काठमाडौँ । देशभर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को लहर आएको चर्चा परिचर्चा भइरहेको बेला निर्वाचनको मुखैमा संस्थापक नेताहरूले एकपछि अर्को गरी पार्टी छाड्ने क्रम तीव्र बनेको छ।
‘जान्नेलाई छान्ने’ र ‘सुशासन’ को नारा दिएर २०७९ सालको आमनिर्वाचनबाट उदाएको रास्वपा अहिले आफैँभित्र ठूलो विग्रहको भुमरीमा फसेको हो। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो पार्टी बन्ने दाबी गरिरहेकै बेला प्रभावशाली नेताहरूले नेतृत्वमाथि आर्थिक अपचलनको आरोप लगाउँदै धमाधम पार्टी छोड्न थालेका छन् । निर्वाचनको टिकट वितरणमा चरम आर्थिक चलखेल, अपारदर्शिता र स्वेच्छाचारिताको आरोप सार्वजनिक भएपछि वैकल्पिक राजनीतिको नैतिक धरातलमै प्रश्न उठ्न थालेको छ ।
चुनावको मुखमा पार्टीभित्र जन्मिएको यस्तो विग्रहले देशको पहिलो शक्ति बनेर सरकारको नेतृत्व गर्ने सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन साहको योजनामा धक्का लाग्नसक्ने विश्लेषण हुन थालेको छ ।
यसका साथै, पार्टी सभापति रवि लामिछानेमाथि लागेको सहकारी ठगीको आरोप र त्यसप्रति पार्टीले अपनाएको बचाउको शैलीले पनि धेरै बौद्धिक नेताहरूलाई नैतिक संकटमा पार्यो। “स्वच्छ राजनीति” को नारा दिएर आएको दल आफैँ आर्थिक विवादमा फसेपछि र नेतृत्वले त्यसको चित्तबुझ्दो जवाफ दिनुको सट्टा राजनीतिक प्रतिशोधको कार्ड मात्र खेलेपछि, सिद्धान्तनिष्ठ नेताहरू पार्टीमा बस्न नसक्ने अवस्थामा पुगे।
छोडेका अधिकांश नेताहरुले आर्थिक चलखेलको आरोप लगाए । नेताहरु रास्वापाका खम्बा जस्तै स्थापना काल देखि पार्टीमा सक्रिय भएर लागेका थिए । प्रणय शमशेर राणा ,ममता शर्मा ,उर्मिला कुमारी भुर्तेल ,दिनेश हुमागाई, जस्ता बरिष्ट नेताहरु चुनाबको बेला आरोप लगाउदै अरु पार्टीतिर होम्मिएका छन् । पार्टीभित्र मौलाएको गुटबन्दी, आर्थिक अपारदर्शिता र सत्ता केन्द्रित राजनीतिले गर्दा स्थापनाकालका खम्बाहरू नै बाहिरिन पुगेका हुन्।
डा. प्रणय शमशेर राणा
डा. प्रणय शमशेर राणा पार्टी स्थापनाको सुरुवाती चरण (२०७९ जेठ) देखि नै सक्रिय थिए। उनले रास्वपाको तर्फबाट २०७९ को प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रत्यक्षतर्फ उम्मेदवारी दिएका थिए। चुनावमा उनले ५,४७७ मत प्राप्त गरी तेस्रो स्थान हासिल गरेका थिए। सो क्षेत्रबाट नेपाली कांग्रेसका प्रदीप पौडेल विजयी भएका थिए।

