काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्री पदको शपथ लिनुअघि नयाँ गीत ‘जय महाकाली’ सार्वजनिक गरेका छन्। उनले यसलाई समर्थकका लागि ‘सरप्राइज’ का रूपमा ल्याएका हुन्।
सार्वजनिक भएको छोटो समयमै गीतले व्यापक चर्चा बटुल्दै लाखौँ दर्शकको ध्यान खिच्न सफल भएको छ। गीत रिलिज भएको दुई घण्टामै १० लाख भ्यूज पार गरेको थियो। बालेनकै शब्द, संगीत र स्वरमा तयार भएको यो नेपाली -याप-हिप–हप शैलीको देशभक्तिपूर्ण गीतले राष्ट्रिय एकता, गोर्खालीको बहादुरी र आत्मविश्वासको सन्देश दिएको छ ।
गीतमा “जय महाकाली आयो गोर्खाली” र “बिश्व जित्छु यसपाली डराउँदैन यो नेपाली” जस्ता लाइनहरूले शक्ति, साहस र विजयको भाव झल्काउँछन्। यो गीत सन् २०१९ मा आएको एक पुरानो ट्र्याकको रि–मास्टर संस्करण भएको बताइएको छ । जसलाई नयाँ भिडियोसहित पुनः सार्वजनिक गरिएको हो, गीतमा बालेनको चुनावी यात्रा, पूर्वदेखि पश्चिमसम्मका दृश्य, जनतासँगको भेटघाट, भीडभाड र स्वागतका क्षणहरू समावेश छन्।
बालेनको मौलिक -र्याप शैली, धारिलो शब्द चयन, एनर्जेटिक डेलिभरी, उच्चस्तरीय भिडियो निर्माण र सशक्त संगीत संयोजनका कारण गीत युट्युब ट्रेन्डिङमा पर्न सफल भएको छ । यसैबीच रास्वपाको केन्द्रीय समिति बैठकले उनलाई संसदीय दलको नेतामा चयन गरिसकेको छ। चैत १३ गते अर्थात आज उनले प्रधानमन्त्री पदको शपथ लिँदैछन्,। बालेनको यो गीतलाई धेरैले उनको ‘विजय गान’ तथा नयाँ सरकारको सुरुवाती सन्देशका रूपमा व्याख्या गरेका छन्।
कलाकार, इन्जिनियर र काठमाडौंका पूर्व मेयरसमेत रहेका बालेनले ‘जय महाकाली’ मार्फत आफ्नो कलात्मक पहिचान पुनः प्रस्तुत गर्दै देशप्रेम, साहस र परिवर्तनप्रतिको दृढता व्यक्त गरेका छन्। उनको यो यात्राले नेपाली समाजमा नयाँ ऊर्जा र आत्मविश्वास जगाउने प्रयास गरेको देखिन्छ ।































प्रतिक्रिया