उम्मेदवारसँग माग राख्न नपाउँदा निराश छन् बादी समुदाय

उम्मेदवारसँग माग राख्न नपाउँदा निराश छन् बादी समुदाय

केन्द्रबिन्दु
0
Shares

दोधारा चाँदनी। मुलुकभर चुनावी रौनक छाइरहेको बेला कञ्चनपुरको दोधारा चाँदनी–३ स्थित बादी बस्ती सुनसान देखिन्छ।

निर्वाचन नजिकिँदै गर्दा दल तथा उम्मेदवार मतदाता रिझाउन व्यस्त छन्। तर गरिबी, अशिक्षा र बेरोजगारीले आक्रान्त बडुवाल टोलस्थित सीमान्तकृत समुदायमा राज्य वा दलहरूको ध्यान पुगेको छैन।

झन्डै तीन दशकदेखि बसोबास गर्दै आएको बस्तीमा बादी समुदायसहित अन्य समुदायका एक सयभन्दा बढी घर परिवार बस्छन्। भारतमुखी रोजगारी र दैनिक मजदुरीमार्फत जीविकोपार्जन गर्दै आएका यहाँका मतदाताले उम्मेदवारहरूले आफ्नो बस्तीको समस्या समेट्ने योजना ल्याउने आशा गरेका थिए। तर त्यो आशा निराशामा परिणत भएको छ। भोट माग्नसमेत उम्मेदवारहरू बस्तीमा पुगेका छैनन्।

“अहिलेसम्म हाम्रो बस्ती कोही नेता भोट माग्न आएनन्। यहाँ जङ्गली जनावरको डरले राति भाग्नुपर्ने अवस्था छ, नेता नआउँदा हाम्रो माग राख्न पाएनौँ,” स्थानीयले बताए।

भारतसँग सीमा जोडिएको बस्तीमा गरिबी, अशिक्षा, बेरोजगारी, हात्ती आतङ्क, बाढी तथा कटान, सुकुम्वासी समस्या, अवैध तस्करी र सीमा विवाद मुख्य चुनौतीका रूपमा रहेका छन्।

सिमानाकै बस्तीमा अनेक दुःख सहेर पनि सीमाको रक्षाका लागि बसोबास गर्नुपरेको छ। आर्थिक अवस्था कमजोर हुँदा यहाँका बालबालिका पढाइ छोडेर रोजगारीका लागि भारत जान बाध्य छन्। चुनावमा नेताहरू आएर समस्या सुन्ने आशा थियो, तर उनीहरू आएनन्।

राष्ट्रिय जनगणना २०७८ अनुसार सुदूरपश्चिममा बादी समुदायको जनसंख्या २,५८० रहेको छ भने कञ्चनपुरमा मात्र ४५८ जना छन्। गरिबी, भूमिहीन र अशिक्षाका कारण यो समुदायको अवस्था दयनीय छ।

Skip This
Skip This
Logo