काठमाडौं। गण्डकी प्रदेशमा पर्ने हिमाल पारीका जिल्ला मनाङ र मुस्ताङमा आगामी २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी तिव्र रुपमा अगाडि बढाईएको छ । एकमात्रै चुनावी क्षेत्र भएको मुस्ताङमा ८ जना र एक मात्र निर्वाचन क्षेत्र भएको मनाङमा जम्मा ३ जना चुनावी मैदानमा रहेका छन् ।
प्रतिकुल मौसमका कारण निर्वाचन तयारीमा समस्या परेको छ भने कतै निर्वाचन केन्द्र र मतदान स्थलनै हिमपातले सेताम्मे बनेका छन्। हिमाली जिल्ला भएकाले मतदान स्थलसम्म मतदान गर्न जान मतदातालाई घण्टौँ लाग्ने स्थलमा केन्द्र र स्थलहरु कायम हुँदा कसरी मतदान गर्न जाने भन्ने पिरलो मतदातामा परेको छ । स्वच्छ निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नका लागि जिल्ला प्रशासन कार्यलय, जिल्ला निर्वाचन कार्यालय, सुरक्षा निकाय र संम्बन्धित सरोकारवाला निकायहरु निर्वाचनको तयारीमा अग्रसर भइरहेका छन् ।
यस्तै प्रतिस्पर्धामा रहेका दल,उम्मेदवारहरु उत्साहका साथ जित आफ्नो पोल्टामा पार्न चुनावी अभियान र घरदैलोमा विभिन्न कार्यक्रम मतदाता भेटघाट सहित रस्साकस्सी गरिरहेका छन् ।
मुस्ताङमा मुख्य दलबीच ८ उम्मेदवारको प्रतिस्पर्धा
गण्डकी प्रदेशको एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र हिमाल पारिको जिल्ला मुस्ताङमा यसपटक मुख्य राजनीतिक दल, उदाउँदा वैकल्पिक शक्ति र साना दलबीच त्रिकोणात्मकभन्दा फराकिलो प्रतिस्पर्धा देखिएको छ । भौगोलिक रूपमा संवेदनशील र रणनीतिक महत्व बोकेको मुस्ताङमा ८ जना उम्मेदवार चुनावी मैदानमा उत्रिँदा परिणाम कसको पोल्टामा जाने भन्ने चासो बढेको छ ।
यहाँ नेकपा एमालेका इन्द्रधारा डादु विष्ट (सूर्य) र नेपाली काँग्रेसका योगेश गौचन थकाली (रुख) मुख्य प्रतिस्पर्धीका रूपमा देखिन्छन्। यस्तै, नेपाल कम्युनिस्ट पार्टीका ङुटुक गुरुङ (पाँचकुने तारा) र राष्ट्रिय स्वतन्त्र पार्टीका अधितीय चन्द्र थकाली (घण्टी) ले वैकल्पिक राजनीतिक एजेन्डासहित मतदाताको ध्यान तान्ने प्रयास गरिरहेका छन्।
त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीकी कमला लालचन (हलो), मंगोल नेशनल अर्गनाइजेसनका यम बहादुर गुरुङ (कुखुराको भाले), उज्यालो नेपाल पार्टीका सुरेन्द्र शेरचन (बलिरहेको बिजुलीको चिम) र आम जनता पार्टीका अजय बि.क. (मोबाइल) पनि आफ्ना छुट्टै आधार र मुद्दासहित प्रतिस्पर्धामा छन्।
सबै उम्मेदवारले स्थानीय पूर्वाधार विकास, पर्यटन प्रवद्र्धन, शिक्षा–स्वास्थ्य सेवा सुदृढीकरण, रोजगारी सिर्जना र सामाजिक न्यायलाई प्रमुख चुनावी एजेन्डा बनाएका छन्। प्रशासन र सुरक्षा निकायले निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र पारदर्शी बनाउन विशेष सतर्कता अपनाएको जनाएको छ ।
निर्वाचनका लागि मुस्ताङमा चुनावी तयारी तीव्र रूपमा चलिरहेको छ। जिल्लामा कुल ११,३२८ मतदाता कायम छन् भने ३९ मतदान केन्द्र÷स्थल राखिएका छन्। यी केन्द्र जिल्लाका पाँच स्थानीय तह – जोमसोम नगरपालिका, घासा, थासाङ, बारागुङ मुक्तिक्षेत्र र लोमान्थाङमा वितरण गरिएको छ ।
मतदाता संख्या अनुसार सबैभन्दा कम मतदाता समर आधारभूत विद्यालय (बारागुङ मुक्तिक्षेत्र–३) मा ३६ रहेका छन् भने जोमसोमको जनहित मतदान केन्द्रमा ६८९ मतदाता रहेका छन्। ५०० भन्दा बढी मतदाता भएका केन्द्र ८ वटा छन् भने ५०० भन्दा कम ३१ वटा छन्। जिल्लामा एक अस्थायी मतदान केन्द्र जिल्ला कारागार शाखामा पनि राखिएको छ।
