काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट पर्वतमा प्रतिनिधिसभा सदस्यमा अत्याधिक मतका साथ निर्वाचित सागर भुसालले निर्वाचनमा साथ,समर्थन र अमुल्य मत दिने पर्वतवासीप्रति हार्दिक धन्यवाद एवं आभार व्यक्त गरेका छन्।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा प्राप्त विजयलाई व्यक्तिगत जित नभई परिवर्तन चाहने सम्पूर्ण पर्वतवासी जनताको जित भएको भुसालले बताएका छन् । देविस्थानमा आयोजित धन्यवाद तथा बधाई कार्यक्रममा बोल्दै भुसालले भने,
“यो जित मेरो व्यक्तिगत होइन, परिवर्तन चाहने सम्पूर्ण पर्वतवासी जनताको जित हो,जनताले देखाएको विश्वासलाई अब काम र सुशासनबाट प्रमाणित गर्ने मेरो प्रतिबद्धता छ ।”
उनले थपे, “पर्वतेली जनताले ठूलो जिम्मेवारी मेरो काँधमा दिनुभएको छ, जनताले दिएको अभिभारा तिर्न पर्वतको विकास र समृद्धिका लागि अहोरात्र खटिने छु,पर्वतेली जनताको सुखदुखमा सदैव संगै हुनेछु।”
पर्वतको समृद्धि, विकास र सुशासनका लागि जनतासँगै हातेमालो गरेर काम गर्ने प्रतिवद्धता रहेको भन्दै भुसालले जनताको विश्वासनै आफ्ना लागि सबैभन्दा ठूलो शक्ति भएको बताए।
रास्वपाले विजय र्याली नगर्ने निर्णय गरेअनुसार पर्वतमा कुनै औपचारिक विजय र्याली नगरी घरदैलोमै पुगेर धन्यवाद व्यक्त गर्ने कार्यक्रम तय गरिएको रास्वपा पर्वतले जनाएको छ । फागुन २७ गतेदेखि पर्वत जिल्लाभर धन्यवाद यात्रा सुरु गरिने र पहिलो दिन बिहादी गाउँपालिकाका विभिन्न स्थानमा पुगेर स्थानीयसँग भेटघाट तथा धन्यवाद कार्यक्रम गर्ने कार्यक्रम तय भएको रास्वपा पर्वतले जनाएको छ ।
कार्यक्रमअन्तर्गत उपल्लो बाच्छा, बाच्छा सिम्ले, खहरेखोला, नौँनादी, बराचौर, भाटिचौर, कुमालगाउँ, पोखराचौर, बाँस्कोट, खाल्टा, शिवपार्वती, सेतीवेणी, चर्काङ, देउराली, भतेरपाटा, उरामपोखरा र खोरपोखरा÷टारीलगायत स्थानमा भेटघाट गर्ने तालिका सार्वजनिक गरिएको छ ।
जिल्लामा कार्यक्रम गर्दै गर्दा जहाँ पायक पर्छ त्यही स्थानमा उपस्थित भई सुझाव, साथ र शुभेच्छा दिन पर्वतवासीलाई रास्वपाले जनाएको छ ।





























प्रतिक्रिया