काठमाडौं । नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले चुनावको हार-जित र सामाजिक सेवाका कार्यहरूबीच कुनै सम्बन्ध नहुने स्पष्ट पारेका छन् ।
मोरङ-३ बाट प्रतिनिधिसभा सदस्यमा पराजित भएपछि शर्मा आबद्ध अस्पतालले यसअघि दिँदै आएको स्वास्थ्य सेवा नदिने भएर फैलाइएका विभिन्न हल्ला र भ्रमहरूको खण्डन गर्दै उनले आफ्नो सेवाको यात्रा निरन्तर रहने प्रतिबद्धता जनाएका हुन् । उनले भनेका छन्, ‘चुनावमा हार वा जित हुनु र सामाजिक सेवा तथा सत्कर्मबीच कुनै सम्बन्ध हुँदैन, न त कहिल्यै थियो। समाज र राष्ट्रप्रतिको हाम्रो दायित्वलाई आत्मसात गर्दै यस्ता सेवा तथा सहयोगका कार्यहरू हामीले आगामी दिनहरूमा पनि देशभर निरन्तर रूपमा जारी राख्नेछौँ भन्ने कुरा सम्मानपूर्वक जानकारी गराउन चाहन्छु।’
विज्ञप्ति जारी गर्दै डा. शर्माले आफूद्वारा सञ्चालित नोबेल मेडिकल कलेज र काठमाडौँ मेडिकल कलेजमार्फत हुँदै आएका सेवाहरू नरोकिने प्रष्ट पारेका हुन् ।
स्वास्थ्य सेवा तथा सुविधाहरू देशका विभिन्न स्थानमा सम्बन्धित वडा र जिल्लाहरूको आधिकारिक माध्यम र उचित प्रक्रियाबाटै उपलब्ध गराइने उनकाे भनाइ छ।
बजारमा फैलाइएका हल्ला वा भ्रममा नपरी आवश्यक जानकारीका लागि सम्बन्धित वार्डमा रहेका ती स्वास्थ्य संस्थासँग आबद्ध प्रतिनिधिसँग सम्पर्क गरी संस्थाको नियम र विधि अनुसार आउन नेता डा. शर्माले आग्रह गरेका छन् । उनले भनेका छन्, “बजारमा फैलाइएका हल्ला वा भ्रममा नपरी आवश्यक जानकारीका लागि सम्बन्धित वार्डमा रहेका हाम्रो संस्थासँग आबद्ध प्रतिनिधिहरूसँग सम्पर्क गरी संस्थाको नियम र विधी अनुसार आउन हुन सबैमा हार्दिक अनुरोध गर्दछु।”































प्रतिक्रिया