निर्वाचन अधिकृतका अनुसार २४० कर्मचारी (प्रति स्थल ६ जना) र ८६ स्वयंसेवक परिचालन हुनेछन्। मतदान सामग्री, मतपेटिका र सुरक्षाकर्मी परिचालनको तयारी भइरहेको छ। माथिल्लो मुस्ताङका मतदान स्थलहरु सदरमुकाम जोमसोमबाट करिब १०० किमी टाढा रहेका छन् र त्यहाँ पुग्न ६–७ घण्टा लाग्ने अनुमान छ ।
हिमपातको सम्भावना भएपनि पूर्व तयारी थालिएको छ । साथै मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरी बदर मत घटाउने प्रयास पनि जारी छ।
मुस्ताङ निर्वाचन तयारी पूर्ण रूपमा पूरा भइसकेको र सबै मतदान केन्द्रमा प्रक्रिया सहज बनाउन व्यवस्थापन भएको अधिकारीहरूले जानकारी दिएका छन्।
मनाङमा त्रिपक्षीय प्रतिस्पर्धा
गण्डकी प्रदेशमा मनाङ १ मात्र निर्वाचन क्षेत्र भएको जिल्ला हो । यस निर्वाचन क्षेत्रमा यसपटक प्रतिनिधि सभा चुनावी भिडन्त मुख्य रूपमा तीन प्रमुख दल र स्वतन्त्र उम्मेदवारबीच त्रिपक्षीय रूपमा देखिएको छ । सवैभन्दा थोरै मतदाता रहेको यस निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका टेक बहादुर गुरुङ,नेपाल कम्युनिष्ट पार्टी नेकपाका यशोदा गुरुङ (सुवेदी), र मंगोल नेशनल अर्गनाइजेसनका राम बहादुर घले चुनावी प्रतिस्पर्धामा रहेका छन् ।
दिपक मनाङेले बारम्बार जित्दै आएको यो क्षेत्रमा नेपाली काँग्रेस लाई एमालेले समर्थन गरेको छ । मनाङे यसपाली गोरखा पुगेका छन् । यहाँ नेपाली काँग्रेस र नेकपाबीचको प्रतिस्पर्धा कडा हुने देखिन्छ । मंगोल नेशनल अर्गनाइजेसनको उम्मेदवारले क्षेत्रीय पहिचान र स्थानीय मुद्दामा बल राख्दै मत विभाजनमा भूमिका खेल्ने सम्भावना छ ।
उम्मेदवारहरु निर्वाचन क्षेत्रमा जित हाँसिलका लागि लागिपरेका छन् । प्रशासन र सुरक्षा निकायले निर्वाचनको निष्पक्षता र पारदर्शिता सुनिश्चित गर्न सक्रिय भूमिका निर्वाह गर्दैछन्।
यस जिल्लामा मतदान तयारी अन्तिम चरणमा पुगेको छ । जिल्लामा कुल ७,००० मतदाता कायम छन्, जसमा पुरुष ३,३७७ र महिला ३,६२३ रहेका छन्। मनाङ देशकै सबैभन्दा कम मतदाता भएको जिल्ला हो।
जिल्लामा २९ मतदान केन्द्र÷स्थल राखिएका छन्। चार गाउँपालिका – चामे, नासोँ, नार्पाभूमि र मनाङ डिसानमा यी केन्द्र वितरण भएका छन्। नार्पाभूमि जस्ता विकट क्षेत्रमा केही केन्द्रमा मतदाता संख्या कम छ ।
मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार १७१ जना कर्मचारी र प्रत्येक मतदान केन्द्रमा २ जना स्वयंसेवक परिचालन हुनेछन्। मतदान सामग्री, कर्मचारी र सुरक्षाकर्मी परिचालनको तयारी अन्तिम चरणमा छ ।
हिमाली जिल्ला भएकाले मतपेटिका ढुवानी, अनुगमन र मतदानमा मौसमका कारण चुनौतीहरू देखिएका छन्। नार्पाभूमिका केही केन्द्रमा हिउँ वा अत्यधिक चिसोले मतदान प्रभावित हुन सक्ने देखिएको छ । आवश्यक परेमा केही केन्द्र अस्थायी रूपमा सदरमुकाम चामेमा सार्ने तयारी गरिएको छ ।
सुरक्षा व्यवस्था सामान्य छ । मतदाता शिक्षा र प्रचारप्रसार कार्यक्रम सञ्चालन गरी मतदान सहभागिता बढाउने प्रयास भइरहेको छ । यद्दपि मनाङ र मुस्ताङ दुवै जिल्लाका मतदानस्थलमा हिउँ पर्ने भएकाले निर्वाचनमा समस्या आउने देखिएको छ ।
विगतको निर्वाचनमा मनाङ र मुस्ताङ
२०७९ को निर्वाचनमा नेपाली काँग्रेसका योगेश गौचन थकाली ले ३,९९२ मत ल्याएर विजयी भएका थिए ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रेम प्रसाद तुलाचन ३,०७८ मत प्राप्त गरेको थिए भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का
