बाग्लुङ। बाग्लुङ क्षेत्र नम्बर–२का वाम गठबन्धनका साझा उम्मेदवार ज्ञामनाथ गैरे (अनिल) ले आफूलाई दलको उम्मेदवारभन्दा पनि “गाउँकै छोरा” का रूपमा बुझ्न आग्रह गरेका छन्। चुनावी घरदैलोका क्रममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै गैरेले आँफू नेता नभएर जनताको सेवक भएकोले सेवा गर्न राजनीतिमा आएको बताए।
गैरेले बाग्लुङको समग्र विकास र युवाहरूको भविष्य सुनिश्चित गर्ने स्पष्ट प्रतिबद्धता व्यक्त गर्दै तारा चिन्हमा मतदान गर्न आह्वान गरे।
गैरेले भने, “म तपाईंहरूकै घर–आँगनको छोरा हुँ। समयको अभावले सबैको घरदैलोमा पुग्न नसकुँला, तर विश्वास गर्नुस्— मेरो हरेक पाइला तपाईंहरूको भलाइका लागि हुनेछ,” उनले भने, “मलाई दलको होइन, आफ्नै गाउँको छोरा सम्झेर आशीर्वाद दिनुहोस्। तपाईंको एक भोट, मेरो जित मात्र होइन— समृद्ध बाग्लुङको सुरुआत हुनेछ।”
गैरेले जनताको आशा, भरोसा र विश्वासलाई कहिल्यै निराश हुन नदिने अठोट व्यक्त गर्दै आफू जनताको सेवकका रूपमा इमानदार, पारदर्शी र उत्तरदायी भएर काम गर्ने प्रतिबद्धता जनाए। “राजनीति मेरा लागि पेशा होइन, सेवा हो। म नेता होइन, जनताको सेवक हुँ,” उनले स्पष्ट पारे।
बाग्लुङ विकासका दृष्टिले सम्भावनाले भरिपूर्ण जिल्ला भए पनि राजनीतिक अस्थिरता र प्राथमिकताको अभावका कारण अपेक्षित गति लिन नसकेको उल्लेख गर्दै उनले अब परिवर्तन अपरिहार्य भएको बताए। “अब बाग्लुङलाई अवसरबाट वञ्चित राख्ने दिन सकिएको छ,” उनले भने, “जनताको भरोसालाई शक्तिमा बदल्दै शिक्षा, स्वास्थ्य, सडक र रोजगारीलाई प्राथमिकतामा राखेर काम गर्नेछु।”
युवाहरूको भविष्यलाई केन्द्रमा राख्दै उनले स्वदेशमै अवसर सिर्जना गर्ने ठोस कार्यक्रम ल्याउने प्रतिबद्धता दोहो¥याए। “अब बाग्लुङका युवाले बाध्य भएर विदेशिनु पर्ने अवस्था अन्त्य गर्नुपर्छ। उत्पादन, उद्यम र प्रविधिमा आधारित रोजगारी सिर्जना गरेर युवाको भविष्य यहीँ सुनिश्चित गर्ने मेरो स्पष्ट योजना छ,” उनले भने।
स्थानीय स्रोत–साधनको अधिकतम उपयोगमार्फत समृद्ध बाग्लुङ निर्माण गर्ने लक्ष्य प्रस्तुत गर्दै उनले सबै पक्षलाई समेटेर समावेशी विकासको नयाँ अध्याय सुरु गर्ने धारणा राखे। “हाम्रो भूमि, हाम्रो श्रम र हाम्रो संकल्प मिल्यो भने बाग्लुङ देशकै नमुना जिल्ला बन्न सक्छ,” उनले जोड दिए।
निर्वाचनलाई केवल व्यक्तिको जित–हारको प्रतिस्पर्धा नभई बाग्लुङको भविष्य तय गर्ने अवसरका रूपमा चित्रित गर्दै गैरेले मतदातासँग भावनात्मक अपिल गरे। “तपाईंहरूले दिएको जिम्मेवारीलाई म अवसर होइन, कर्तव्यका रूपमा लिनेछु। जनताको विश्वास नै मेरो सबैभन्दा ठूलो शक्ति हो,” उनले भने, “यही शक्तिका आधारमा बाग्लुङ–२ लाई विकास, समृद्धि र आत्मनिर्भरताको मार्गमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दछु।”
उनले भने, “म तपाईंहरूकै छोरा, दाजु र भाइ । आउनुहोस्, यसपटक ‘हातेमालो गर्दै अगाडि बढौँ ।”





























प्रतिक्रिया