काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेशमा आन्तरिक विवाद चर्किरहेका बेला संस्थापक सभापति ममता शर्माले पार्टी परित्याग गरेकी छन् । रास्वपाबाट देशले निकास नपाउने भन्दै उनले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएकी हुन् ।
केन्द्रीय महिला तथा सामाजिक विकास विभागकी सदस्यसमेत रहेकी शर्माले विज्ञप्ति जारी गर्दै पार्टीभित्र इमानदार व्यक्तिको मूल्यांकन नभएको र आर्थिक अनियमितताले निर्णय प्रभावित भएको आरोप लगाएकी छन् ।
उनले पार्टीका गतिविधिले आफ्नो आत्मसम्मान र राजनीतिक मूल्यमा असर परेको उल्लेख गर्दै त्यस्ता गतिविधिको साक्षी बसेर बस्न नसक्ने अवस्था बनेपछि राजीनामा दिएको बताएकी छन् ।
रास्वपाले मधेश प्रदेशमा संगठन सुदृढ गर्ने प्रयास गरिरहेका बेला संस्थापक तहकै नेतृले पार्टी छोडेपछि संगठनभित्र असन्तुष्टि गहिरिएको छ । उनको राजीनामा संगै रास्वपा मधेशका सयौँ नेता कार्यकर्ताहरु विचलित भएका छन् ।
यसअघि पनि टिकट वितरणका क्रममा आर्थिक चलखेल भएको आरोप लगाउँदै केही नेताहरूले पार्टी परित्याग गरेका थिए । पछिल्लो राजीनामाले मधेश प्रदेशमा रास्वपाको आन्तरिक अवस्था र नेतृत्वमाथिको विश्वासबारे बहस सुरु भएको छ ।































प्रतिक्रिया