तनहुँ १मा छोरालाई स्वतन्त्रमा उठाएका जोशीले के पुरानो विरासत फर्काउलान् ?

तनहुँ १मा छोरालाई स्वतन्त्रमा उठाएका जोशीले के पुरानो विरासत फर्काउलान् ?

केन्द्रबिन्दु
33
Shares

काठमाडौं। जेनजी आन्दोलनको पृष्ठभूमीमा घोषणा गरिएको प्रतिनिधि सभा निर्वाचन आउन अब चार दिन बाँकी छ । निर्वाचन नजिकिएसँगै तनहुँ निर्वाचन क्षेत्र १ अहिले चासोको केन्द्रका रुपमा हेरिएको छ । यो क्षेत्र राष्ट्रपति रामचन्द्र पौडेल र नेपाली काँग्रेस नेता गोविन्दराज जोशीले चुनाव जित्दै आएको नेपाली काँग्रेसको पकड क्षेत्रका रुपमा चिनिन्छ। भ्रष्टाचार मुद्धामा दोषी ठहर भएपछी पार्टीको साधारण सदस्य समेत नरहने गरी कांग्रेसको कारबाहीमा परेपछि स्वतन्त रुपमा रहेका जोशी यस अगाडि स्वतन्त्र उम्मेदवारी दिएका थिए। आफ्नो पुरानो विरासत जोगाउन यसपालीको निर्वाचनमा पनि जोशीका छोरा दीपकराज जोशी स्वतन्त्र रुपमा चुनावी मैदानमा छन् । यहाँको निर्वाचनलाई पनि निकै चासोका साथ हेरिएको छ ।

वर्तमान राष्ट्रपति रामचन्द्र पौडेल र कांग्रेसका पूर्वनेता जोशीबीच तनहुँ क्षेत्र नम्बर १ मा लामो समयदेखि राजनीतिक प्रभाव र शक्ति टकराव देखिन्छ ।

गोविन्दराज जोशीले यो क्षेत्रमा लगातार तीन पटक विजय हासिल गरेका छन्- वि.सं. २०४८ को उपनिर्वाचन (रामचन्द्र पौडेलले क्षेत्र छोडेपछि), वि.सं. २०५१ र २०५६ को आम निर्वाचनमा त्यस्तै, रामचन्द्र पौडेलले आफ्नो राजनीतिक जीवनमा कुल ६ पटक निर्वाचन जिते पनि तनहुँ–१ बाट मात्रै दुई पटक (वि.सं. २०४८ र २०७९) विजयी भए। २०५१, २०५६, २०६४ र २०७० को निर्वाचन भने उनले क्षेत्र नम्बर २ बाट जितेका थिए। आगामी वि.सं. २०८२ फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा गोविन्दराज जोशी कानूनी रूपमा उम्मेदवार छैनन् ।

सर्वोच्च अदालतले २०८१ साउन १३ गते भ्रष्टाचार मुद्दामा उनलाई दोषी ठहर गर्दै ९ महिना कैद र ६९ लाख १५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको छ । नेपालको निर्वाचन कानून अनुसार भ्रष्टाचार वा नैतिक पतन देखिने फौजदारी कसुरमा दोषी ठहर भएका व्यक्तिहरूलाई चुनाव लड्न अनुमति छैन। यसै कारण जोशीले यसपटक निर्वाचनमा भाग लिन सक्ने छैनन्, तर उनका छोरा दीपक राज जोशी स्वतन्त्र उम्मेदवारका रूपमा मैदानमा उत्रिएका छन्।

दीपक राज जोशी आफ्नो बुवाको राजनीतिक विरासत र समर्थकहरूको मत तान्ने उद्देश्यले शिक्षा र युवा रोजगार, भौतिक पूर्वाधार, आधुनिक कृषि, भ्रष्टाचार विरोधी अभियान र पारदर्शी प्रशासनजस्ता मुद्दामा चुनावी एजेन्डा अघि सारिरहेका छन्। उनले अधुरा सडक, खानेपानी र विद्युत आयोजनाहरू पूरा गर्ने योजना बनाएका छन् र युवा पलायन रोक्न साना उद्योग तथा स्वरोजगार प्रवद्र्धन गर्ने लक्ष्य राखेका छन्।

