काठमाडौं । गत निर्वाचनमा काठमाडौं उपत्यकामा प्रत्यक्षतर्फ दोस्रो बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) शीर्ष स्थान कब्जा गर्ने लक्ष्यसहित चुनावी मैदानमा उत्रिएको छ । पुराना अनुहारलाई निरन्तरता र नयाँलाई अवसर दिँदै पार्टीले उपत्यकामा आफ्नो प्रभाव थप विस्तार गर्ने रणनीति अघि सारेको हो ।
अघिल्लो पटकको नतीजा र काठमाडौं महानगरपालिका मेयर बालेन शाहको रास्वपा प्रवेशसँगै फागुन २१ मा हुने निर्वाचनमा उपत्यकामा पहिलो दल बन्ने रास्वपाको दाबी छ । काठमाडौंमा रहेका १० निर्वाचन क्षेत्रसहित ललितपुरका ३ र भक्तपुरका २ मध्ये गत निर्वाचनमा समानुपातिकतर्फ उपत्यकामा पहिलो बनेको रास्वपा प्रत्यक्षतर्फ ५ सिटमा जित निकाल्दै दोस्रो भएको थियो । उपत्यकामा नेपाली कांग्रेस ७, नेकपा एमाले २ र नेमकीपा १ क्षेत्रमा विजय भएका थिए ।
काठमाडौंका १० निर्वाचन क्षेत्रमा रास्वपाका अघिल्ला उम्मेदवारमध्ये ६ जना पुनः दोहोरिएका छन् भने बाँकी ४ नयाँ अनुहार रहेका छन्। अघिल्लो निर्वाचनमा जितेका चारमध्ये तीन जनालाई पुरानै क्षेत्रमा निरन्तरता दिइएको छ । जसमा काठमाडौं क्षेत्र नम्बर ६ बाट शिशिर खनाल, ७ बाट गणेश पराजुली र ८ बाट विराजभक्त श्रेष्ठले पुनः टिकट पाएका छन्। काठमाडौं २ बाट जितेकी सोविता गौतमलाई भने चितवन ३ पठाइएको छ, जहाँ उनले नेकपाकी रेणु दाहालसँग प्रतिस्पर्धा गर्नेछिन् ।
यसैगरी काठमाडौं १ मा रञ्जु दर्शनालाई उम्मेदवार बनाएको रास्वपाले काठमाडौं २ मा सुनील केसी, काठमाडौं ३ मा राजु पाण्डे, काठमाडौं ४ मा पुकार बम र काठमाडौं ५ मा सस्मित पोखरेललाई उम्मेदवार उठाएको छ । बम अघिल्लो निर्वाचनमा काठमाडौं १ मा चुनाव उठेर तेस्रो भएका थिए । काठमाडौं ९ मा उपसभापति डीपी अर्याल र काठमाडौं १० मा प्रदीप विष्ट उम्मेदवार बनेका छन्।
त्यसैगरी ललितपुर १ मा रास्वपाबाट बुद्धरत्न महर्जन, क्षेत्र नं. २ बाट पूर्वसञ्चारमन्त्री जगदीश खरेल, ललितपुर ३ मा डा. तोसिमा कार्की रहेकी छन् भने भक्तपुर १ बाट रुकेश रञ्जित र भक्तपुर २ राजीव खत्री चुनावी मैदानमा छन्।
अब चर्चा गरौं, काठमाडौं १ की रञ्जु दर्शनाको । उनी सुरुमा रास्वपाको समानुपातिक बन्दसूचीमा थिइन् । खस आर्य महिलाको क्लस्टरमा १० औँ स्थानमा राखिएपछि उनको सांसद निर्वाचित हुने सम्भावना कमजोर बनेको थियो । रञ्जुले बन्दसूचीमा असन्तुष्टि जनाउँदै नाम फिर्ता लिएपछि रास्वपाले उनलाई प्रत्यक्षमा टिकट दिएको हो । रञ्जु विवेकशील साझाबाट हालै मात्र रास्वपामा आएकी हुन् ।
