हारले रोकेन पाइला, सम्बन्ध खोज्दै गाउँ फर्किए गैरे

हारले रोकेन पाइला, सम्बन्ध खोज्दै गाउँ फर्किए गैरे

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । चुनाव सकियो, नतिजा आयो, तर धेरैजसो नेताहरूको जस्तै यात्रा त्यतिमै टुंगिएन ज्ञामनाथ गैरे (अनिल)को । बागलुङ–२ का साझा वामपन्थी उम्मेदवारका रूपमा पराजित भए पनि उनी फेरि निसीखोला गाउँपालिकाका उकालो–ओरालो चहार्दै जनताकै बीचमा फर्किएका छन् ।

निर्वाचनअघि जस्तै अहिले पनि उनी गाउँका चौतारो, आँगन र बारीका डिलमा उभिएर मानिसहरूका कुरा सुनिरहेका छन् । मतपरिणामले प्रतिनिधित्वको ढोका बन्द गरिदिए पनि सम्बन्धको ढोका भने अझै खुलै रहेको सन्देश उनी आफ्ना हरेक भेटघाटमार्फत दिन खोजिरहेका देखिन्छन् ।

“मतले हार–जित छुट्यायो, तर म तपाईंहरूसँगको सम्बन्धबाट टाढा जान सक्दिनँ,” भन्ने उनको भनाइ धेरै ठाउँमा दोहोरिएको छ । उनले विकासका अधुरा काम, दैनिक जीवनका समस्या र स्थानीयको पीडालाई आफ्नै जिम्मेवारीझैँ लिने प्रतिबद्धता जनाएका छन् ।

गाउँका वृद्धवृद्धासँग बस्दा उनीहरूका गुनासा सुन्छन्, युवासँग भेट्दा रोजगारी र अवसरका कुरा उठाउँछन्, किसानसँग कुराकानी गर्दा उत्पादन र बजारको चिन्ता साझा गर्छन् । यसरी हेर्दा, उनको उपस्थितिले चुनावी अभियानको भन्दा फरक तर गहिरो र आत्मीय जनसम्बन्धलाई देखाउँछ।

निर्वाचन परिणामपछि नेपाल कम्युनिस्ट पार्टी र राष्ट्रिय जनमोर्चाले संयुक्त रूपमा मतदाताप्रति आभार व्यक्त गरेका छन् । हारलाई अन्त्य नभएर आगामी यात्राको सुरुवातका रूपमा लिएको गैरेले बताउछन् ।

निसीखोलाका स्थानीय बासिन्दाका अनुसार, चुनावपछि नेताहरू हराउने परम्पराबीच गैरेको पुनः गाउँ फर्किनु फरक अभ्यास जस्तो लागेको छ । “हारेर पनि आउनु नै ठूलो कुरा हो,” एक स्थानीयले भने, “यसले विश्वास बढाउँछ ।”

राजनीतिमा जित र हार समयसँगै बदलिन्छन्, तर जनतासँगको सम्बन्ध टिकाउन गाह्रो हुन्छ । निसीखोलाका बाटाहरूमा फेरि देखिएको यो उपस्थिति जनसम्बन्धमा नेतृत्वको दायित्वबोध जोगाउने प्रयत्न मान्न सकिन्छ। जहाँ परिणामभन्दा पनि सम्बन्धलाई प्राथमिकता दिइन्छ ।

Skip This
Skip This
Logo