२०८२ को चुनावी समीकरण हेर्दा, तनहुँ–१ मा मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेसका गोविन्द भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले, नेपाली कम्युनिष्ट पार्टीका विद्या नाथ ढकाल,नेकपा एमालेकी भगवती न्यौपाने र दीपक राज जोशीबीच हुने देखिन्छ । यसरी, गोविन्दराज जोशी कानूनी रूपमा चुनाव लड्न नपाए पनि पर्दा पछाडि आफ्नो समूह र छोरा मार्फत निर्णायक भूमिका खेल्ने सम्भावना कायम छ, र यो क्षेत्रको इतिहासमा उनको र रामचन्द्र पौडेलको शक्तिको टकरावले नेपाली कांग्रेसभित्र लामो समयदेखि विवाद उत्पन्न गर्दै आएको क्षेत्र मानिन्छ । जसको प्रभाव अहिलेको निर्वाचन समीकरणमा पनि स्पष्ट देखिन्छ ।

वि.सं. २०७४ को प्रतिनिधिसभा निर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आधिकारिक उम्मेदवार थिए तर, सोही क्षेत्रबाट गोविन्दराज जोशीले स्वतन्त्र उम्मेदवारी दर्ता गराए। यद्यपि, उनको उम्मेदवारी भ्रष्टाचार मुद्दाका कारण निर्वाचन आयोगले खारेज गरिदिएको थियो। तर, पार्टीले यसलाई अनुशासन उल्लंघन मानेर उनलाई ५ वर्षका लागि साधारण सदस्य समेत नरहने गरी निष्कासन (कारबाही) गरेको थियो। २०७९ को आम निर्वाचनमा पनि जोशीले तनहुँ–१ बाट रामचन्द्र पौडेल विरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका थिए।

यसपटक उनले करिब ६,८७८ मत प्राप्त गरे। पार्टीको आधिकारिक उम्मेदवारलाई हराउन भूमिका खेलेको भन्दै कांग्रेसले उनी माथिको कारबाहीलाई निरन्तरता दियो। पार्टीभित्रको आन्तरिक कलहका अतिरिक्त उनी माथि लागेको भष्टाचार मुद्दा पनि कारबाही र टिकट नपाउनुको एउटा अप्रत्यक्ष कारण थियो। विशेष अदालतले दोषी ठहर गरेपछि पार्टीले उनलाई टिकट दिन जोखिम ठानेको थियो, जसले गर्दा उनले विद्रोह गरेका थिए। उनै जोशीका छोरा दिपकराज जोशी यसपालिको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । यहाँको चुनावी मैदानमा १६ उम्मेदवार छन् ।

यसपाली यहाँ नेपाली काँग्रेसका गोविन्द भट्टराई र नेकपा (एमाले)की भगवती न्यौपाने,नेपाली कम्युनिष्ट पार्टीबाट विद्या नाथ ढकाल, नेकपा (माओवादी) बाट ओम विक्रम पन्त, राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रामदत्त जोशी मैदानमा छन्।

साना दल र स्वतन्त्र उम्मेदवारहरू पनि मतदातासँग भेटघाट, घरदैलो र कोणसभा गर्दै आफ्ना एजेन्डा प्रस्तुत गरिरहेका छन्। नेपाल मजदुर किसान पार्टीकी राम लक्ष्मी दुवाल, मंगोल नेशनल अर्गनाइजेसनका प्रेम बहादुर थापा, नेपाल जनमुक्ति पार्टीका याम बहादुर आले, नेशनल रिपब्लिक नेपालको सुमन थापा मगर, श्रम संस्कृति पार्टीका काशीराम गुरुङ, उज्यालो नेपाल पार्टीका मञ्जिल राना, आम जनता पार्टीकी चिजा माया अधिकारी, स्वतन्त्र उम्मेदवार दीपक राज जोशी, लेख नाथ खनाल र सन्देश रानाभाट लौडारी पनि सक्रिय छन्।

उम्मेदवारहरूले विकास, रोजगारी, सुशासन र स्थानीय समस्यालाई आफ्नो प्रमुख एजेन्डा बनाएर मतदातासमक्ष प्रचार गरिरहेका छन्। चुनावी चिन्ह जस्तै सूर्य, रुख, पाँचकुने तारा, घण्टी, हलो, मादल, कुखुराको भाले, घर, उडिरहेको माहुरी, अँजुलीमा रहेको माटो, गोलो घेराभित्र दुई पात भएको गुलाफको फूल, बलिरहेको बिजुलीको चिम, मोबाइल, कैंची र आँपले मतदातालाई परिचित गराइरहेका छन्।

