काठमाडौं । आज प्रजातन्त्र दिवस। महान् सहिदहरूको बलिदानीपूर्ण संघर्षको वलमा २००७ साल फागुन ७ गते नेपालमा प्रजान्त्र स्थापना भएको थियो ।
सहिद दशरथ चन्द, धर्मभक्त माथेमा, गंगाला श्रेष्ठ र शुक्रराज शास्त्रीले हाँसी हाँसी आफ्नो जीवन उत्सर्ग गरेपछि जनक्रान्तिमार्फत निरङ्कुश राणा शासनको अन्त्य भएको दिनको सम्झना गर्दै हरेक वर्ष नेपालमा विविध कार्यक्रमसहित प्रजातन्त्र दिवस मनाइन्छ ।
प्रजातन्त्र दिवसको अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ। प्रजातन्त्र दिवसको अवसरमा आज देशैभरि सरकारी र गैरसरकारी निकायले विभिन्न कार्यक्रम गर्दैछन् । प्रजातन्त्र दिवसका अवसरमा मूल समारोह समितिले आज बिहान सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम गर्दैछ ।
नेपालको इतिहासमा जहानियाँ राणा शासनको अन्त्य भई प्रजातन्त्रको प्रादूर्भाव भएको गौरवपूर्ण र अविस्मरणीय दिनका रूपमा फागुन ७ गतेलाई लिने गरिएको छ । विसं २००७ को क्रान्ति सफल भएर निरङ्कुशताविरुद्ध बलिदानीपूर्ण सङ्घर्षको परिणामस्वरूप मानवअधिकार तथा नागरिक स्वतन्त्रता हासिल गरेको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मानस्वरूप प्रत्येक वर्ष फागुन ७ मा प्रजातन्त्र दिवस मनाइन्छ।





























प्रतिक्रिया