झापा । झापा क्षेत्र नम्बर ५ को चुनावी मैदान यसपटक केवल राजनीतिक प्रतिस्पर्धा मात्र नभएर अस्तित्वको लडाइँ बनेको छ । उम्मेदवारी दर्ताको सुरुवाती दिनहरूमा यो क्षेत्रमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बालेन्द्र (बालेन) शाहबीच मात्रै मुख्य टक्कर हुने आंकलन गरिएको थियो । तर, प्रचार अभियान अन्तिम चरणमा पुग्दै गर्दा र दमकमा भएको ‘पब्लिक डिबेट’ पछि यहाँको दृश्य फेरिएको छ । दुई ‘हेभीवेट’ उम्मेदवार दबाबमा पर्दा नेपाल कम्युनिस्ट पार्टीका युवा उम्मेदवार रञ्जित तामाङ भने मतदाताको नयाँ भरोसाका रूपमा उदाएका छन् ।
पब्लिक डिबेट : जहाँबाट ओली रक्षात्मक र तामाङ आक्रामक बने
गत साता दमकमा पत्रकार विजय पौडेलले सञ्चालन गरेको सार्वजनिक बहस झापा ५ को चुनावी इतिहासमा एउटा ‘टर्निङ प्वाइन्ट’ सावित भएको छ । सो बहसमा एमाले अध्यक्ष ओली उपस्थित भए पनि रास्वपाका बालेन शाह अनुपस्थित रहे । बहसमा नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार रञ्जित तामाङले उठाएका तथ्यपरक प्रश्नहरूले ओलीलाई निकै रक्षात्मक बनायो ।तामाङले खासगरी भदौ २३ र २४ को ‘जेन–जी आन्दोलन’ मा भएको दमन र मानवीय क्षतिको नैतिक जिम्मेवारी ओलीले लिनुपर्ने अडान राखे ।
ओलीले थप मानवीय क्षति नहोस् भनेर आफू ‘ठाउँ सरेको’ (राजीनामा दिएको) जिकिर गरे पनि तामाङले त्यसलाई ‘मैदान छोडेर भागेको’ रूपमा व्याख्या गरे, जसलाई हलमा उपस्थित सहभागीले ताली बजाएर समर्थन गरे ।
त्यति मात्र होइन, तामाङले ओलीको विकास मोडलमाथि नै कडा प्रहार गरे । “भ्युटावरको नजिकै मोबाइल टावर छैन, नागरिकले सञ्चार सेवा पाएका छैनन् । विद्यालयका भवन छन् तर विद्यार्थी छैनन् । किसानले मल र बिउ पाएका छैनन्,” तामाङले प्रश्न गरे, “अध्यक्षज्यू, तपाईँलाई थाहा छ– अहिले किसानले उत्पादन गरेको धानको बजार मूल्य कति छ ?” ओलीले यसको जवाफ ‘थाहा छैन’ भन्नुपर्दा उनी किसान विरोधी रहेको सन्देश क्षेत्रभरि फैलियो ।
बालेनको अनुपस्थिति र ‘राजाको सवारी’ जस्तै छवि
सुरुमा ‘ओलीको विकल्प बालेन मात्र हुन्’ भन्ने भाष्य निर्माण भएको थियो । तर, दमकको बहसमा अनुपस्थित भएपछि बालेनप्रति मतदाताको धारणा बदलिएको देखिन्छ । मतदाताहरूले बालेनलाई स्थानीय मुद्दामा बहस गर्न डराएको र जनतासँग प्रत्यक्ष संवाद नगर्ने ‘सेलिब्रेटी’ उम्मेदवारका रूपमा बुझ्न थालेका छन् ।
कमल गाउँपालिका सितापुरीका युवा अशोक राईले तामाङसँगको भेटमा भने, “हामी त ओली हराउन बालेनलाई भोट हाल्ने मुडमा थियौँ । तर, बालेन त हामीसँग भेट्दै नभेट्ने, राजाको सवारी जस्तै हिँड्ने पात्र रहेछन् । तपाईँको प्रस्तुतिले हामीलाई कन्भिन्स गर्यो ।” बालेनले देशव्यापी चुनावी सभाहरू (धनगढी, सुर्खेत, दाङ) स्थगित गरेर झापामा केन्द्रित हुनुपर्ने अवस्था आउनुको मुख्य कारण नै तामाङले सिर्जना गरेको दबाब र खस्किँदै गएको आफ्नो पकड रहेको रास्वपाका नेताहरू स्वीकार गर्छन् ।
