काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले गौरीबहादुर कार्की आयोगको प्रतिवेदनप्रति गम्भीर प्रश्न उठाउँदै आयोग निष्पक्ष छानबिनका लागि नभई निश्चित धारणा स्थापित गर्न बनेको दाबी गरेका छन्। उनले आयोगको निष्कर्ष र निर्वाचन परिणाम दुवैलाई “अल्गोरिदममार्फत नेपाली समाजमा परेको प्रभावलाई राजनीतिक र कानुनी वैधानिकता दिने प्रयास” का रूपमा व्याख्या गरेका छन्।
भदौ २३ र २४ का घटनाबारे छानबिन गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक भएपछि एमालेको तर्फबाट आएको पहिलो प्रतिक्रियामा पोखरेलले आयोगको निष्पक्षतामाथि नै प्रश्न उठाएका हुन्। उनका अनुसार प्रतिवेदनले घटनाको वास्तविक निष्पक्ष छानबिनभन्दा पनि पहिले नै बनाइएको धारणा पुष्टि गर्ने प्रयास गरेको देखिन्छ।
पोखरेलले पछिल्लो राजनीतिक परिवर्तनलाई “लोकप्रियतावाद, अराजकतावाद र अवसरवादको मिश्रणबाट आएको नयाँ शक्ति उदय” का रूपमा व्याख्या गर्दै अबका दिन सहज नहुने चेतावनी दिएका छन्। उनका अनुसार आगामी समय राजनीतिक रूपमा चुनौतीपूर्ण रहनेछ र राष्ट्र तथा लोकतन्त्र दुवैले कठिन अवस्था सामना गर्नुपर्नेछ।
उनले नयाँ शक्ति र नेतृत्वलाई काम गर्ने अवसर दिनुपर्ने धारणा राख्दै जनताले प्रत्यक्ष अनुभवका आधारमा मूल्याङ्कन गर्नुपर्ने बताएका छन्। तर, उनले दीर्घकालीन समाधान विचारधारामा आधारित स्थिर राजनीतिबाट मात्र सम्भव हुने पनि स्पष्ट पारेका छन्।





























प्रतिक्रिया