२०७४ सालको स्थानीय चुनावमा विवेकशीलबाट काठमाडौंको मेयरमा उम्मेदवारी दिएर उनी चर्चामा आएकी थिइन् । त्यसबेला उनको उमेर २१ वर्ष मात्र थियो । रञ्जुले २३ हजारभन्दा बढी भोट ल्याएर तेस्रो भएकी थिइन् । बीचमा केही समय निष्क्रिय रहेकी उनी अहिले फेरि राजनीतिको मुलधारमा फर्किएकी हुन् । क्षेत्र नं. १ मा एमाले, कांग्रेस, राप्रपा र रास्वपाविच तीव्र प्रतिस्प्रधा हुने देखिएको छ । ४ दलले नै आफूले जित्ने दावि गर्दै आएका छन् ।
यता काठमाडौं २ मा राप्रपा छाडेर आएका बागमती प्रदेश सांसद सुनील केसीले टिकट पाएका छन् । केसीलाई रास्वपाका बरिष्ठ नेता बालेनको कोटामा टिकट दिइएको हो । यसअघि काठमाडौं २ मा बालेन नै उठ्नसक्ने चर्चा थियो । तर, उनले झापा ५ रोजे पछि पूर्वाधार विज्ञ तथा इन्जिनियरका रूपमा स्थापित केसीले २०७९ को आम निर्वाचनमा यस क्षेत्रबाट उम्मेदवारी दिएर परम्परागत राजनीतिक दलका दिग्गज नेताहरूलाई युवा उम्मेदवारले हराउने रास्वपाको नीति रहेको छ । यस क्षेत्रबाट एमालेका पुराना नेता मणिराम फुयाँल र कांग्रेसका कविर शर्मा चुनावी प्रतिस्पर्धामा रहेका छन् भने राप्रपाकी कुन्ती पोखरेल र नेकपाका नितेस पौडेल ठूला दलको मत काट्न मात्र पर्याप्त देखिन्छन् ।
काठमाडौं ३ मा राजु पाण्डेले टिकट पाएका छन् । उनी काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख थिए । उनी राजनीतिक छविका नेता होइनन् तर ‘आफू बालेनको सिपाही हो’ हजुर भन्दै मतदातालाई भोट माग्दै हिँडिरिहेका छन् । नगरप्रहरी प्रमुख हुँदा फुटपाथ खाली गराउन र विभिन्न संरचनामा डोजर लगाउन भत्काउन बालेनलाई साथ दिएका थिए । त्यही जोडबलमा उनी चुनाव जित्ने अभियानमा रहेका छन् । सो क्षेत्रमा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङसहित कांग्रेसका रमेश अर्याल र एमालेका रामेश्वर फुँयाल प्रतिस्पर्धामा रहेका छन् ।
यसैगरी काठमाडौं ४ मा रास्वपाबाट पुकार बमलाई टिकट दिइएको छ । उनी रास्वपाका केन्द्रीय सदस्य हुन् । यसअघि काठमाडौं १ बाट लडेर पराजित भएका थिए । त्यसबेला स्वतन्त्र उम्मेदवारी दिएका उनले ४ हजार १ सय १५ मत ल्याए । पुकार बमको राजनीतिक यात्रा विवेकशील पार्टीबाट सुरू भएको हो । उनी विवेकशीलका पुराना अभियन्ताहरुमध्ये पर्छन् । पछिल्लो समय वैकल्पिक शक्तिहरुलाई रास्वपामा मिलाउने काममा उनी सक्रिय बनेका थिए ।
यसैगरी काठमाडौं ५ मा बालेनको कोटाबाट सस्मित पोखरेलले टिकट पाएका छन् । बालेन मेयर छँदा सस्मित उनको सचिवालयमा थिए । पोखरेलले फेसबुक प्रोफाइलमा आफूलाई ‘काठमाडौं महानगरको एसोसिएट एक्सपर्ट’ का रूपमा चिनाएका छन् । बालेनको टिम रास्वपामा मर्ज भएपछि उनलाई केन्द्रीय सदस्य बनाइएको थियो। कांग्रेस महामन्त्री प्रदीप पौडेल, एमाले नेता ईश्वर पोखरेल, राप्रपाका कमल थापासंग उनी प्रतिस्प्रधामा उत्रिएका हुन् ।
