काठमाडौं। प्रधानमन्त्रीमा शपथ लिन लागेका बालेन्द्र शाह (बालेन) नेतृत्वको नयाँ सरकारमा मन्त्री छनोटको अन्तिम खाका तयार भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र भएको उच्चस्तरीय छलफलपछि अर्थ, परराष्ट्र र कानून मन्त्रालयमा युवा तथा प्राविधिक पृष्ठभूमिका नेताहरूलाई जिम्मेवारी दिने सहमति बनेको स्रोतले जनाएको छ।
स्रोतका अनुसार अर्थ मन्त्रालयको जिम्मा डा. स्वर्णिम वाग्लेलाई दिने लगभग निश्चित भएको छ । उनलाई आर्थिक नीति र पुनर्संरचनाको प्रमुख जिम्मेवारीसहित सरकारको ‘कोर टिम’ मा राख्ने तयारी छ । परराष्ट्र मन्त्रालय शिशिर खनाललाई दिने निर्णय पनि अन्तिम चरणमा पुगेको बताइएको छ, जसलाई अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिक सन्तुलन सम्हाल्ने भूमिकामा हेरिएको छ ।
त्यसैगरी कानून मन्त्रालयको नेतृत्व सोविता गौतमलाई दिने सहमति जुटेको छ। स्वास्थ्य तथा अन्तर्राष्ट्रिय अनुभवसँग जोडिएको उनको पृष्ठभूमिलाई नीति सुधार र कानुनी आधुनिकीकरणमा उपयोग गर्ने रणनीति बनाइएको बताइन्छ।
पार्टीभित्रको छलफलमा सानो तर प्रभावकारी मन्त्रिमण्डल बनाउने र पुरानो राजनीतिक शैलीभन्दा फरक ‘टेक्नोक्र्याटिक गभर्नेन्स’ मा जाने जोड दिइएको छ । शीर्ष नेताहरूले मन्त्रीहरूलाई फोन र एसएमएसमार्फत जिम्मेवारीबारे अनौपचारिक जानकारी दिइसकेको स्रोतको दाबी छ।
यता सम्भावित सूचीमा सुदन गुरुङ, विराजभक्त श्रेष्ठ, सस्मित पोखरेल, गणेश पौडेल, विक्रम खनाल, निशा डाँगी, गीता चौधरी र सीता बादी लगायतका नाम पनि चर्चामा छन्, तर अन्तिम निर्णय अझै सार्वजनिक गरिएको छैन।
आज दिउँसो साढे १२ बजे प्रधानमन्त्रीको शपथपछि मन्त्रिपरिषद् विस्तार हुने तयारी छ।





























प्रतिक्रिया