गण्डकी। कास्की क्षेत्र नं २ मा १७ जना उम्मेदवार चुनावी मैदानमा छन्। यस क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)को प्रभाव रहेको मानिन्छ। अघिल्लो निर्वाचनमा एमालेकी नेत्री विद्या भट्टराई विजयी भएकी थिइन् भने यसअघि रवीन्द्र अधिकारी २०६४ र २०७० को संविधानसभा तथा २०७४ को प्रतिनिधि सभा निर्वाचनमा विजयी भएका थिए।
राष्ट्रिय स्वतन्त्र पार्टीका माधव कँडेल दोस्रो र नेपाली कांग्रेस, तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा (एस) को गठबन्धनका श्रीनाथ बराल तेस्रो भएका थिए। यसपालि पनि त्रिपक्षीय प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीले एमालेलाई चुनौती दिने दाबी गरेको छ भने नेपाली कांग्रेसले आफ्नै चुनाव चिह्न प्रयोग गरेर मत संकलन गर्न पाएको अवसरलाई सशक्त रुपमा प्रयोग गर्ने तयारी गरेको छ। यहाँका मतदाता प्रमुखतः एमाले, कांग्रेस र राप्रपा बीच मत विभाजन हुने अनुमान गरेका छन्।
यस क्षेत्रमा एमालेकी रश्मि आचार्य, कांग्रेसका माधव बास्तोला, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का हेमबहादुर थापा, रास्वपा का उत्तमप्रसाद पौडेल, उज्यालो नेपाल पार्टीका कुशल गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका हेमजङ गुरुङसहित १७ जना उम्मेदवार मैदानमा छन्।
गाउँ–बस्तीमा भोट माग्दै उम्मेदवारहरूले भ्रष्टाचारमुक्त प्रशासन, रोजगारी सिर्जना, गुणस्तरीय शिक्षा र समृद्धिलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्। मतदाताले भरतपोखरीका चवादी, कुर्लिङ, सिङगारेवास लगायत क्षेत्रमा आधारभूत पूर्वाधार निर्माणको माग गरेका छन्।































प्रतिक्रिया