काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको परिणामपछि पार्टीभित्र गम्भीर आत्मसमिक्षाको आवश्यकता औंल्याउँदै व्यापक सुझाव पठाउन नेता कार्यकर्ता र शुभेच्छुकहरुलाई आह्वान गरेका छन्।
फागुन २१ गते सम्पन्न निर्वाचनको अन्तिम नतिजाले एमाले अपेक्षाकृत कमजोर देखिएको सन्दर्भमा भट्टराईले पार्टीको नीति, नेतृत्व, संगठन र कार्यशैलीमाथि वस्तुनिष्ठ समीक्षा गर्नुपर्ने बताएका छन् । उनले आग्रह र पूर्वाग्रहभन्दा माथि उठेर समीक्षा गर्नुपर्नेमा जोड दिएका छन्।
उनले देश तथा विदेशमा रहेका एमालेसम्बद्ध नेता–कार्यकर्ता, बुद्धिजीवी तथा समर्थकहरूलाई पार्टीको वर्तमान अवस्था विश्लेषण गर्दै सुझाव पठाउन अनुरोध गरेका छन्। भट्टराईले सामाजिक सन्चाल फेसबुकमा लेखेका छन आत्मसमिक्षाले मात्र पार्टीको एकता, रूपान्तरण, पुनर्गठन र पुनर्जागरणको मार्ग प्रशस्त गर्न सक्छ।
सुझावका लागि उनले तीन मुख्य विषयहरू उठाएका छन्। पहिलो, निर्वाचनमा कमजोर परिणाम आउनुका आन्तरिक तथा बाह्य कारणहरूको विश्लेषण—जसमा नीति, नेतृत्व, संगठन, व्यवहार, व्यवस्थापन र प्रचारका पक्ष समेटिएका छन्। दोस्रो, पार्टी रूपान्तरणका लागि आवश्यक सुधारका ठोस प्रस्ताव र त्यसको कार्यान्वयन प्रक्रिया। तेस्रो, एमालेका सबल तथा कमजोर पक्षहरूको मूल्यांकनसहित भविष्यका सम्भावनाहरूको पहिचान गरे सुझाव पठाउन भनेका छन् ।
भट्टराईले सुझावमार्फत जिम्मेवारी किटान र जवाफदेहिताको प्रश्न पनि समाधान हुने विश्वास व्यक्त गरेका छन्। उनले प्राप्त सुझावलाई आगामी रणनीति निर्माणमा उपयोग गरिने संकेत दिएका छन्।
सुझाव पठाउन इच्छुकहरूलाई भट्टराईले इमेल तथा व्हाट्सएपमार्फत आफूलाई पठाउन आह्वान गरेका हुन् ।































प्रतिक्रिया