यस क्षेत्रमा अघिल्लो प्रतिनिधिसभा निर्वाचन २०७९ मा रामचन्द्र पौडेल प्रत्यक्षतर्फ निर्वाचित भएका थिए । राष्ट्रपति निर्वाचित भएपछि भएको उपनिर्वाचनमा स्वर्णिम वाग्ले विजयी भएका थिए, जो यसपटक पनि उम्मेदवारका रूपमा चुनावी मैदानमा छन्। वाग्ले घरदैलो कार्यक्रममार्फत मतदाताका गुनासा सुन्दै विकास, सुशासन र रोजगारीलाई प्राथमिकता बनाएर प्रचारमा सक्रिय छन्। यस्तै अन्य उम्मेदवार पनि आफ्ना ओजना लिएर चुनावी मैदानमा रहेका छन् ।

स्वतन्त्र उम्मेदवारका रूपमा यस क्षेत्रबाट दीपक राज जोशी मुख्य प्रतिस्पर्धीका रुपमा देखिएका छन् । उनको उम्मेदवारी बुवा गोविन्दराज जोशीको विरासत सँग जोडिएको छ । दिपकराज जोशीले २०७९ को स्थानीय तह निर्वाचनमा व्यास नगरपालिकाको मेयर पदका लागि उम्मेदवारी दिएका थिए, जहाँ कांग्रेस उम्मेदवार वैकुण्ठ न्यौपानेसँग हारेका थिए। त्यतिबेला न्यौपानले १२,७८ मत पाए भने जोशीले ११,८२६ मत प्राप्त गरेका थिए।

कांग्रेसको कारबाहीमा परेपछी बाहिरिएर स्वतन्त्र रुपमा छुट्टै राजनीतिक अभियानमा लागेका गोविन्दराज जोशीको इतिहास
नेपाली कांग्रेसका पूर्वनेता गोविन्दराज जोशी आगामी वि.सं. २०८२ फागुन २१ गते तय प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिन कानूनी रूपमा अयोग्य ठहरिए। सर्वोच्च अदालतले वि.सं. २०८१ साउन १३ गते भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै ९ महिना कैद र ६९ लाख १५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएपछि उनको उम्मेदवारीमा कानूनी अवरोध उत्पन्न भएको हो। नेपालको प्रचलित निर्वाचन कानूनअनुसार भ्रष्टाचार जस्ता नैतिक पतन देखिने फौजदारी कसुरमा अन्तिम अदालतबाट दोषी ठहर भएको व्यक्ति निर्वाचनमा उम्मेदवार बन्न पाउँदैन।

अहिलेपनि सोही क्षेत्रबाट उम्मेदवारी दिन चाहेका जोशी उम्मेदवार बन्न पाएनन् । यहाँ कांग्रेसले गोविन्द भट्टराईलाई उम्मेदवार बनायो। यसअघि जोशीले २०७४ र २०७९ को निर्वाचनमा उम्मेदवारी दिने प्रयास गरेका थिए, तर भ्रष्टाचार मुद्दाकै कारण उनका उम्मेदवारी दर्ता खारेज भएका थिए।

गोविन्दराज जोशीले कानुन र शिक्षाशास्त्रमा स्नातक अध्ययन गरेका छन्। राजनीतिमा पूर्णकालीन रूपमा सक्रिय हुनुअघि उनी शिक्षण र वकालत पेशामा संलग्न थिए । पञ्चायतकालीन विद्यार्थी आन्दोलनबाट सुरु भएको उनको राजनीतिक यात्रा नेपाली कांग्रेसको विभिन्न तह हुँदै अघि बढ्यो। उनी वि.सं. २०४८, २०५१ र २०५६ सालमा तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा लगातार निर्वाचित भएका थिए।

सरकारमा रहँदा उनले गृहमन्त्री, शिक्षा मन्त्री, स्थानीय विकास मन्त्री लगायतका मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए। पार्टीभित्र उनी प्रभावशाली नेताका रूपमा चिनिन्थे र गिरिजाप्रसाद कोइरालासँग निकट राजनीतिक सहकार्यमा रहेको चर्चा हुने गथ्र्यो।