ओलीको अस्तित्वको लडाइँ : २०४८ पछिकै ठूलो दबाब
विगतमा मनोनयन दर्ता गरेपछि देश दौडाहामा निस्कने ओली यसपटक आफ्नै क्षेत्रमा सीमित भएका छन् । माघ ५ को मनोनयनपछि उनी चौथो पटक झापा झरेका छन् र निर्वाचनअघि काठमाडौँ नफर्कने योजनामा छन् । यो दबाब सन् २००८ (२०६४) को निर्वाचनमा माओवादीका विश्वदीप लिङ्देनसँग पराजित हुँदाको भन्दा पनि बढी रहेको स्थानीयको विश्लेषण छ ।
ओलीले आफ्नो पक्षमा माहोल बनाउन रामकुमारी झाँक्री लगायतका नेताहरूलाई तल्लो तहमा खटाएका छन् । एमालेले आफ्नो बिग्रिएको आधार ७० प्रतिशत सुधार गरेको दाबी गरे पनि कार्यकर्ता तहमा भने बालेन र तामाङको प्रभावले डर पैदा गरेको छ । ५९ वर्षीया मतदाता सामरानी राई भन्छिन्, “२०४८ सालदेखि भोट हाल्दै आएकी छु, तर ओलीलाई आफ्नो घरदैलोमा यसरी हिँडेको पहिलो पटक देख्दै छु ।”
बौद्धिक वर्ग र प्रवासी नेपालीको रोजाइमा तामाङ
रञ्जित तामाङको पक्षमा केवल स्थानीय युवा मात्र होइन, बौद्धिक वर्ग र प्रवासी नेपालीहरू पनि खुल्न थालेका छन् । झापा घर भई क्यानडामा रहेका पत्रकारिताका प्राध्यापक भानुभक्त आचार्यले सामाजिक सञ्जालमार्फत तामाङलाई ‘अब्बल उम्मेदवार’ को रूपमा चित्रण गरेका छन् । तामाङले चुनावी अभियानको क्रममा करिब १० हजार घरमा पुगेर स्थानीय समस्या (सिंचाई, मल, उत्पादनको बजार मूल्य) लाई आफ्नो एजेन्डा बनाएका छन्, जसले उनलाई अन्य ‘हाइप्रोफाइल’ उम्मेदवारभन्दा फरक र स्थानीय देखाएको छ । नेकपाका चुनाव प्रचार संयोजक सुरेन्द्र बस्नेत भन्छन्, “सुरुमा दुई उम्मेदवारको मात्र चर्चा थियो, तर रञ्जितजीले आफ्नो पहिचान स्थापित गरेपछि अब हामी चुनाव जित्ने अवस्थामा पुगिसकेका छौँ ।”
त्रिकोणात्मक भिडन्त र मतदाताको मनोविज्ञान
झापा ५ का मतदाताको एउटा ठूलो हिस्सामा ‘यसपटक ओलीलाई जसरी पनि हराउने’ मनोविज्ञान छ । यो ‘एन्टी–ओली’ मत सुरुमा बालेनतर्फ केन्द्रित थियो । तर, बालेनको गैर–जिम्मेवार व्यवहार र तामाङको तार्किक प्रस्तुतिका कारण त्यो मत अहिले बाँडिने देखिएको छ ।
ओली आफ्ना असन्तुष्ट कार्यकर्ता फकाएर पुरानै विरासत जोगाउन संघर्षरत छन् भने बालेन आफ्नो गुम्दै गरेको क्रेज बचाउन झापा ५ मा दौडधूप गरिरहेका छन् । यता, रञ्जित तामाङ भने ‘दुईखाले अतिवादलाई परास्त गरौँ, स्थानीय मुद्दा बुझेको युवालाई रोजौँ’ भन्ने नारासहित उत्साहित भएर चुनावी मैदानमा हाबी भएका छन् । यसले झापा ५ को नतिजा कसको पक्षमा जान्छ भन्न नसकिने गरी रोचक मोडमा पु-याएको छ ।































प्रतिक्रिया