काठमाडौं। उपराष्ट्रपति रामसहाय प्रसाद यादवले फागुपूर्णिमा (होली) पर्व राष्ट्रिय एकता, सामाजिक सद्भाव र सांस्कृतिक विविधतालाई सम्मान गर्दै मुलुकलाई शान्ति र समृद्धितर्फ अघि बढ्न प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन् ।
फागुपूर्णिमा (होली) पर्व, २०८२ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन् ।
उनले भनेका छन्, “होली पर्वले राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता र सामाजिक बन्धनलाई अझ सबल बनाओस्, प्रेम, मैत्रीभाव र सहकार्यको वातावरण सिर्जना गर्दै देशलाई प्रगति र समृद्धिको मार्गमा अघि बढाउने प्रेरणा प्रदान गरोस्।”
रङ्ग र उमङ्गको प्रतीक यो पर्व हिमाल, पहाड र तराई–मधेसमा विभिन्न नामले मनाइए पनि यसको मूल भावनाले आपसी सद्भाव, भाइचारा र मेलमिलापलाई बलियो बनाउने विश्वास व्यक्त गर्दै उनले सत्यको विजय र असत्यको पराजयको सन्देश बोकेको होलीले समाजलाई प्रेम, सौहाद्र्र र सहयोगी भावनाले रङ्गीन बनाउने उल्लेख गरेका छन् ।
परम्परागत होरी (फागु) गीत, जोगिरा, डम्फा र ढोलकको तालमा गाइने लोकभाकाका साथै मालपुवा, दालपुरी, खिर जस्ता विशेष परिकारले संस्कृतिलाई जीवन्त राख्दै पुस्तान्तरणमा योगदान पु¥याउने उनको भनाइ छ ।
उनले भनेका छन्, “प्राकृतिक तथा वातावरणमैत्री रङ्ग प्रयोग गर्दै संस्कृतिलाई सुरक्षित राख्नु सामूहिक जिम्मेवारी हो। होलीले परिवार, मित्रता र समुदायबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउँदै पुराना मनमुटाव बिर्सेर नयाँ उमङ्ग र ऊर्जासहित सम्बन्धलाई पुनः सुदृढ गर्ने अवसर प्रदान गर्दछ।”































प्रतिक्रिया