काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ। शुक्रबार प्रारम्भ भएको केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।
बैठक चुनावी समीक्षा र सभापति गगन थापाले दिएको राजीनामा लगायतका रणनीतिबारे छलफल भइरहेको छ । केन्द्रीय समिति बैठकमा २४ जनाले शुक्रबार धारणा राखेका छन्।
कांग्रेसमा महाधिवेशनको विषयलाई लिएर विवाद कायमै छ। २७–३० पुसमा भृकुटीमण्डपमा भएको कांग्रेको विशेष महाधिवेशनले देउवा नेतृत्वको केन्द्रीय कार्यसमिति भंग गरेर थापा नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको लगत्तै निर्वाचनमा होमिएको कांग्रेसले ‘बदल्यौं कांग्रेस, बदल्छौं देश’, ‘अबकी बार सय पार’ जस्ता नारा अघि सारेको थियो। उक्त नाराबमोजिम कांग्रेसले नतिजा हात पार्न सकेन। कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी ३८ सिट मात्रै ल्यायो।
चुनावी परिणामपछि पूर्वसभापति देउवा पक्षले थापामाथि नैतिकताको प्रश्न उठाएको थियो। थापाले पनि नैतिकताको आधारमा हाल राजीनामा दिने र नियमित महाधिवेशनमा सभापतिका लागि तयारी गर्ने रणनीति बनाएका थिए। तर केन्द्रीय कार्यसमिति भने थापाको राजीनामा स्वीकृत गर्ने पक्षमा देखिँदैन।
महामन्त्री प्रदीप पौडेलले सबैले सभापति गगन थापाको राजीनामा फिर्ता हुनुपर्ने बताएको जानकारी दिए। ‘चुनावमा भएको हारका लागि सभापतिले नैतिकता देखाउनुभयो, त्यसको सराहना गर्नैपर्छ। तर विशेष अधिवेशनबाट पाएको म्यान्डेट भनेको नियमित महाधिवेशन गराउनुपर्ने जिम्मेवारी हो, त्यो नेतृत्वले प्राप्त गरेको म्यान्डेड हो।
त्यसैले पनि राजीनामा फिर्ता गर्नुपर्छ भन्ने कुरा आएको हो। केन्द्रीय कार्यसमितिले अस्वीकृत गरिसकेपछि उनी जिम्मेवारीमा फेरि फर्किनुपर्ने हुन्छ । केन्द्रीय कार्यसमितिले त्यही जिम्मेवारी महसुस गरेर उनको राजीनामा अस्वीकृत गर्ने गरी अगाडि बढेको छ ।’































प्रतिक्रिया