उनी रास्वपाको काठमाडौं जिल्ला समितिको प्रभावशाली नेता र पार्टीको एक प्रबुद्ध सदस्यका रूपमा कार्यरत थिए। उनले पार्टीभित्र विशेष गरी नीति निर्माण, जनस्वास्थ्य र सुशासनका मुद्दाहरूमा आवाज उठाउने गर्दथे। करिब साढे तीन वर्ष पार्टीमा सक्रिय रहेका उनले पार्टीको संगठन विस्तार र चुनावी अभियानमा महत्त्वपूर्ण भूमिका खेलेका थिए। यद्यपि, पार्टीको कार्यशैली र आन्तरिक लोकतन्त्रप्रति असन्तुष्टि जनाउँदै उनले हालै २०८२ माघ २९ मा पार्टीको साधारण सदस्यता र सबै जिम्मेवारीबाट राजीनामा दिएका थिए ।
राणाले रास्वपा छोड्नुको मुख्य कारण पार्टीको कार्यशैली, वैचारिक स्पष्टताको अभाव र आन्तरिक लोकतन्त्रको क्षयीकरणलाई मानेका छन्। उनले विशेष गरी पार्टी स्थापनाको समयमा गरिएका वाचाहरू र पछि नेतृत्वले चालेका कदमहरूबीच ठूलो खाडल देखिएको भन्दै असन्तुष्टि जनाएका थिए। राणाले पार्टीभित्र “प्राइमरी इलेक्सन” (आन्तरिक निर्वाचन) को अवधारणालाई लत्याएर नेतृत्वले खल्तीबाट उम्मेदवार छान्ने प्रवृत्तिको कडा विरोध गरेका थिए। उनले रास्वपा एक “वैकल्पिक शक्ति” भनिए पनि व्यवहारमा पुराना राजनीतिक दलहरू जस्तै केन्द्रिकृत र व्यक्तिवादी बन्दै गएको आरोप लगाएका थिए।
ममता शर्मा
ममता शर्मा रास्वपामा स्थापनाकालदेखि नै सक्रिय नेतृ थिइन्। उनी रास्वपाको मधेश प्रदेश समितिकी संस्थापक सभापति थिइन्। मधेशमा पार्टीको संगठन विस्तारमा उनको महत्त्वपूर्ण भूमिका रहेको थियो। पार्टी त्याग गर्ने समयमा उनी रास्वपाको केन्द्रीय महिला तथा सामाजिक मामिला विभागको सदस्यका रूपमा कार्यरत थिइन्। ममता शर्माले फागुन ६ मा पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएकी हुन्।

उनले पार्टीका निर्णयहरू आर्थिक चलखेल र अनियमितताबाट प्रभावित हुने गरेको गम्भीर आरोप लगाएकी छन्। आगामी निर्वाचनका लागि प्रत्यक्षतर्फको टिकट वितरण गर्दा क्षमता र योगदानलाई भन्दा आर्थिक पक्ष र पहुँचलाई प्राथमिकता दिइएको उनको भनाइ छ। उनी सुरुमा समानुपातिकको आकांक्षी थिइन् र पछि प्रत्यक्षतर्फ टिकट नपाएपछि असन्तुष्ट बनेकी थिइन्।
पार्टीले “जान्नेलाई छान्ने” नारा लगाए पनि व्यवहारमा आफ्ना निकटका र दाग लागेका व्यक्तिहरूलाई काखी च्यापेको उनले आरोप लगाएकी छन्। रास्वपा छोडेको केही समयमै उनी जनकपुरमा आयोजित एक कार्यक्रमका बीच नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्।
उर्मिला कुमारी भुर्तेल
उर्मिला कुमारी भुर्तेल रास्वपामा पार्टी स्थापनाकाल देखि नै सक्रिय नेतृ थिइन्। उनले पार्टीको समानुपातिक उम्मेदवार (खस आर्य समूह) र पार्टीको केन्द्रीय सदस्यको रूपमा महत्त्वपूर्ण जिम्मेवारी सम्हालेकी थिइन्। २०७९ को निर्वाचनमा उनलाई रास्वपाले समानुपातिक सूचीको बन्दसूचीमा राखेको थियो, जसले गर्दा उनी पार्टीको प्रारम्भिक संगठन निर्माण र चुनावी प्रचारप्रसारमा देशभर सक्रिय थिइन्।

उनले पार्टी छोड्नुको मुख्य कारण पार्टीभित्रको आन्तरिक लोकतन्त्रको अभाव र नेतृत्वको कार्यशैलीलाई मानेकी छन्। भुर्तेलले पार्टी “जान्नेलाई छान्ने” र “समान अवसर” को नारामा मात्र सीमित भएको तर व्यवहारमा नेतृत्वले आफ्ना निकटका र सीमित व्यक्तिहरूलाई मात्र प्राथमिकता दिएको आरोप लगाएकी थिइन्।
विशेषगरी टिकट वितरण र पद बाँडफाँडमा पारदर्शिता नभएको र लामो समयदेखि खटिएका कार्यकर्ताको अवमूल्यन भएको भन्दै उनले असन्तुष्टि जनाइन्। पार्टीको नीति र सिद्धान्तभन्दा पनि व्यक्तिवादी हाबी भएको र महिला नेतृत्वलाई उचित स्थान नदिइएको महसुस गरेपछि उनले रास्वपाको साधारण सदस्यता समेत नरहने गरी राजीनामा दिएकी हुन्।
दिनेश हुमागाई
दिनेश हुमागाईँ पनि रास्वपामा स्थापनाकाल देखि नै सक्रिय नेता थिए। उनी पार्टीको बागमती प्रदेश उपसभापति पदमा रहेर कार्य गरिरहेका थिए। उनी रास्वपाको बागमती प्रदेश उपसभापति र एक प्रभावशाली संगठकका रूपमा चिनिन्थे। उनले रास्वपाको तर्फबाट २०७९ को प्रतिनिधि सभाको निर्वाचनमा काभ्रे–२ बाट प्रत्यक्षतर्फ उम्मेदवारी दिएका थिए। सो निर्वाचनमा उनले १०,५७३ मत प्राप्त गरेका थिए।

