यो निर्वाचनले मुलुकलाई निकास दिँदैन, व्यवस्था परिवर्तन आवश्यक छ -अध्यक्ष राजेन्द्र लिङ्देन [भिडियो]

यो निर्वाचनले मुलुकलाई निकास दिँदैन, व्यवस्था परिवर्तन आवश्यक छ -अध्यक्ष राजेन्द्र लिङ्देन [भिडियो]

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । जेनजी आन्दोलनपछिको परिस्थितीमा यतिबेला देश निर्वाचनमय बनेको छ । नेताकार्यकर्ताहरु जनताको घरदैलोमा पुगेर भोट माग्न व्यस्त छन् । यसैबीच झापा ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवारी दिएका अध्यक्ष राजेन्द्र लिङ्देनलाई पनि चुनाव लागेको छ । अघिल्लो चुनावमा यही क्षेत्रमा एमाले–राप्रपाबीचको तालमेलले राप्रपाका लिङ्देन विजयी भएका थिए । तर यसपटक कुनै गठबन्धन छैन । प्रायः दुईपक्षीय भिडन्तको यो केन्द्रमा यसपटक त्रिपक्षीय भिडन्तको सम्भावना छ । यसै सन्दर्भमा निर्वाचन तयारी, पार्टीको चुनावी एजेन्डा, राजसंस्था, हिन्दु राष्ट्र, युवा रोजगारी, भ्रष्टाचार नियन्त्रण तथा एकल चुनाव लड्ने रणनीतिबारे अध्यक्ष लिङ्देनसँग केन्द्रविन्दु टोलीले विस्तृत रुपमा कुराकानी गरेको छ । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश-

निर्वाचनको तयारी कस्तो छ ? कत्तिको घरदैलो कार्यक्रममा व्यस्त हुनुहुन्छ ?

-अब आफैं उम्मेदवार भएको नाताले आफ्नो निर्वाचन क्षेत्रमा पनि ध्यान दिइरहेको छु। तर पार्टी अध्यक्ष हुनाको नाताले देशभरका अन्य उम्मेदवार साथीहरूको बारेमा पनि समय खर्च गरिरहेको छु। समग्रमा ठीकै ढङ्गले तयारीहरू अगाडि बढिरहेका छन्।

घरदैलो कार्यक्रममा जाँदै गर्दा मतदाताहरूबाट कस्तो प्रतिक्रिया पाइरहनुभएको छ ?

-प्रतिक्रिया राम्रो छ। अघिल्लो चुनावमा आफूलाई मत नदिने मतदाताले पनि यसपटक सहयोग गर्छु भनेका छन्। उहाँहरूले भन्नुभएको छ– ‘तपाईंलाई हाम्रो क्षेत्रमा प्रतिनिधिको रूपमा पाउनु हाम्रो लागि गौरव र खुशीको कुरा हो। तपाईं हार्नुपर्ने मान्छे होइन। तपाईं एक जना सांसद मात्र होइन, नेपालको राजनीतिमा अलग धारको नेतृत्व गर्नुहुन्छ। त्यो विचार संसदमा आवश्यक छ।’ फरक–फरक राजनीतिक दलका मानिसहरूले पनि समर्थन जनाइरहेका छन्।

यतिबेला राप्रपाले चुनावी एजेन्डा के–कस्तो बनाएको छ ?

-देशका समस्या नेतृत्वमा मात्र होइन, व्यवस्थामा पनि छन्। हामीले नेतृत्व परिवर्तनसँगै प्रणाली सुधारलाई प्राथमिकता दिएका छौं। ऊर्जा, पर्यटन, कृषि, सूचना प्रविधि र विदेशमा रहेका नेपालीहरूको सीप तथा पुँजीलाई उपयोग गरेर ५–१० वर्षमै समृद्ध नेपाल बनाउन सकिन्छ भन्ने हाम्रो विश्वास छ। देशभित्रै रोजगारी सिर्जना गरेर युवालाई ५०–६० हजार तलबका लागि विदेश जानुपर्ने बाध्यता अन्त्य गर्न सकिन्छ। हामीले सुशासन, विकास र शासकीय सुधारलाई मुख्य प्राथमिकतामा राखेर स्पष्ट मार्गचित्रसहितको संकल्प पत्र तयार पारेका छौं ।

युवालाई देशमै रोजगारी दिलाउन के–कस्ता कुरालाई बढी प्राथमिकता दिनुभएको छ ?

