झापा। मेचीनगर–१ तिरिङकी सविता पुरी चुनाव नजिकिए पनि खेतमा पाकेको तोरीबाली भित्र्याउन व्यस्त छन् । अन्य बाली हात्तीले नोक्सान गर्ने भएपछि विकल्पका रूपमा तोरीखेती रोजिएको हो । हात्तीले नखाने भएकाले गाउँका पाखोबारीमा अन्नभन्दा बढी तोरीखेती बढेको छ ।
भारतसँग सीमा जोडिएको तिरिङ मात्र होइन, मेचीनगर–१, २, ३ र ४ सम्म फैलिएको बाहुनडाँगीका स्थानीयको चार दशकदेखिको मुख्य समस्या जङ्गली हात्तीबाट जिउज्यान र बाली जोगाउने रहेको छ । अन्नबाली, फलफूल र तरकारी जोगाउन कठिन भएपछि यहाँका बासिन्दाले तोरीखेतीलाई विकल्पका रूपमा अपनाएका छन् ।
प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकिएसँगै उम्मेदवार घरदैलोमा पुग्न थालेका छन् । मेचीनगरका १, २, ३ र ४ नं वडा साविक बाहुनडाँगी गाविसअन्तर्गत पर्थे । यहाँका २२ हजारभन्दा बढी मतदाता हात्तीको समस्या समाधान गर्ने उम्मेदवारलाई मत दिने बताइरहेका छन् ।
स्थानीय सविता पुरीका अनुसार उम्मेदवारहरू घरदैलोमा आउन थालेका छन् । हात्तीको समस्या समाधान गर्ने स्पष्ट योजना दिने उम्मेदवारलाई मत दिने निर्णय गरिएको छ ।
पटकपटक निर्वाचन र सरकार परिवर्तन भए पनि हात्तीको समस्या समाधान हुन नसकेको स्थानीयको भनाइ छ । भारतबाट मेची नदी पार गरेर आउने हात्ती रोक्न विद्युतीय तारबार लगाइएको भए पनि त्यसले प्रभावकारी रूपमा काम गर्न सकेको छैन । हात्तीले तारबार भत्काएर गाउँ प्रवेश गर्ने घटना भइरहेका छन् ।
कक्षा १२ मा अध्ययनरत युवा मतदाता प्रवेश पुरीले उम्मेदवारसँग हात्तीको समस्या समाधानका लागि दीर्घकालीन योजना माग्ने गरिएको बताएका छन् ।
झापा–१ मा राजनीतिक दलका १३ र स्वतन्त्र दुई गरी १५ उम्मेदवार प्रतिस्पर्धामा छन् । यहाँ एक लाख ३१ हजार ६७ मतदाता छन्, जसमा १० हजार ६९२ नयाँ मतदाता थपिएका छन् । मेचीनगरका १५, बुद्धशान्तिका चार र भद्रपुरका दुई वडा समेटिएको यस क्षेत्रमा ४३ मतदानस्थल र १४५ मतदान केन्द्र तोकिएका छन् ।
झापा–१ मा हात्तीको समस्या सबैजसो क्षेत्रमा रहेको छ । निर्वाचन नजिकिँदै जाँदा मतदाता समस्या समाधान गर्ने स्पष्ट र कार्यान्वयनयोग्य योजना पर्खिरहेका छन् ।
झापा–१ मा हात्तीको समस्या सबैजसो क्षेत्रमा रहेको छ । निर्वाचन नजिकिँदै जाँदा मतदाता समस्या समाधान गर्ने स्पष्ट र कार्यान्वयनयोग्य योजना पर्खिरहेका छन् ।































प्रतिक्रिया