स्वच्छ,निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुन्छ : गृहमन्त्री अर्याल

स्वच्छ,निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुन्छ : गृहमन्त्री अर्याल

सामाजिक सञ्जालमा फैलाइने गलत र भ्रामक सूचनाबाट सचेत रहन आग्रह

केन्द्रबिन्दु
9
Shares

काठमाडौं। गृहमन्त्री ओमप्रकाश अर्यालले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने बताएका छन्।

आज काठमाडौँ र मकवानपुरका विभिन्न मतदान केन्द्रको निरीक्षण तथा अनुगमनका क्रममा गृहमन्त्री अर्यालले निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सबै पक्षको सहयोग आवश्यक रहेको बताएका छन्। उनले निर्वाचनलाई शान्तिपूर्ण बनाउन नागरिकको सक्रियता आवश्यक रहेको उल्लेख गरेका छन्।

सरकारका प्रवक्ता समेत रहेका गृहमन्त्री अर्यालले सामाजिक सञ्जालमा फैलाइने गलत र भ्रामक सूचनाबाट सचेत रहन सम्बन्धित पक्षलाई आग्रह गरेका छन्। निर्वाचनको तयारी र सुरक्षा व्यवस्थापनसम्बन्धी अनुगमनमा गृह सचिव राजकुमार श्रेष्ठ, सुरक्षा समन्वय महाशाखा प्रमुख आनन्द काफ्ले, काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल, काठमाडौँ प्रहरी प्रमुख रमेश थापा लगायत सहभागी थिए।

मन्त्री अर्यालसहितको टोलीले दक्षिणकाली नगरपालिका–९ फर्पिङस्थित सेतीदेवी माविको मतदान केन्द्र निरीक्षण गरेको थियो। टोलीले कीर्तिपुरस्थित सशस्त्र प्रहरीबलको दङ्गा नियन्त्रण रेजिमेन्ट गणको अनुगमन गरी सुरक्षा अवस्थाबारे जानकारी लिएको थियो।

यस्तै, गृहमन्त्री अर्यालले मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–१८ को मतदान केन्द्रको पनि अनुगमन गरेका छन्। सो क्रममा जिल्ला सुरक्षा समितिका पदाधिकारी तथा गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनीसँग निर्वाचन सुरक्षा सम्बन्धी छलफल भएको थियो।

त्यसैगरी टोलीले इन्द्रसरोवरस्थित प्रहरी चौकी निरीक्षण गरी जिल्लाको सुरक्षा अवस्थाबारे जानकारी लिएको थियो। काठमाडौँ र मकवानपुरका सुरक्षा निकायका प्रमुख सहभागी संयुक्त टोलीले मतदान केन्द्र, सीमा क्षेत्र र सुरक्षाकर्मी परिचालनको अवस्थाबारे जानकारी लिँदै आवश्यक निर्देशन दिएको थियो।

Skip This
Skip This
Logo