रुपन्देहीमा निर्वाचन आचारसंहिता पालनाका लागि चार बुँदे आचरण जारी

रुपन्देहीमा निर्वाचन आचारसंहिता पालनाका लागि चार बुँदे आचरण जारी

केन्द्रबिन्दु
12
Shares

लुम्बिनी। प्रतिनिधिसभा निर्वाचन स्वच्छ, निष्पक्ष, पारदर्शी, मितव्ययी र भयरहित बनाउन रुपन्देहीमा निर्वाचन आचारसंहिता अनुगमन समितिले चार बुँदे आचरणसहित सार्वजनिक सूचना जारी गरेको छ।

निर्वाचन आचारसंहिता अनुगमन अधिकृत सहायक प्रमुख जिल्ला अधिकारी मातृका आचार्य र प्रमुख कोष नियन्त्रक विष्णुप्रसाद खनालले राजनीतिक दल, उम्मेदवार, दलका भ्रातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिहरूका लागि आचारसंहिता कार्यान्वयनका लागि सूचना जारी गरिएको जानकारी दिए।

सूचनामा जुलुस, आमसभा, कोणसभा, घरदैलो वा अन्य प्रचारकार्य गर्दा पालना गर्नुपर्ने २५ बुँदे आचरण तोकिएको छ। बालबालिकाको प्रयोग रोक, ज्येष्ठ नागरिक, महिला, अपाङ्गता भएका र अल्पसङ्ख्यक समूहको सम्मानमा ध्यान, घरदैलोमा २५ जनाभन्दा बढीको जुलुसमा बाजागाजा र झाँकीमा प्रतिबन्ध, धर्म र साम्प्रदायिक विद्वेष फैलाउन नपाउने लगायतका नियम स्पष्ट पारिएका छन्।

सवारीसाधन प्रयोग, हेलिकप्टर सेवा, खर्च व्यवस्थापन र बैंकमार्फत आर्थिक लेनदेनका मापदण्ड पनि आचारसंहितामा तोकिएको छ। टेलिभिजन, रेडियो र अनलाइन सञ्चारमाध्यममा प्रचारप्रसार गर्दा निर्धारण मापदण्ड पालना अनिवार्य छ।

अनुगमन समितिले आचारसंहिता उल्लङ्घन भएमा निर्वाचन आयोग ऐन, २०७३ बमोजिम रु एक लाखसम्म जरिवाना वा उम्मेदवारी रद्द हुने सम्भावना रहेको जनाएको छ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन सबै राजनीतिक दल, उम्मेदवार, भ्रातृ सङ्गठन, मतदाता र सञ्चारकर्मीहरूलाई आचारसंहिता पूर्ण रूपमा पालन गर्न अनुरोध गरिएको छ। उजुरीका लागि सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालय, अनुगमन समिति, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र सामाजिक तथा विद्युतीय माध्यम प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ।

Logo