सुदेश गुरुङले ८७ र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका प्रविण कुमार शेरचन १३ मत प्राप्त गरेका थिए ।
यस्तै मनाङमा नेपाली काँग्रेसका टेक बहादुर गुरुङले २५७५ मत सहित विजयी भएका थिए। यस्तै नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पोल्देन छोपाङ गुरुङ्गले २२४७ र राष्ट्रिय स्वतन्त्र पार्टीका मुख्या गुरुङले ५१ मत प्राप्त गरेका थिए ।
मुस्ताङमा नमुना मतदान र संयुक्त सुरक्षा अभ्यास सम्पन्न
निर्वाचन २०८२ लाई शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गर्न मुस्ताङमा ‘नमुना मतदान’ र संयुक्त निर्वाचन सुरक्षा अभ्यास सम्पन्न भएको छ । अभ्यास घरपझोङ गाउँपालिका–४ स्थित जिल्ला खेलकुद विकास कार्यालयको मैदानमा मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला सुरक्षा समिति र जिल्ला निर्वाचन कार्यालयको संयोजनमा सम्पन्न भएको हो ।
मुख्य जिल्ला अधिकारी अजिता शर्माका अनुसार अभ्यासले मतदानस्थलमा मतदातालाई भयरहित र विश्वसनीय वातावरणमा मतदानको सुनिश्चितता गर्न सहयोग गर्ने उद्देश्य राखेको छ।
जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीका अनुसार अभ्यासमा प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत नमुना मतदान गरियो। मतदानका दिन संभावित समस्याहरू जस्तै मतदान बिथोल्ने प्रयास, मतदानस्थलमा भिडभाड, मतपत्र च्यातिने अवस्था आदिमा तीन तहको सुरक्षा घेराभित्र नियन्त्रण अभ्यास गरिएको थियो।
अभ्यासमा मुख्य निर्वाचन अधिकृत विद्याराज पौडेल, नायब उपरीक्षक छिरिङ कृप्पा लामा, इन्द्रबक्स गणका प्रमुख सेनानी गौरवध्वज खाँण ठकुरी, सशस्त्र प्रहरी बलका नायब उपरीक्षक भेषराज गिरी र राष्ट्रिय अनुसन्धान प्रमुख विष्णुहरी पण्डित लगायत सहभागी थिए।
जिल्ला प्रशासन र सुरक्षा निकायहरूले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने तयारी तीव्र बनाएका छन्।
प्रतिकुल मौसमका बावजुत निर्वाचन तयारी तिव्र
निर्वाचन नजिकिँदै गर्दा हिमाली जिल्ला मनाङको नार्पाभूमि गाउँपालिकास्थित मतदान केन्द्रको अनुगमनमा समस्या आएको थियो। दुर्गम भौगोलिक अवस्था, चिसो र हिमपातका कारण निर्वाचन तयारी प्रभावित भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
नार्पाभूमि गाउँपालिकामा पाँच मतदान केन्द्र छन् । वडा नं. १–३ मा तीन, वडा नं. ४–५ मा दुई केन्द्र छन्। सदरमुकाम चामेबाट यी केन्द्र पुग्न पैदल दुई दिन लाग्छ। यहाँ कुल मतदाता ४८८ जना रहेका छन्। सबैभन्दा कम मतदाता फू आधारभूत विद्यालय भवन केन्द्रमा ७८, वडा नं. ४ स्थित फू केन्द्रमा ८८, वडा नं. १ नारमा ९९, चामे वडा नं. ५ मा ९७ जना छन्।
माथिल्लो मनाङ ङिस्याङ गाउँपालिकाका नौवटै मतदान केन्द्रको अनुगमन भने सकिएको छ । नार्पाभूमिका केन्द्रमा हिमपात र सडक अवरुद्धका कारण अनुगमन हुन ढिलाई भएको जनाइएको छ। मौसम प्रतिकूल रहँदा मतदान केन्द्र अस्थायी रूपमा सदरमुकाम सार्ने सम्भावना पनि छलफलमा रहेको छ । निर्वाचन कार्यलयले जनाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार मतदान केन्द्र र आसपासका क्षेत्रमा हिमपातले सेताम्मे हुने गरेका छन्, सडक पहुँच नपुगेका कारण निर्वाचन सामग्री ढुवानी र कर्मचारीको अनुगमनमा चुनौती खेप्नुपरेको पौडेलको भनाई छ । निर्वाचन सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गर्न जिल्ला निर्वाचन आयोग,सुरक्षा निकाय र सम्वन्धित सरोकारवालाहरुले तयारी तीव्र पारेका छन् ।































प्रतिक्रिया