रामनवमीमा उपराष्ट्रपति यादवको शुभकामना

रामनवमीमा उपराष्ट्रपति यादवको शुभकामना

केन्द्रबिन्दु
6
Shares

काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादवले रामनवमी २०८२ का अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन्।

आज जारी सन्देशमा उनले रामनवमीलाई धार्मिक उत्सव मात्र नभई सत्य, धर्म र मर्यादाका प्रतीक भगवान् श्रीरामको जीवन आदर्शलाई आत्मसात गर्ने अवसरका रूपमा उल्लेख गरेका छन्। श्रीरामको जीवनले न्याय, सद्भाव र शान्ति स्थापनासँगै कर्तव्यपालनको उदाहरण प्रस्तुत गरेको भन्दै सत्य, निष्ठा, अनुशासन र नैतिक आचरण अपनाउन प्रेरणा दिने बताएका छन्।

उनका अनुसार यस अवसरमा गरिने भजनकीर्तन, पूजापाठ र उपासनाले नागरिकलाई भक्ति, अध्यात्म र परोपकारतर्फ उन्मुख गराउँछ भने समाजमा सद्भाव, सहयोग, भाइचारा र जनकल्याणको भावना विकास गर्न सहयोग पुग्छ।

मौलिक परम्परा, संस्कार, संस्कृति र आस्थाले समाजलाई वैरभाव र क्लेशबाट टाढा राख्दै शान्ति, परोपकार र सदाचारतर्फ अघि बढ्न प्रेरित गर्ने उल्लेख गर्दै उनले रामनवमी पर्वले समाजलाई नैतिकता र सकारात्मक दिशातर्फ उन्मुख गराओस् भन्ने कामना गरेका छन्।

यस अवसरमा सबै नेपालीले श्रीरामझैँ सत्य, धर्म र मर्यादित जीवनशैली अपनाउन प्रेरणा प्राप्त गरून् भन्दै उनले पर्वले राष्ट्रिय एकता, सामाजिक सद्भाव र बन्धुत्वलाई अझ सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

Logo