मतदाताको प्राथमिकतामा दुलेगौँडा–हर्कपुर मोटरमार्ग

मतदाताको प्राथमिकतामा दुलेगौँडा–हर्कपुर मोटरमार्ग

केन्द्रबिन्दु
6
Shares

दमौली। दुलेगौँडा–हर्कपुर मोटरमार्ग हरेक निर्वाचनमा नेताहरूको प्रमुख चुनावी नारा बन्ने गरेको छ। स्थानीय तहदेखि प्रदेश र प्रतिनिधिसभासम्मका उम्मेदवारले सडक निर्माणको वाचा दोहोर्‍याए पनि वर्षौँ बित्दा सडकको अवस्था उस्तै छ। वर्षायाममा हिलोले गाडी फस्ने र हिउँदमा धुलोले सास फेर्नै गाह्रो हुने समस्या कायमै छ।

शुक्लागण्डकी नगरपालिका–३ कालिम¥याङका दलबहादुर थापाले चुनावका बेला जनतासँग प्रतिबद्धता जनाउने नेताहरूले जितेपछि काम नगरेको गुनासो गरे। उनका अनुसार चुनावका समयमा घर–घर पुगेर हात जोड्ने र सपना देखाउने नेताहरू जितेपछि फर्केर नआउने गरेका छन्।

शुक्लागण्डकी नगरपालिका–६ ब्यागनकी विष्णुमाया परियारले पनि सडकले चुनावका बेला मात्रै प्राथमिकता पाउने गरेको बताइन्। स्थानीयले भोगिरहेको सास्तीबीच नेताहरूले सडकलाई भाषणको विषय मात्रै बनाएको उनको आरोप छ।

दुलेगौँडा–हर्कपुर मोटरमार्गअन्तर्गत शुक्लागण्डकी–३ वन्केवाको टारदेखि म्याग्दे गाउँपालिका–६ हर्कपुर खण्ड कालोपत्रेका लागि ठेक्का लागेको सात वर्ष बितिसकेको छ। गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक’ योजनाअन्तर्गत १०।१८ किलोमिटर सडक कालोपत्रका लागि विसं २०७६ कात्तिक ४ गते शङ्करमाली निर्माण सेवा प्रालि, काठमाडौंले ठेक्का लिएको थियो।

विसं २०७८ माघ १६ गतेभित्र काम सक्ने सम्झौता भए पनि हालसम्म चार पटक म्याद थप भइसकेको छ। पछिल्लो थपिएको म्याद आगामी चैतमा सकिँदैछ। तर, काम भने ५० प्रतिशतभन्दा कम मात्र सम्पन्न भएको छ।

शुक्लागण्डकी नगरपालिका, म्याग्दे गाउँपालिका हुँदै व्यास नगरपालिकासँग जोडिने यस सडकको कुल दूरी २३ किलोमिटर छ। पहिलो चरणमा १० किलोमिटर सडक कालोपत्रका लागि सम्झौता गरिएको थियो।

स्थानीय तथा दुलेगौँडा–हर्कपुर मोटरमार्ग उपभोक्ता समितिका पूर्वअध्यक्ष देउबहादुर श्रेष्ठले समयमै सडक सम्पन्न नहुँदा स्थानीयवासी र यात्रुले वर्षौंदेखि धुलो र हिलोको समस्या झेल्दै आएको बताए।

Skip This
Skip This
Logo