दिनेश हुमागाईँले फागुन ७ मा पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएका हुन्। आगामी निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियामा चरम आर्थिक लेनदेन भएको उनको आरोप छ। सदस्यता वितरण, केन्द्रीय संरचना विस्तार र आर्थिक व्यवस्थापनमा पार्टीभित्र पारदर्शिता नभएको उनले दाबी गरेका छन्।
योग्य र पुराना कार्यकर्तालाई पाखा लगाएर नेतृत्वको वरिपरि घुम्ने र चाकरी गर्नेहरूलाई मात्र प्राथमिकता दिइएको उनले उल्लेख गरेका छन्। वर्षौँदेखि खटिएका कार्यकर्तालाई छाडेर भर्खरै अन्य दलबाट आएका वा चटक देखाउने व्यक्तिहरूलाई स्वार्थका आधारमा उम्मेदवार बनाइएकोमा उनको कडा असन्तुष्टि थियो। उनले रास्वपाको हालको शैलीले भोलिको संसद् “विकृत र अवसरवादी संरचना” मा परिणत हुने चेतावनी समेत दिएका छन्।
मकवानपुरका सभापति भरत पराजुलीद्वारा पार्टी परित्याग
रास्वपा मकवानपुरका सभापति भरत पराजुलीले पार्टी परित्याग गरेका छन् । २०७९ मा मकवानपुर २ बाट उम्मेदवार बनेर १२ हजार मत ल्याएका पराजुली टिकट वितरणमा आर्थिक चलखेल भएको भन्दै असन्तुष्ट थिए । उनले कांग्रेस सभापति गगन थापा भेटेर पार्टी प्रवेश गर्दैछन्

धनगढी नगर सभापतिले दिए राजीनामा
राष्ट्रिय स्वतन्त्र पार्टीका धनगढी उपमहानगरपालिकाका संस्थापक नगर सभापति ईश्वरी बिष्टले पार्टी परित्यागको घोषणा गरेका छन्। उनले साधारण सदस्यबाट समेत अलग हुने गरी केन्द्रीय कार्यालय, काठमाडौंलाई सम्बोधन गर्दै राजीनामा पत्र बुझाएका छन्।

२०७९ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा कैलाली–५ बाट प्रत्यक्ष उम्मेदवार बनेका बिष्ट सुदूरपश्चिम प्रदेशमै रास्वपाका दोस्रो बढी मत प्राप्त गर्ने उम्मेदवार थिए। उनले उक्त निर्वाचनमा ३४०५ मत प्राप्त गरेका थिए। बिष्टले पार्टीले अघि सारेको युवा राजनीतिमा जान्नेलाई अवसर दिने, नातावाद–आशीर्वाद र आर्थिक प्रभावभन्दा माथि उठेर प्राइमरी प्रणालीबाट उम्मेदवार छनोट गर्ने मूल आदर्शबाट प्रभावित भएर आफू पार्टीमा आबद्ध भएको बताएका छन्।
तर पछिल्लो समय पार्टीले अवलम्बन गरेको पद्धति, निर्णय प्रक्रिया र कार्यशैली स्थापना कालीन मूल्य, विधान तथा सार्वजनिक प्रतिबद्धताभन्दा विपरीत गएको अनुभूति भएको उनको भनाइ छ। संगठनमा समर्पित नेता–कार्यकर्ताको उचित मूल्यांकन नभएको, विधि–विधान विपरीत गतिविधि बढेको र निर्णय प्रक्रियामा पारदर्शिता कमजोर बन्दै गएको अवस्थाले आफ्नो आत्मसम्मान र राजनीतिक मूल्यमाथि प्रश्न उठाएको उनले उल्लेख गरेका छन्।
बिष्ट कैलाली–५ मा पुन: प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्न आकांक्षी थिए। तर रास्वपाले उक्त क्षेत्रमा आनन्द बहादुर चन्दलाई उम्मेदवार बनाएपछि असन्तुष्ट बनेका बिष्टले स्वतन्त्र उम्मेदवारी दिएका थिए। अन्तत: मौन रहन नसक्ने निष्कर्षमा पुग्दै पार्टीबाट पूर्ण रूपमा अलग हुने निर्णय गरेको उनले बताएका छन्।
बाराका संगठन विभाग प्रमुख पवन चौधरीले पार्टी छाडेको घोषणा
रास्वपा बाराका संगठन विभाग प्रमुख पवन चौधरीले पार्टी छाडेको घोषणा गरेका छन् । प्रतिनिधिसभाको उम्मेदवारी चयनमा असन्तुष्ट रहेका चौधरी यसपटक पनि बारा क्षेत्र नं. ४ का आकाँक्षी थिए । उनी २०७९ सालको प्रतिनिधिसभामा पनि पार्टीका तर्फबाट उम्मेदवार रहेर पार्टी निर्माणमा सक्रिय थिए ।