काठमाडौं, ६, ७ र ८ नम्बरमा रास्वपाले पुरानै अनुहारलाई निरन्तरता दिएको छ । ६ मा शिशिर खनाल, ७ मा गणेश पराजुली र ८ मा बिराजभक्त श्रेष्ठले टिकट पाएका छन् । उनीहरु तीनैजना अहिले रास्वपाका खम्बा मानिन्छन् । प्रतिनिधि सभा सदस्यका रुपमा उनीरुले संसदमा पनि प्रभावशाली भूमिका निभाएका थिए । काठमाडौ ९ मा रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालले उम्मेदवारी दिएका छन् । उनी यसअघि रास्वपाको समानुपातिक सांसद थिए । सभापति लामिछाने कारागारमा छँदा उनले रास्वपाको कार्यवाहक सभापतिको रुपमा जिम्मेवारी निर्वाह गरेका थिए ।
काठमाडौं १० मा प्रदीप विष्ट रास्वपा उम्मेदवार बनेका छन् । उनी रास्वपाको काठमाडौं जिल्ला सभापति रहेर काम गरीसकेका नेता हुन् । विष्ट अघिल्लोपटक पनि काठमाडौं १० बाटै रास्वपा उम्मेदवार बनेर हारेका थिए । चुनावी परिणाममा तेस्रो भएका उनको पक्षमा ७ हजार ३ सय ४७ मत खसेको थियो ।
ललितपुर १ मा रास्वपाले जिल्ला सभापति बुद्धरत्न महर्जनलाई उठाउने भएको छ । उनी अघिल्लो चुनावमा ललितपुर २ बाट १० हजारभन्दा बढी भोटका साथ तेस्रो भएका थिए । यसपटक पनि उनी ललितपुर २ मै उठ्न चाहन्थे । तर, पार्टीले पूर्व सञ्चारमन्त्री खरेललाई टिकट दिएपछि उनी १ नम्बरमा उठ्न चुनाव उठेका हुन् ।
ललितपुर ३ मा पूर्वमन्त्री समेत रहेकी नेतृ डा. तोसिमा कार्की उम्मेदवार बनेकी छन् । अघिल्लो चुनावमा पनि उनले यही क्षेत्रबाट भारी मतका साथ जितेकी थिइन् । उनी अघिल्लो कार्यकालमा स्वास्थ्य राज्यमन्त्री भएकी थिइन् । दोस्रोपटक उनी सांसद हुने दौडमा लागेकी हुन् । उनी रास्वपाकी केन्द्रीय सदस्यसमेत हुन् ।
यसैगरी भक्तपुर क्षेत्र नंबर १ मा रास्वपाले रुकेश रञ्जितलाई उम्मेदवार बनाएको छ । उनी रास्वपाका भक्तपुर जिल्ला सचिव हुन् । उनी भक्तपुर उद्योग वाणिज्य संघका महासचिवसमेत छन् । नेमकिपाको गढ मानिएको क्षेत्रमा जित्न भन्दा पनि क्षेत्र खाली नगर्ने नीतिमा मात्र उनले उम्मेदवारी दिएको देखिन्छ । भक्तपुर नगरपालिका सबै १० वडा र चाँगुनारायण नगरपालिकाका सबै नौ वडा यो निर्वाचन क्षेत्रमा पर्छन् । भक्तपुर नगरपालिकाका प्रमुख उपप्रमुखसहित १० मध्ये १० वटै वडा नेमकिपाले जितेको छ ।
यसैगरी भक्तपुर २ मा रास्वपाबाट पूर्वपत्रकार राजीव खत्री उठेका छन् । अन्तिम समयमा रास्वपाले उनलाई भक्तपुर पठाएको हो । खत्रीले काठमाडौं १० बाट चुनाव लड्न चाहेका थिए । रास्वपाको सो क्षेत्रबाट साजन विश्वकर्माको नाम सिफारिस गरेको थियो । तर, सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेनले महेश बस्नेतलाई टक्कर दिनसक्ने उम्मेदवारका रुपमा खत्रीलाई छानेका हुन् ।





























प्रतिक्रिया