दोलखाको मालु मतदान केन्द्रमा तनावपछि अझै सुरु हुन सकेन मतदान

दोलखाको मालु मतदान केन्द्रमा तनावपछि अझै सुरु हुन सकेन मतदान

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । दोलखा जिल्लाको तामाकोशी गाउँपालिका–४ स्थित मालु मतदान केन्द्रमा उत्पन्न तनावका कारण रोकिएको मतदान अझै सुरु हुन सकेको छैन । मतदान केन्द्रमा कर्मचारीमाथि हातपातको प्रयास भएपछि प्रहरीले हवाई फायर गरेपछि अवस्था तनावग्रस्त बनेको थियो। त्यसपछि सुरक्षाको कारण देखाउँदै मतदान स्थगित गरिएको हो।

सहायक प्रमुख जिल्ला अधिकारी औलाख बहादुर आलेका अनुसार हालसम्म मतदान पुनः सञ्चालन हुन सकेको छैन र समस्या समाधानका लागि सरोकारवालाबीच छलफल जारी रहेको छ । उनले परिस्थितिलाई सामान्य बनाउने प्रयास भइरहेको जानकारी दिएका छन्।

मतदान केन्द्रमा कार्यरत दलका प्रतिनिधि तथा बुथ एजेन्टहरूलाई सुरक्षाका दृष्टिले सुरक्षित स्थानमा राखिएको पनि प्रशासनले जनाएको छ । मतपत्र लुटपाटको प्रयास भएपछि सम्भावित थप विवाद रोक्न उनीहरूलाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरूले बताएका छन्।

यसबीच बुथमा रहेका दलका प्रतिनिधि एजेन्टहरूले मतपत्र लुटेपछि प्रहरीले नियन्त्रणमा लिएको भन्ने समाचार बाहिरिएपछि त्यसबारे पनि प्रशासनले स्पष्टिकरण दिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी आलेका अनुसार उनीहरूलाई नियन्त्रणमा लिइएको नभई केवल सुरक्षित स्थानमा राखिएको हो।

घटनापछि मतदान केन्द्र आसपास क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ । स्थानीय प्रशासनले शान्तिपूर्ण वातावरण बनाउने प्रयास जारी राखेको जनाएको छ। छलफलबाट सहमति जुटेपछि मात्र मतदान पुनः सञ्चालन गर्ने तयारी रहेको प्रशासनको भनाइ छ।

Skip This
Skip This
Logo