मदन पौडेलले बताए। निराधार गाली बर्साउने र समाजलाई मुठभेडतिर लैजान उक्साउने यस्तो प्रवृत्ति रोक्न सम्बन्धित निकायले यथाशीघ्र कदम चाल्नुपर्ने उनको भनाइ छ।

‘जनताले चाहेको सुशासन हो। भदौ २३ को प्रदर्शनको माग पनि सुशासनकै थियो। सुशासन माग्नु सबै नेपालीको जायज हक हो। योभन्दा पनि आपराधिक प्रवृत्तिका मानिस सामाजिक संजालमा घृणित तवरले प्रस्तुत हुनु लजास्पद विषय हो। लोकतन्त्रमा खुल्ला संवाद गर्न पाइन्छ तर यहाँ त घृणित राजनीति भो, लोकतन्त्रको उपहास भो,’ पौडेले भने।

सामाजिक सञ्जालमा परिचयविहीन (फेसलेस) अकाउन्ट बनाएर भैरहेको चुनाव केन्द्रित साइबर गतिविधि पर्वतको डरलाग्दो राजनीतिक विकृति भएको युवा सञ्जालका संयोजक समुन्द्र गिरीले बताए। यसले स्वच्छ, निष्पक्ष र पारदर्शी निर्वाचन प्रक्रियामा असर पार्नुका साथै समाजमा पनि बिचलन ल्याउन भय पैदा गरेको उनको भनाइ छ ।

स्वतन्त्र रुपमा जिल्लाका बेथिति, विसङ्गति, भ्रष्टाचार, सामाजिक– प्राकृतिक न्यायको सवालमा साझा आवाज उठाउँदै आएको युवा सञ्जाल, पर्वतले यस्ता प्रवृत्तिहरूबारे देशभर अन्य जिल्लाका युवाहरूलाई पनि निगरानी गर्नेगरी सक्रिय हुन आह्वान गरेको छ।

Skip This
Skip This
Logo