लुम्बिनी। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले धार्मिक पर्वहरूले समाजमा आपसी सद्भाव, मेलमिलाप र भाइचाराको भावना अभिवृद्धि गर्ने बताएका छन् ।
ईद–उल–फित्र २०८२ का अवसरमा जारी शुभकामना सन्देशमा उनले सामाजिक एकता, सहिष्णुता र समावेशी विकासलाई सुदृढ बनाउन सबैलाई आह्वान गरेका छन् ।
मुख्यमन्त्री आचार्यले संविधानले गणतन्त्र, सङ्घीयता, समानता, समावेशिता, धर्मनिरपेक्षता र कानुनी राज्यका मूल्यलाई संस्थागत गरेको उल्लेख गर्दै बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक समाजमा ‘विविधतामा एकता’को भावना बलियो हुँदै गएको बताएका छन् ।
समावेशी विकास र समृद्धिका लागि सबै समुदायको सक्रिय सहभागिता आवश्यक रहेको उनले स्पष्ट पारेका छन् । साथै, ईद–उल–फित्रले त्याग, संयम, करुणा र सहअस्तित्वको सन्देश दिने उल्लेख गर्दै यसले समाजमा प्रेम, सहयोग र भाइचाराको संस्कार मजबुत बनाउने विश्वास व्यक्त गरेका छन् ।
लुम्बिनी प्रदेश सरकारले सबै धर्म, संस्कृति, परम्परा र पहिचानलाई समान सम्मान र संरक्षण गर्ने नीति अवलम्बन गर्दै आएको पनि उनले बताएका छन् ।





























प्रतिक्रिया