तनहुँ जिल्लामा शिक्षा संस्था स्थापना, सडक तथा विद्युत विस्तारजस्ता पूर्वाधार विकासमा उनले भूमिका खेलेको उनका समर्थकहरू बताउँछन्। विशेषगरी ग्रामीण क्षेत्रमा विद्यालय स्थापना र शैक्षिक विस्तारमा उनको सक्रियता उल्लेख मानिन्छ।

वि.सं. २०६० सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनी सम्पत्ति आर्जनको आरोपमा मुद्दा दायर गरेपछि उनको राजनीतिक यात्रामा मोड आयो। लामो कानूनी प्रक्रियापछि सर्वोच्च अदालतले २०८१ साउनमा दोषी ठहर गर्दै फैसला सुनायो, जसले उनको संसदीय राजनीतिक भविष्यमा कानूनी अवरोध खडा गरेको छ । पार्टी अनुशासन उल्लंघनको आरोपमा नेपाली कांग्रेसले कारबाही गरेपछि उनी केही समय पार्टी संरचनाभन्दा बाहिर रहे र स्वतन्त्र समूह बनाएर राजनीतिक गतिविधि अघि बढाउने प्रयास गरे। २०७९ को निर्वाचनमा तनहुँबाट स्वतन्त्र उम्मेदवारी दिएका थिए।

सर्वोच्च अदालतको पछिल्लो फैसलापछि २०८२ को प्रतिनिधिसभा निर्वाचनमा उनको उम्मेदवारी सम्भावना समाप्त भएको छ । त्यस बावजूद तनहुँको स्थानीय राजनीतिमा उनको समूहगत प्रभाव अझै देखिने विश्लेषण गरिन्छ । यसरी हेर्दा, गोविन्दराज जोशीको राजनीतिक यात्रा विकास, प्रभाव र विवादसँग जोडिएको एक महत्वपूर्ण अध्यायका रूपमा नेपाली कांग्रेस र तनहुँको राजनीतिमा स्मरणीय रहेको छ।

निर्वाचन आयोगका अनुसार, तनहुँ–१ मा कुल १,३६,८८२ मतदाता छन्। यस क्षेत्रका मुख्य स्थानहरूमा भानु नगरपालिका र व्यास नगरपालिका वडा १, २, ३, ४, ७, ८, ९, १०, ११, १२, १३, १४ रहेका छन्। यसका साथै आँबुखैरेनी, बन्दीपुर र देवघाट गाउँपालिका पनि यस क्षेत्रमा पर्दछन्।

बुबाको राजनीतिक विरासतमा चुनाव लडेका दिपकराज जोशीले नतिजा कस्तो ल्याउछन भन्ने कुरा २१ को निर्वाचनले देखाउनेछ।

दीपकका लागि “गर या मर” जस्तै निर्वाचन

दीपकका लागि यो निर्वाचन केवल सांसद मात्र नभएर अस्तित्वको लडाइँ बनेको छ । बुबाको दशकौँ लामो राजनीतिक विरासत जोगाउने र जोशी समूहको प्रभाव कायम राख्ने अन्तिम मौकाका रुपमा हेरिएको छ । उनलाई जित्नैपर्ने पारिवारिक दबाब पनि उत्तिकै छ । २०७९ को स्थानीय निर्वाचनमा मेयर पदमा पराजित भएपछि यो चुनाव उनलाई राजनीतिक पुनरुत्थानको अवसर पनि प्रदान गर्दछ।

यस निर्वाचनमा दीपक राजले अन्य शक्तिशाली प्रतिस्पर्धीसँग प्रतिस्पर्धा गर्नु पर्छ। उनले शिक्षा, युवा स्वरोजगार, भौतिक पूर्वाधार, आधुनिक कृषि र भ्रष्टाचार विरोधी अभियानलाई आफ्नो एजेन्डा बनाएका छन्। स्थानीयका अनुसार जोशी समूहका करिब ५ देखी ७ हजार कट्टर समर्थकहरूको मत यहाँ निर्णायक मानिन्छ । दीपकराजको यो चुनाव जोशीको राजनीतिक अस्तित्व र विरासत कायम राख्ने निर्णायक संघर्षका रुपमा हेरिएको छ ।

Skip This
Skip This
Logo