-विदेश जाने क्रम पूर्ण रूपमा रोक्न सकिँदैन, तर परिवार पाल्न ५०–६० हजार तलबका लागि बाध्य भएर जाने अवस्था अन्त्य गर्न सकिन्छ। मुख्य आधार हरित ऊर्जा (जलविद्युत्, सौर्य, पवन) हो। नेपालको क्षमता ८३ हजार मेगावाटभन्दा बढी छ, तर उत्पादन ४ हजार मेगावाट पनि छैन। ऊर्जा उत्पादन सहज बनाएर निजी क्षेत्र आकर्षित गर्ने, बजार खोजी र वितरण सहजीकरण गर्ने नीति ल्याउँछौं। यसले पेट्रोलियम आयात ८० प्रतिशतसम्म घटाउँछ, सस्तो बिजुलीबाट उद्योग चल्छ, रोजगारी बढ्छ। पर्यटनमा धार्मिक पर्यटन (पशुपतिनाथ, लुम्बिनी, मुक्तिनाथ आदि) लाई प्राथमिकता दिएर पूर्वाधार बनाउँछौं। कृषिमा यान्त्रिकीकरण, मल कारखाना स्थापना गरेर आत्मनिर्भर बनाउँछौं। विदेशमा बसेका नेपालीको सीप–पुँजी भित्र्याउन वंशजको नागरिकता निरन्तरता र लगानी सहज बनाउँछौं। सूचना प्रविधि र निजी क्षेत्रलाई प्रोत्साहन दिन्छौं।

जेन्जी आन्दोलनपछि मतदातालाई उम्मेदवार छनोट गर्न गाह्रो भएको छ। राप्रपा किन फरक छ ? मत किन हाल्ने ?

-हामी फरक छौं। भ्रष्टाचार व्यक्ति मात्र होइन, निर्वाचन प्रणाली, संविधान र नियुक्ति प्रणालीबाट हुन्छ। खर्च गरेर जित्ने, लगानी उठाउन भ्रष्टाचार गर्ने चक्र चलिरहेको छ। अख्तियार र अदालत पनि नेताले नियुक्त गरेका हुन्छन्। हामीले निर्वाचन प्रणाली सुधार, नियुक्तिमा सुधार र संवैधानिक व्यवस्था परिवर्तनको स्पष्ट मार्गचित्र ल्याएका छौं। भ्रष्टाचारविरोधी परीक्षामा खरो उत्रिएका र व्यवस्था परिवर्तनको योजना भएकालाई मत दिनुपर्छ। फेसबुक, टिकटक हेरेर अल्मलिनुहुँदैन।

विगतमा एमालेसँग गठबन्धन गरेर चुनाव लड्नुभयो, यसपटक एक्लै हुनुहुन्छ । कस्तो महसुस भइरहेको छ ?

-अघिल्ला दुवै चुनावमा गठबन्धन थियो, तर विपक्षी पनि गठबन्धनमा थियो। यसपटक सबै एक्लै छन्। मलाई एकदम सहज र कम्फर्टेबल लागिरहेको छ। २०७९ पछि नै राप्रपाले एकल चुनाव लड्ने घोषणा गरेकाे थियाे । मैले आफैं क्षेत्रमा कसैसँग तालमेल नगर्ने भनेको थिएँ । दुई कार्यकाल प्रतिनिधित्व गरेपछि जनतासँग जोडिएको छु। अब जनतासँग गठबन्धन छ, कुनै दलसँग होइन। चुनाव जित्न कठिनाइ छैन।

सांसदको काम नीति निर्माण हो, तर जनताले पूर्वाधारदेखि साना कुरासम्म अपेक्षा गर्छन् नि ?

-ठीक भन्नुभयो। सांसदको सीमा छ, तर जनताको अपेक्षा ठूलो छ। अस्पताल, डाक्टर, एम्बुलेन्सदेखि शिक्षा–स्वास्थ्यसम्म सबैमा साथ दिन्छु भन्ने अपेक्षा हुन्छ। मैले निर्वाचन क्षेत्रमा पूर्वाधारदेखि निजी जीवनका साना कुरामा पनि साथ दिएको छु, विश्वास जितेको छु। व्यवस्था सुधार भएपछि सेवा सहज हुन्छ, चिनेकै मान्छे चाहिँदैन।

चुनाव हुन्छ भन्नेमा कतिकाे ढुक्क हुनुहुन्छ ?

-चुनाव हुन्छ । तर यो समस्याको समाधान होइन। चुनावअघि सबै शक्तिको गोलमेज सम्मेलन गरी मौलिक व्यवस्था बनाउनुपर्थ्याे । चुनावले समस्या पर धकेल्छ, जटिल बनाउँछ ।

ओलीजीसँग भेटघाट र सहकार्यको सम्भावना छ ?

-पृथ्वी जयन्तीमा भेट भएको थियो। तालमेलको कुरा भएन। हामीले तालमेल नगर्ने भनेका छौं । सहकार्य राजा ल्याउनका लागि होइन, चुनावी थियो। राजा देशको साझा अभिभावकीय संस्था हो, सबैको हो।

राजाको स्वागतमा निषेधाज्ञा लगाइयो, तपाईंले चेतावनी दिनुभयो नि ?

-निषेधाज्ञा चुनाव बिथोल्न खोजेको जस्तो लाग्यो, त्यसैले चेतावनी दिएको हो । पछि सुधार भयो, कार्यक्रम शान्तिपूर्ण भयो । सरकारले सुझबुझपूर्ण ह्यान्डल गर्यो ।

राजा कहिले–कहिले मात्र देखिन्छन् भन्ने आरोप छ नि ?

राजसंस्थाको लोकप्रियता बढिरहेको छ । यसको रणनीतिक महत्व छ । राप्रपाको मात्र होइन, राष्ट्र संस्था पक्षधर सबैको हो । राजा देशको साझा हुन् ।

Skip This
Skip This
Logo