चौधरीले यसपटक पनि रु. २५ हजार तिरेर आन्तरिक चुनाव (प्राइमरी इलेक्सन) मा सहभागी भएका थिए । पार्टीका जिल्ला सभापति चन्दन स्वर्णकारका अनुसार, अन्तिममा पार्टीले अर्कै व्यक्तिलाई टिकट दिएपछि पवन असन्तुष्ट भएका थिए ।
थारु समुदायको बाक्लो उपस्थिति रहेको बारा–४ मा पवनलाई उम्मेदवार नबनाउँदा त्यसको असर पार्टीभित्र पर्ने निश्चित रहेको बताइन्छ । यहीबिच उनी राष्ट्रिय एकता दलमा प्रवेश गरेका छन् । उनीमात्र होइन, पार्टीका जिल्लास्तरीय अन्य नेता तथा कार्यकर्ताले समेत पार्टी परित्याग गरेपछि पार्टी संकटमा परेको छ ।
यसअघि नै बारा क्षेत्र नम्बर-३ का उपसभापति रोशन अधिकारी, क्षेत्र नम्बर-४ का उपसभापति दिलीप पण्डित, परवानीपुर गाउँपालिका सभापति मनोज साह, देवताल गाउँपालिका सभापति कमरुद्दिन अन्सारी र महीढिमाई नगरपालिकाका सचिव प्रदिप गुप्ताले समेत पार्टी छाडेका छन्।
पार्टीका सभापति रवि लामिछानेमाथि एक पछि अर्को काण्ड थपिँदै जाँदा रास्वपामा राम्रो पहिचान बनाएका संस्थापक नेता सन्तोष परियार र सुमना श्रेष्ठले पनि केही समय अघि नै पार्टी छाडिसकेका छन् । जसमध्ये परियार अहिले प्रगतिशील लोकतान्त्रिक पार्टीको अध्यक्ष परिषद्को जिम्मेवारीमा छन्।
रास्वपाका सुस्ता गाउँपालिका, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का उपसभापति गुप्तसेन ठकुरी (मनोज) ले पनि पार्टी परित्याग गरेको छ । पार्टीको भनाइ र गराइमा फरक पारदर्शिता नदेखिएको र अवसरवादीको चंगुलमा पार्टी फस्दै गएको भन्दै उनले शनिबार पार्टी परित्याग गरेको घोषणा गरेको हो । पार्टीका सभापति रवि लामिछानेमाथि एकपछि अर्को काण्ड थपिँदै जाँदा रास्वपामा राम्रो पहिचान बनाएका संस्थापक नेता सन्तोष परियार र सुमना श्रेष्ठले पनि केही समयअघि नै पार्टी छोडी सकेका छन् ।
बर्दघाट नगरपालिका–१३ का सभापति जितबहादुर हरिजनले पनि पार्टी परित्याग गरेका छन् । प्रतिनिधिसभा निर्वाचनका लागि रास्वपामै सुरूवातदेखि रहेका व्यक्तिलाई टिकट नदई काँग्रेसबाट आएका व्यक्तिलाई टिकट दिएको भन्दै असन्तुष्टि चुलिएका बेला उनले राजीनामा दिएका हुन्।
रास्वपाले नवलपरासी क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसबाट रास्वपाका आएका बिक्रम खनाललाई टिकट दिएको थियो । २०७९ सालको निर्वाचनमा यस क्षेत्रबाट रास्वपाको तर्फबाट महेन्द्र सेन ठकुरीले प्रतिस्पर्धा गरेका थिए। संगठन कमजोर र कठिन अवस्थामा रहेको समयमा चुनाव लड्दै नवलपरासीमा पार्टी विस्तार गर्न उनले मुख्य भूमिका खेलेका थिए।
यही योगदानका आधारमा यसपटक पनि ठकुरीलाई नै टिकट दिनुपर्ने दृढ मान्यता स्थानीय पार्टी पंक्तिमा रहेको थियो र ठकुरी स्वयं पनि टिकट पाउनेमा विश्वस्त थिए। तर ठकुरीले टिकट नपाएपछि रास्वपाका नेता कार्यकर्तामा असन्तुष्टि चुलिएको हो । अन्य पनि पार्टी परित्याग गर्ने पक्षमा रहेको बताइएको छ ।































प्रतिक्रिया