पर्वत। पर्वतबाट प्रतिनिधि सभाका कान्छा उम्मेदवार मनहरी तिमिल्सिनाले सहकारीमार्फत भएको ठगीप्रति कडा असन्तुष्टि जनाउँदै बचतकर्ताको रकम सुरक्षित फिर्ता गराउन आफू दृढतापूर्वक लाग्ने बताएका छन्। कुस्मा नगरपालिकाका विभिन्न वडामा आयोजित आन्तरिक भेटघाट कार्यक्रममा उनले सहकारी क्षेत्रमा देखिएको विकृति र दुरुपयोगप्रति शून्य सहनशीलताको नीति अपनाइने स्पष्ट पारे।
“जीवनभरको श्रम र पसिनाबाट जम्मा गरेको रकम असुरक्षित हुनु कुनै पनि हालतमा स्वीकार्य हुन सक्दैन,” उनले भने, “बचतकर्ताको विश्वास जोगिनु र उनीहरूको रकम सुरक्षित फिर्ता हुनु अत्यन्त आवश्यक छ। म आफ्नो जिम्मेवारीको स्थानबाट आवश्यक पहल गर्नेछु, सम्बन्धित निकायलाई सक्रिय बनाउनेछु र पीडितको पक्षमा दृढ रूपमा उभिनेछु।”
तिमिल्सिनाले चुनावी अभियानका क्रममा घरदैलोमा पुग्दा सहकारी पीडितहरूको पीडा प्रत्यक्ष सुनेको उल्लेख गर्दै धेरै बचतकर्ता धुरुधुरु रोएको दृश्यले आफूलाई भावुक बनाएको बताए। “राजनीतिक आवरणमा बसेर सहकारीमार्फत ठगी गर्ने, दुरुपयोग गर्ने जुनसुकै शक्तिलाई छुट दिन सकिँदैन,” उनले भने। पार्टीको नाम र आवरण प्रयोग गरी पर्वतका हजारौँ बचतकर्तालाई विचल्ली पारेकोप्रति उनले दुःख व्यक्त गर्दै पीडितलाई न्याय दिलाउन निरन्तर लड्ने प्रतिबद्धता जनाए।
उनले सहकारी क्षेत्रलाई पारदर्शी, उत्तरदायी र कानुनी दायरामा सञ्चालन गराउन नीतिगत सुधार आवश्यक रहेको उल्लेख गर्दै बचतकर्ताको अधिकार संरक्षणका लागि संसदीय तहबाट पहल गर्ने बताए।
यसैबीच, तिमिल्सिनाले फागु पूर्णिमाको अवसरमा शुभकामना व्यक्त गर्दै पर्वलाई सुरक्षित र वातावरणमैत्री रूपमा मनाउन आग्रह गरे। “ऋतु परिवर्तनसँगै आउने यस उत्सवले प्राकृतिक रंग, स्वच्छता र स्वस्थ जीवनशैली अपनाउने प्रेरणा दिओस्,” उनले भने, “आपसी सद्भाव, सकारात्मक ऊर्जा र आत्मीयता बढोस्। विज्ञानसम्मत सोचसहित हर्षोल्लासपूर्वक पर्व मनाउने प्रेरणा सबैमा जागोस्।” उनले सम्पूर्ण नेपालीमा स्वास्थ्य, खुशी र उज्यालो भविष्यको कामना पनि व्यक्त गरे।































प्रतिक्रिया